हरेन्द्र साँउद
डडेल्धुरा,माघ,१ गते । डडेल्धुराको भित्रीमधेशमा पर्ने परशुराम नगरपालिका वडा नं. ५ परीगाउँस्थित परशुरामधाममा माघे संक्रान्तिको अवसरमा मंगलबार राति रतेडी र बुधबार बिहान स्नान गर्नेहरुको घुईचो लागेको छ । चार धाममध्येको एक परशुरामधाममा माघे संक्रान्तिको भब्य मेला लाग्ने गर्दछ ।
परशुरामधाममा रहेका चुनढुंगा भगवान परशुरामले तपस्या गरे पश्चात होम गर्दा बनेको जनविश्वास छ । भगवान परशुरामले तपस्या गरेकाले यो स्थानको नाम परशुरामधाम राखिएको पुराणमा उल्लेख छ । यहाँ पुस मसान्तको रातभर आगो तापेर भक्तजनहरू जाग्रम बस्ने गर्दछन भने माघ १ गते स्नान गरेर धर्म कमाइने जनविश्वास छ ।

परशुरामधाममा लाग्ने मेला भर्न सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्ला र भारतबाट समेत तीर्थालु तथा दर्शनार्थीहरू आएको परशुराम क्षेत्र विकास समितिका अध्यक्ष प्रेम चन्द ठकुरीले जानकारी दिनुभयो । एकातिर चूरे पर्वत शृंखला र अर्को्ितर महाभारत पर्वतसँगै भारतको पूर्णागिरि पर्वतको मध्य भागमा रहेको परशुरामधाम डडेल्धुराको सदरमुकामदेखि १०० किलोमिटर र कञ्चनपुरबाट ३९ किलोमिटरको मोटर यात्राबाट पुग्न सकिन्छ ।

स्कन्द पुराणमा उल्लेख भएअनुसार नजिकै रहेको पूर्णागिरि मन्दिरमा सतीदेवीको पूर्ण अंग पतनपछि भगवान् शिवले यहीँ धाममा लामो समय तपस्या गरेको बताईन्छ । परशुराम भगवान् विष्णुका दश अवतारमध्ये एक मानिन्छन ।
