Amargadhi Post

एमाले अध्यक्ष केपी ओलीसँग झलनाथ खनालको भेट, झाँक्री समूह एमालेमा फर्किँदै

अमरगढी पोष्ट समाचार
डडेल्धुरा, कात्तिक १९ । नेकपा (एमाले) भित्र पुनः एकताको सङ्केत बलियो बन्दै गएको छ। पोलिटब्युरो सदस्य महेश बस्नेतका अनुसार पछिल्ला दिनमा एमाले छोडेका कतिपय नेताहरू पार्टीमा फर्किन सक्रिय भएका छन् भने वरिष्ठ नेताहरूबिच पनि संवाद र समन्वयको वातावरण पुनः स्थापित हुँदै गएको छ।

बस्नेतका अनुसार एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा ९एकीकृत समाजवादी० का वरिष्ठ नेता झलनाथ खनालबिच आजै ‘सकारात्मक वार्ता’ ‍‍भएको छ। दुई नेताबिचको भेटवार्ताले पुराना साथीहरूबीचको सम्बन्ध सुधार भइरहेको स्पष्ट सङ्केत दिएको बस्नेतले बताउनुभयो ।

ओली–खनालबिचको संवादलाई दुई नेता बिच राजनीतिक सहकार्यका सम्भावना खोज्ने प्रयत्नका रूपमा हेरिएको छ । पुराना मतभेदलाई अन्त्य गर्दै वाम एकताको वातावरण पुनः निर्माण गर्ने सुरुवाती कदमका रूपमा यसलाई लिइएको छ। प्रचण्ड र माधव नेपाललगायत ७–८ दल अहिले एकताको कुरा गरिरहेका छन्। यस्तो अवस्थामा माधव नेपालसँग अलग्गिनु भएका खनालको यो भेटलाई निक्कै महत्वका साथ हेरिएको छ ।

यसैबिच, नेकपा ९एकीकृत समाजवादी० की नेतृ रामकुमारी झाँक्री नेतृत्वको समूह पनि एमाले फर्किने तयारीमा रहेको पुष्टि भएको छ। सो समूहमा किसान श्रेष्ठ, अम्बरबहादुर थापा, गम्भीरलाल श्रेष्ठ, पीताम्बर तिम्सिना, अर्जुन राईलगायत नेताहरू हुनुहुन्छ । उहाँहरूले बबरमहलस्थित होटेल बसेरामा भोलि बिहान १० बजे पत्रकार सम्मेलन गरेर एमालेमा पुनः प्रवेशको औपचारिक घोषणा गर्ने तयारी गरेको स्रोतले जनाएको छ।

एकीकृत समाजवादी छाडेर एमालेमा फर्किन लागेको यो समूहले अघिल्लो संसदीय निर्वाचनपछि एकीकृत समाजवादीमा देखिएको नेतृत्व विवाद, संगठनात्मक निष्क्रियता र सरकारमा सीमित प्रभावका कारण असन्तुष्टि जनाउँदै आएको थियो। उनीहरूलाई एमालेमा फर्काउन अध्यक्ष ओली स्वयं सक्रिय रहेको र सो प्रक्रियामा महेश बस्नेत तथा संगठन विभागका अन्य नेताहरूले संयोजन गरिरहेको एमाले स्रोतले जनाएको छ। पार्टीभित्र यसलाई वाम पुनर्गठनको सङ्केतका रूपमा हेरिएको छ। एमालेले सधैँ एकताको पक्षमा आवाज उठाउँदै आएको बताउँदै पार्टी छाडेर गएकालाई अध्यक्ष ओलीले घर फर्कन सार्वजनिक रूपमा नै अपिल गर्नु भएको थियो ।

ओली–खनाल भेट अघि पनि पूर्व एमाले पृष्ठभूमिका नेताहरूबिच निरन्तर सम्पर्क भइरहेका छन् र निकट भविष्यमा थप नेताहरू पनि एमाले फर्किन सक्ने सङ्केत मिलिरहेको छ। विशेष गरी, प्रदेशसभा र स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरू एमाले फर्किँदा दल फेर सम्बन्धी कानुनले पद खारेज गर्न सक्ने सम्भावनाबारे कानुनी राय लिइँदै छ। सो अड्चन नहुँदा प्रदेश सभा र स्थानीय तहका निर्वाचित जनप्रतिनिधि समेत एमाले फर्कने तयारीमा हुनुहुन्छ । एमाले नेतृत्वले फर्किन चाहने जनप्रतिनिधिहरूलाई पहिले कानुनी रायका आधारमा ‘सुरक्षित बाटो’ रोज्न सुझाव दिएको छ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।