लक्ष्मी ऐर
डडेल्धुरा,भदौं १२ गते । सुदूरपश्चिमेलीको प्रमुख तथा मौलिक चाड गौरा पर्व आजदेखि विधिवत् रुपमा शुरु भएको छ । आज भाद्र पञ्चमी अर्थात सुदूरपश्चिमेलीहरुको ठूलो चाड गौरापर्वको पहिलो दिन हो ।
आजबाट नै विधिवत रुपमा गौरापर्व शुरु भएको छ । गौरा पर्वको पहिलो दिनलाई ‘बिरुडा पञ्चमी’ भनिन्छ । पञ्चमी तिथिको दिन बिहानैदेखि घर लिपपोत गरि साँझपख घरमा पञ्च दलहन गेडागुडी अथवा बिरुडा विधिवत रुपमा भिजाइ गौरा पर्व प्रारम्भ भएको मान्ने परम्परा रहिआएको छ ।
भाद्र पञ्चमीका दिन काँशको सप्तऋषि प्रतीक बनाइ पूजाअर्चनासँगै बिसर्जन गरि साँझपख घर–घरमा महिलाले तामाका भाँडामा बिरुडा अर्थात् पाँच प्रकारको दलहन अन्न भिजाएर पर्वको थालनी आरम्भ परम्परा रहि आएको छ । गौरा पर्वको पहिलो दिन महिलाले निराहार रही आ–आफ्नो घरमा तामा वा पित्तलको भाँडोमा ५ प्रकारका अन्न भिजाएर गौरा पर्वकोे शुभारम्भ गर्ने गरेका छन् ।
भाद्र दुवाष्टमीका दिन मनाइने गौरा पर्व सुदूरपश्चिम प्रदेशको प्रमुख मौलिक लोकपर्व मानिन्छ । गौराको पहिलो दिन विरुडा पञ्चमी पर्दछ । यो दिन नारीहरु ब्रत बसेर गौरा घर वा पधेरामा बिरुडा (केराउ, गहत, गुरास, गहूँ र मास) मिसाएर बनाइएको पञ्चअन्न भिजाउछन् ।
यि पाँच अन्नलाई ‘बिरुडा’ भनिन्छ । आजको दिन स्नान तथा पूजा गरेर बिरुडाका लागि छुट्याइएको अन्न तामा अथवा पित्तलको भाडोमा राखेर भिजाउने कार्य गरिन्छ । पाँच अन्नलाई मिसाइ भिजाएर गौराको फाग गाई पर्वको थालनी गर्नुका साथै षष्ठी तिथिका दिन बिहान गाउँटोलबाट सँगै गाउँको पधेरा नाउला तथा पानीका मुहान जलासशमा गएर बिधिवत रुपमा धोईपखाली धानको खेतबाट गौरा देवीको प्रतिमूर्तिको रुपमा गौरा तयार पारि घरघरमा फर्किने प्रचलन रहेको छ ।
गौराष्टमी अर्थात दुर्बाष्ठमीका दिन व्रत बसेर महिलाहरु बिहानैदेखि गौरा मनाउने स्थल गौरा खलोमा पूजाआजा गर्छन् । साँझपख अभिषेक गरेर दुबधागो घाँटीमा लगाएर देवीको पूजा गर्ने परम्परा रहेको पुरोहितहरुको भनाइ छ । सोही दिन महिलाले प्रसादका रुपमा बिरुडा ग्रहण गरी आफ्ना घरपरिवारका सदस्यको टाउकोमा पुज्ने र निधारमा बिरुडा थापिदिने चलन छ । हिमालयराज पुत्रि पार्वतीको नाम गौरी पनि हो, पौराणिककालमा शिवजीलाई पाउन गौरी अथवा पार्वती देवीले निराहार ब्रत उपाशना तथा आराधना गरेको विश्वासका आधारमा विवाहित महिलाले महेश्वर गौरीको नित्य पूजा गरि उपासन गर्ने पर्वको रुपमा सुदूरपश्चिममा धार्मिक मान्यताअनुसार गौरापर्व मनाइदै आएको पाइन्छ ।
भगवान शिव र पार्वतीको पूजा आराधना एबम् ब्रत अनुष्ठानबाट सुस्वास्थ्य एबम् शौभाग्य र समृद्धि प्राप्त हुन्छ भन्ने विश्वास रहदै आएको पण्डित रामचन्द्र भट्ट बताउछन् । गौरा पर्वको प्रमुख आकर्षणका रुपमा रहेको देउडामा पौराणिक कथा, देवीदेवताका गाथा र धार्मिक ग्रन्थ गाउने गरिन्छ । त्यतिमात्रै नभएर सामाजिक विकृतिविरुद्ध पनि देउडाका माध्यमले तिखो व्यङ्ग्य गर्ने गरिन्छ । महिलाले यस अवसरमा आफ्ना सुख–दुःख देउडाका माध्यमबाट व्यक्त गर्छन् ।
सुदूरपश्चिमको डडेल्धुरा,दार्चुला, बैतडी, डोटीका बासिन्दाले दसैँभन्दा पनि बढी महत्वका साथ मनाउने गौराको आगमनले यतिबेला सुदूरपश्चिममा चहलपहल बढाएको छ भने गौरा विसर्जन नगरिएसम्म गौराघरमा पुरुष तथा महिलाहरु छुट्टाछुट्टै रुपमा गोलबद्ध भई स्थानीय लोक भाषामा देउडा, चैत, धमारी आदि खेल खेलेर आनन्द लिने चलन रहि आएको छ । भाद्र कृष्ण वा शुक्ल पक्षमा मनाइने गौरा पर्व यो वर्ष भाद्र शुक्ल पक्षमा परेको पण्डित तथा ज्वोतिश लक्ष्मीप्रशाद भण्डारीले बताउनुभयो ।
पौराणिककालमा भगवान् शिव महेश्वरको प्राप्तिका लागि गौरीदेवी अर्थात् पार्वतीले निराहार नित्य आराधना गरी शिवको प्राप्ति भएको विश्वास गरिन्छ । यही बेलादेखि गौरा र महेश्वरको विवाहको सम्झनामा यो पर्व मनाउने परम्परा चल्दै आएको संस्कृतिका जानकार आचार्य भण्डारीको भनाई छ ।
यो पर्वमा खास गरेर विवाहित महिलाले व्रत बसेर शिव र पार्वतीको उपासना गर्ने गर्दछन् । सुदूरपश्चिममा मात्रै नभएर छिमेकी देश भारतको उत्तराखण्डको कुमाउँमा पनि यो पर्व धुमधामका साथ मनाउने गरिन्छ ।




