Amargadhi Post

डडेल्धुरा सदरमुकाममा सडक चौडा गरिनुपर्ने भन्दै ‘शव आन्दोलन’

अमरगढी रैबार सम्बाददाता
डडेल्धुरा,साउन,२७ गते । डडेल्धुरा सदरमुकामको सडक चौडा गर्नुपर्ने भन्दै सदरमुकाम बागबजारमा मंगलबार ‘शव आन्दोलन’ गरिएको छ । मंगलबार सदरमुकाम क्षेत्रको सडक चौडा गरिनुपर्ने माग राख्दै बोलन्या थली धनगढीले शव आन्दोलन गरेको हो । ‘बोल्न्या थली’ धनगढीका संयोजक यादव जोशीको नेतृत्वमा डडेल्धुराको स्याउले बजारदेखि र्कीतिपुरसम्म सडक विस्तारगरी बजार क्षेत्रमा हुनसक्ने दुर्घटना न्यूनीकरणका लागि दीर्घकालीन रुपमा समाधान खोजिनु पर्ने भन्दै भीमदत्त चोकमा चार शव बनाएर साँकेतिक आन्दोलन गरिएको हो ।

बोलन्या थलीले ‘कोरोनाले होइन, दुर्घटनाले मरिएको छ’, ‘म त गएमाथि, तिमी बाँच है साथी’, ‘सडक चौडा खै, म त स्वर्ग पुगे बरीलै’ लगायतका नारा दिएर सडकमा ‘शव’ प्रदर्शन गरिएको थियो ।

सडक विभागमार्फत करिब ४४ करोड रुपैयाँ सडक विस्तारका लागि छुट्याइएको र सोही कार्य अनुरुप सडक डिभिन कार्यालय कुलपातेले टेण्डर प्रक्रिया अगाडि बढाएको थियो । तर, यहाँका केही जग्गाधनीहरुले मुआब्जा पाउनुपर्ने भन्दै सर्वोच्चमा रिट दायर गरेपछि टेण्डर प्रक्रिया रोकिएको छ ।

डडेल्धुराको साँघुरो सडक विस्तारका लागि सबै निकायले पहल गर्नुपर्ने र मुआब्जाका नाममा जग्गाधनीहरुले सडक विस्तार कार्यलाई अवरोध गर्न नहुने अभियानमुलक संस्था बोलन्या थली धनगढीका संयोजक जोशीले बताए । सडक चौडा नगरिँदा अकालमै ज्यान गुमाउनुपर्ने अवस्था आएकाले प्रतिकात्मक बिरोधस्वरुप शव आन्दोलन गरिएको उनको भनाइ छ ।

सकड साँघुरो भएकाले डडेल्धुरा सदरमुकामका स्थानीयले धेरै समयदेखि सास्ती पाइरहेको भन्दै सडक बनाउन दवाव स्वरुप प्रदर्शन गरेको उनले बताए । उनका अनुसार बजेट विनियोजन भइ टेण्डर प्रक्रियामा गइसकेका बेला व्यापारीले सर्वोच्चमा मुद्दा दायर गरेर निर्माण कार्य रोकेको भन्दै चार युवालाई शव बनाएर प्रतिकात्मक शब आन्दोलन गरिएको हो ।

सदरमुकामको साँघुरो सडकका कारण दैनिकजसो त्यहाँ जाम लाग्ने गर्छ । जसका कारण स्थानीयलाई हिँडडुल गर्न समस्या भइरहेको छ । यतिसम्मकी साघुँरो सडकका कारण दुर्घटनाका जोखिम समेत रहेको छ । तर, सडक साघुँरो हुँदा सवारी चालक र स्थानीयले निकै सास्ती भोगिरहेका छन् । साँकेतिक आन्दोलनमा विभिन्न क्षेत्रमा आवद्ध युवाहरुका साथै अनेरास्ववियू डडेल्धुरा र नेपाल विद्यार्थी संघ डडेल्धुराले पनि ऐक्यबद्धता जनाएको थियो ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।