पुष्कर भण्डारी
डडेल्धुरा । अमरगढी नगरपालिकाका विभिन्न वडामा गरि ४० वटा कित्ता उग्रतारा गुठी भनेर फिल्ड बुकमा देखिएको छ । उग्रतारा क्षेत्र विकास समिती अहिले गुठी जमिनको लालपुर्जा बनाउन प्रयासरत छ । ४० वटा कित्ताको क्षेत्रफल १ सय ५८ रोपनी छ । यस जमिनको भोग चलन पुस्तौ देखि स्थानियहरुले गर्दै आएका छन ।
उग्रतारा क्षेत्र विकास समितीले फिल्ड बुकमा गुठी कायम भएको जमिनको लालपुर्जा बनाउने प्रयास गरे पछि यहाँका सयौ स्थानिय घरबार बिहिन हुने अवस्थामा छन ।
भूमि सम्बन्धि समस्या समाधान आयोग जिल्ला समिती डडेल्धुरा स्थापना भए संगै उग्रतारा क्षेत्र विकास समिती र स्थानियका बिच द्धन्द्धको सिर्जना भएको छ । आयोगको कार्यालय स्थापना पछि समिती र स्थानियले आ आफ्ना नाममा लालपुर्जाका लागी निवेदन दिन पुगे ।
जग्गाको प्रकृती हेरी लालफुर्जा पाउन सम्भव जमिनको निवेदन मात्रै पेश गर्न लगाएको भूमि सम्बन्धि समस्या समाधान आयोग जिल्ला समिती डडेल्धुरा सदस्य अमर पुनले बताए ।
समितीले लालपुर्जा पाउनु पर्ने भन्दै डडेल्धुरा जिल्ला अदालतमा निवेदन पेश समेत गरेको छ । स्थानियहरुले पनि भोगचलनका आधारमा जमिनको लालपुर्जा पाउनु पर्ने भन्दै अदालतमा निवेदन पेश गरेका छन । अदालती प्रक्रियाले समिती र समुदायका बिचमा द्धन्द्धको सिर्जना भएको छ ।
कुनै कालखण्डमा हालको अमरगढी नगरपालिका–३ आईत देखि अमरगढी नगरपालिका–७ को पोखरा सम्म उग्रताराको गुठी जमिन करिब १७ हजार रोपनी रहेको मिथ्य सुन्नमा आउछ । तर लालपुर्जा नहुदा गुठी जमिन देखिदैन । २०३३ सालको नापिमा अधिकांस जमिन व्यक्तिका नाममा दर्ता भएको क्षेत्र विकास समितीको भनाई छ । तर केही समुदायले भोगचलन गरेको जमिन भने दर्ता गरिएको छैन ।
दर्ता छुटपिट संघर्ष समिती बनाई अहिले अमरगढी–७ का स्थानिय आफुले उपभोग गरिरहेको जमिन दर्ता गरि लालपुर्जा पाउनु पर्ने पक्षमा उभिएका छन । उग्रतारा क्षेत्र विकास समिती भने आफ्ना नाममा दर्ता गरि लालपुर्जा पाउनु पर्ने पक्षमा उभिएको छ । यसका लागी शनिबार पोखरामा समिती र स्थानियका बिचमा छलफल गरिएको छ ।
पुस्तौ देखि आफुहरुले जमिन उपभोग गरिरहेकाले जमिनको लालपुर्जा पाउनु पर्ने संघर्स समिती संयोजक दत्ति पार्कीले बताए ।
नेपालको संविधानमा भुमिहिनलाई भुमि दिने व्यवस्था गरेको छ । स्थानिय लक्ष्मण पार्कीले भने, तर यहाँ कमाई खाईरहेको भुमिलाई गुठीका नाममा लालपुर्जा बनाई सयौ परिवारको उठिवास गर्ने काम भईरहेको छ । आफ्ना परबाजेहरुले जमिन भोगचलन गरेकाले आफ्ना नाममा लालपुर्जा पाउनु पर्ने उनको माग छ ।
यस बिषयमा क्षेत्र विकास समितीको बैठक बोलाई बृहत छलफल गर्नु पर्ने क्षेत्र विकास समिती अध्यक्ष नर बहादुर साँकीले बताए । यसकालागी बैठक समेत बोलाईएको उनको भनाई छ ।
स्थानियले आफुहरु संग जोता पुर्जा, घरको कर तिरेको प्रमाण, फस्र्या राजिनामा कागजात, ७,१० फराम र कर तिरेको ४ नं। फारामका आधारमा जमिन आफ्ना नाममा दर्ता गराईपाउ भनि अदालतमा निवेदन समेत दिएका छन ।
उग्रतारा मन्दिर अमरगढी नगरपालिका–८ मा पर्छ । मन्दिर छेउछाउको जमिन स्थानिय साँकी जातिका समुदायले भागभण्डा नै गरि पक्कि घर निर्माण गर्ने कार्य तित्र्र रुपमा चलेको छ । मन्दिर छेउछाउको जमिन अतिक्रमण नरोकी पुस्तौ देखि आफुले भोगचलन गरिरहेको जमिनमा उग्रतारा क्षेत्र विकास समितीले गुठी भएको दाबि गर्दै आएको स्थानियको गुनासो छ । मन्दिर छेउछाउमा केही वर्ष यता मात्रै अतिक्रमण गरि घर, टहरा निर्माण भईरहेका छन । यसलाई क्षेत्र विकास समिती, सडक, वन र अदालतले कुनै वास्ता नगरेको गुनासो अमरगढी–७ का स्थानियको छ ।
यसअघि मन्दिर क्षेत्र विकास समिति अध्यक्ष तेजबहादुर साँकीले मन्दिरका नाममा १ सय ८० रोपनी मात्र दर्ता रहेको जानकारी दिएका थिए । ‘अधिकांस जग्गा २०३३ सालको नापीका समयमा ब्यक्तिका नाममा नापी भइसकेको देखिएको छ ।’
कुनै समय उग्रतारा गुठी अन्तरगत रहेको तर २०३३ को नापी र बिभिन्न समयमा छुट दर्ता गरि ब्यक्तिका नाममा दर्ता भइसकेको बाहेक पनि धेरै जग्गा अझै ऐलानी सरह छ । तत्कालीन ४ गाउँ पञ्चायत पोखरा, भूमिराज, सहस्रलिंग र खलंगा मात्र नभइ प्राचीन समयमा हालको नवदुर्गा गाउंँपालिका सम्म उग्रतारा गुठीको जग्गा रहेको स्थानीयको भनाई छ ।
विभिन्न समयमा बिभिन्न संघसंस्थाको घर निर्माण गर्न अतिक्रमित भएका जग्गाको खोजविन समेत सुरु भएको प्रशासनले जानकारी दिएको छ । मुख्य राजमार्ग छेउ र बजार नजिकका सार्वजनिक जग्गामा विभिन्न संघसंस्थाका भवन निर्माण भइसकेका छन । जिल्लामा पछिल्लो दशक वन क्षेत्र धेरै अतिक्रमित भएको तथ्यांकले देखाएको छ ।
