Amargadhi Post

स्वास्थ्य मन्त्री ढकालद्धारा डडेल्धुरा अस्पतालको निरिक्षण

तत्काल अस्पतालको सेवा सुबिधा र दरबन्दी अनुसारको चिकित्सक उपलब्ध गराउने प्रतिबद्धता

लक्ष्मी ऐर
डडेल्धुरा,माघ,७ गते । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले आज मंगलबार डडेल्धुरा अस्पतालको निरीक्षण गरेका छन । बैतडीमा ट्रमा सेन्टरको सभाव्यता अध्ययन र खोड्पेमा नबनिर्मित स्वास्थ्य चौकीको भबन उद्घाटन गर्न जाने क्रममा डडेल्धुरा आईपुग्नु भएका मन्त्री ढकालले विशिष्ट विशेषज्ञ अस्पतालका रुपमा रहेको डडेल्धुरा अस्पतालको निरीक्षण गर्नुभएको हो ।

निरीक्षणका क्रममा मन्त्री ढकालले डक्टरहरु दुर्गम आउन नमान्ने प्रवृत्तिले अभाव भएको बताउनुभयो ।
डाक्टर अभाव रहेका अस्पतालमा अब क्रमिक रुपमा डाक्टरको पदपूर्ति हुँदै जाने बताउनुहुदै उहाँले अस्पतालको सेवा सुबिधा बृद्धि संगै कर्मचारी जनशक्तिको पदपुर्ति समेत छिट्टै गरिने प्रतिबद्धता जनाउनुभयो ।
‘डडेल्धुरा अस्पतालको जिम्मा संघले लिएको छ, यद्यपि केही अभावहरु कायम छन्, अब व्यवस्थापन गर्दै जान्छौं, हिजोका अभाव अब हट्दै जाने छन मन्त्री ढकालको प्रतिबद्धता छ ।
डाक्टरहरु केन्द्रले पठाउने अध्ययन बिदामा बस्ने समस्या देशभरको रहेको उनले बताएका छन् । बिदामा पनि अब कडाइ गरिने उनको भनाइ थियो ।

मन्त्री ढकालले भने, ‘हाम्रा डाक्टर साबहरुको अधिकांश समय पढाइमा जान्छ। ६ महिना काम गर्ने, फेरि पढ्न जाने, अर्को चरण सेवा ग¥यो फेरि पढ्न जाने रहेछ। अब स्वास्थ्य मन्त्रालयले अध्ययन बिदालाई पनि कडाइ गर्छ।’

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री समेत रहेका ढकालले विशिष्ट विशेषज्ञ अस्पतालको विकास समितिहरुले छिट्टै पूर्णता पाउने समेत आश्वासन दिनुभएको छ ।
विगत लामो सयमसम्म डाक्टर अभाव झेल्दै आएको सुदूरपश्चिम प्रदेशको एक मात्र विशिष्ट विशेषज्ञ अस्पताल डडेल्धुरामा २० जना विशेषज्ञ चिकित्सकको दरबन्दी भए पनि एक जना पनि पदपूर्ति नभएको अस्पतालले जनाएको छ।

अस्पतालले लामो समयदेखि दरबन्दी अनुसारका चिकित्सक पाएको छैन। अस्पतालले ११औँ तहको मेडिकल सुपरिटेन्डेन्टसमेत पाएको छैन। तत्कालीन जिल्ला अस्पताल व्यवस्थापन समिति भंग भएपछि हालसम्म उपक्षेत्रीय अस्पताल तथा हालको विशेषज्ञ अस्पतालको विकास समितिसमेत गठन हुन सकेको छैन।

त्यस्तै १९ जना मेडिकल अफिसरको दरबन्दी रहेको अस्पतालमा ९ जना चिकित्सक रहेपनि ५ जना अध्ययन बिदामा रहेका छन्। ४ जनामात्र अस्पतालमा कार्यरत छन्।
स्वास्थ्य मन्त्रालयले पठाएका ११ जना स्थायी र ३ जना करार गरी १४ जना चिकित्सकमध्ये ३ जना मात्र डडेल्धुरा अस्पतालमा पुगेका छन्। बाँकी ११ जना भने अहिलेसम्म अस्पतालमा पुगेका छैनन ।
मन्त्रालयले पठाएका ७ जना चिकित्सक यस अघिदेखि नै अध्ययन बिदामा छन् भने एक जना संघीय सरकारबाट प्रदेश मातहतको बाजुरा जिल्ला अस्पतालमा काज सरुवा भएका छन ।

नागरिक समाजको ज्ञापनपत्र
नागरिक समाज डडेल्धुराले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई अस्पतालमा तत्काल दरबन्दी अनुसारका डाक्टरहरु पठाउन अनुरोधसहित ३ बुँदे ज्ञापनपत्र बुझाएका छन । नागरिक समाज डडेल्धुराका अध्यक्ष रमेश जोशीले समान्य उपचारका लागि यस क्षेत्रका नागरिकले तराईका जिल्ला कैलाली, कञ्चपुर तथा भारत धाउन बाध्य भएकाले विशेषज्ञ डाक्टरको माग गर्दै ज्ञापनपत्र बुझाएका छन्।

यी हुन् ३ बुँदे माग

१। सुदूरपश्चिमको ७ पहाडी जिल्लाको १ मात्र भरपर्दो स्वास्थ्य संस्था डडेल्धुरा अस्पतालमा दरबन्दीअनुसार चिकित्सक तथा कर्मचारीको आवश्यक उपकरणको यथाशीघ्र व्यवस्थापनका लागि जोडदार माग गर्दछौँ।

२। सुदूरपश्चिमको ७ पहाडी जिल्लाको केन्द्र डडेल्धुरामा रहेको डडेल्धुरा अस्पताललाई मेडिकल कलेजको रूपमा विकास र विस्तार गरी सुदूरपश्चिमवासीलाई सहज र सुलभ स्वास्थ्य सुविधा प्रदान गर्नेगरी जनताको मौलिक अभिकार सुनिश्चित गरियोस्।

३। डडेल्धुरा जिल्लाको भौगोलिक विकटतामा रहेको परशुराम नगरपालिकास्थित जोगबुढा अस्पताल जोगबुढामा आवश्यक चिकित्सक, स्वास्थ्यकर्मी तथा उपकरणको अभाव रहेकाले तत्काल व्यवस्था गरियोस ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।