अमरगढी समाचार
डडेल्धुरा,माघ,१७ गते । डडेल्धुरामा सोमबार राति १२ बजेदेखि स्मार्ट लकडाउन सुरु हुने भएको छ । जिल्ला प्रशासन कार्यालय डडेल्धुराले आज एक सुचना जारी गर्दे स्मार्ट लकडाउन सुरु हुने जनाएको छ ।
कोभिड–१९ को बढ्दो जोखिमलाई मध्यनजर गरी यसको रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको सिफारिस एवम् गृह मन्त्रालयको निर्णय र संक्रामक रोग ऐन २०२० को दफा–२ ले दिएको अधिकार र स्थानीय प्रशासन ऐन २०२८ को दफा– ६ को उपदफा–३ ले दिएको अधिकार प्रयोग गरी स्मार्ट लकडाउन गरिएको प्रशासनद्धारा जारी सुचनामा उल्लेख गरिएको छ ।
प्रशासनको आदेशअनुसार जिल्ला संचालनमा रहेका नाचघर, क्लब, हेल्थ क्लब, जिम खाना, पटके हाट बजार र मानिसहरूको भीडभाड हुने अन्य सबै प्रकारका कार्यक्रमहरू माघ मसान्तसम्म संचालन नगर्न भनेको छ ।
विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलाप संचालन गर्दा माघ मसान्तसम्म भौतिकरूपमा उपस्थितिमा संचालन नगर्ने र त्यस्ता शैक्षिक क्रियाकलाप भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइका विधिहरू अपनाइ संचालन गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिनुभएको छ ।
विद्यालय, कलेजका पूर्व निर्धारित परीक्ष, जनशक्ति भर्नाका परीक्षालगायतका सबै किसिमका प्रयोगात्मक कक्षा जनस्वास्थ्यका मापदण्ड पालना गरी संचालन गर्ने नेपाल सकारकारको पुस ३० गतेको आदेश बमोजिम गर्न प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ ।
