अमरगढी रैबार सम्बाददाता
डडेल्धुरा,भदौं,१० गते । सुदूरपश्चिममा थप ५० जनामा कोरोना पुष्टि भएको छ। मंगलबार डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ५० जनामा कोरोना संक्रमण देखिएको हो।
पछिल्लो २४ घण्टामा ६ सय ६६ जनाको कोरोना परीक्षण भएकोमा ५० जनामा संक्रमण पुष्टि भएको अस्पतालका प्रयोगशाला इन्चार्ज ईश्वरीप्रसाद भूषालले जानकारी दिए।
उनका अनुसार अछामका १७, कैलालीका १५, कञ्चनपुर र बझाङका ८–८ र डडेल्धुराका २ जनामा संक्रमण पुष्टि भएको हो। अछामको बान्नीगढी जयगढ गाउँपालिकाका १७ जना, कैलालीको घोडाघोडी नगरपालिकाका ७, बर्दगोरी र जानकी गाउँपालिकाका ४–४ जनामा संक्रमण पुष्टि भएको छ।
यस्तै कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका ८ जना, बझाङको छबिस पाथिभेराका गाउँपालिकाका ६ र दुर्गाथली गाउँपालिकाका २ जनामा संक्रमण पुष्टि भएको प्रयोगशाला इन्चार्ज भूषालले जानकारी दिए।
