Amargadhi Post

डडेल्धुरामा शिक्षक आन्दोलित, नगरपालिकामा रिले अनशन

अमरगढी रैबार सम्बाददाता
डडेल्धुरा,साउन,१५ गते । बालकक्षा शिक्षक तथा कार्यालय सहयोगीलाई संघीय सरकारले तोकेको तलब सुविधा नछुट्याएको भन्दै नेपाल शिक्षक महासंघ आन्दोलित बनेको छ।

आगामी आर्थिक वर्षको बजेटमा बालकक्षा शिक्षक तथा कार्यालय सहयोगीलाई दिइने तलबभन्दा धेरै न्यून छुट्याएको भन्दै नेपाल शिक्षक महासंघ डडेल्धुराले अमरगढी नगरपालिका र शिक्षा विकास समुन्वय इकाइ डडेल्धुरामा रिले अनशन तथा धर्ना दिएको छ।

महासंघ अमरगढीका अध्यक्ष गणेश साउँदले नगरका क्रियाशील पेशागत संगठनका प्रतिनिधिसहितको टोलीले शुक्रबार नगरपालिका र शिक्षा विकास समुन्वय इकाइमा गएर ३४ बुँदे मागसहित रिले अनशन तथा धर्ना दिएको बताए।

उक्त ज्ञापन पत्रमा महासंघले माग पूरा नभए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ। राज्यबाट पटक–पटक उपेक्षामा परेको बताउँदै उनले बालविकास तथा कार्यालय सहयोगीहरू न्युन मूल्यमा काम गरिरहेको नेपाल शिक्षक महासंघ अमरगढीका अध्यक्ष साउँदले जानकारी दिए।

शिक्षकलाई विभेद गरेर शिक्षाको क्षेत्रमा आमुल परिवर्तन हुन नसक्ने र गुणस्तरिय शिक्षाको उदेश्य पनि पूरा नहुने भएकोले आफ्नो पेसागत हक हितका लागि ३४ बुँद्धे मागसहित आन्दोलनमा उत्रेको साउँदले बताए।

सरकारले श्रम ऐन लागू गरेलगत्तै बाल शिक्षक, विद्यालय कर्मचारी र सहयोगीहरूले ऐनअनुसार तलब पाउनुपर्ने भएपनि नपाएको उनीहरूको गुनासो छ। संघिय सरकार र स्थानीय तहले मिलेर बाल शिक्षक, विद्यालय कर्मचारी र सहयोगीहरूलाई १५ हजारका दरले पारिश्रमिक दिनु पर्ने उनीहरूको माग छ।

आफ्नो माग पूरा नभए नेपालको इतिहासमै सबैभन्दा ठूलो शिक्षक आन्दोलन गर्ने शिक्षक बेदप्रकाश पनेरुले बताए। ३७ वर्षदेखि विद्यालयमा काम गर्दै आएको भएपनि ४ हजार मात्रै दिएको अशिग्राम प्रावि सेलगाउँका कार्यालय सहयोगी प्रजापती ओझाले बताए।

शिक्षक व्यवस्थापन गर्नुपर्ने, बालबिकासको तलब संघिय सरकारले दिनुपर्ने, विद्यार्थीलाई खोप लगाउनुपर्ने लगायतका माग उनीहरूले राखेका छन्। यता अमरगढी नगरपालिकाले भने अमरगढी नगरपालिका भित्र रिले अनशन बसेको देखेपनि उनीहरूको माग बारे अनविज्ञ रहेको छ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।