लक्ष्मी ऐर
डडेल्धुरा,भदौं २१ गते । डडेल्धुराको परशुराम क्षेत्रका स्वास्थ्य संस्थाहरुमा लामो समय देखि औषधीको अभाब हुंदै आएको भएपनि स्थानीय तह बेखबर बन्दै आएको छ । स्थानीय सरकारलाई औषधी आपुर्ति गरिदिनका लागी पटक पटक आग्रह गरिएको भएपनि औषधी प्राप्त हुन नसकेपछि स्थानीय युबाहरुले आर्थिक संकलन अभियानको सुरुवात गरेका हुन । परशुराम नगरपालिकाको वडा नं. ७ अन्र्तगत रहेको साँदनी स्वास्थ्य केन्द्रमा एक महिना देखि औषधी अभाब हुंदै आएपनि स्थानीय सरकारको चासो जान नसक्दा बिरामीहरुले सामान्य उपचार सेवाबाट समेत बञ्चित हुदै आएको स्थानीयको गुनासो छ ।

स्थानीय युबा जनकबहादुर बम र मिनबहादुर साँउद नेतृत्वको स्थानीय युबाहरुको टोलीले औषधी खरिदका लागी स्वतस्र्फुत रुपमा आर्थिक संकलन अभियान सगैं वडा र परशुराम नगरपालिकालाई स्थानीयका समस्यामा गम्भिर नबनेको भन्दै दबाब स्वरुप हस्ताक्षर अभियान समेत गर्दे आएका छन । शुक्रबार साँदनी स्वास्थ्य चौकी नजिककैको स्थानीय बजार साँदनी चनाम्मनचौराहमा भेला भएका युबा सहितका संयौं स्थानीयहरुले युबाहरुले थालेको अभियानमा ऐक्यबद्धता जाहेर गर्दे ८ हजार भन्दा बढी रकम संकलन भएको र झण्डै २ सय भन्दा बढीले हस्ताक्षर अभियानमा साथ दिएका छन । नागरिक यहाँ छौं,सरकार कहाँ छौ ? भन्ने मुख्यनारा लिएर स्थानीय युबाहरुले अभियान थालनी गर्न बाध्य भएको स्थानीय युबा मिनबहादुर साँउदले जानकारी दिनुभयो । एकसाता देखि गाँउभरी भाईरलका बिरामीहरु थला परेका छन तर स्वास्थ्य केन्द्रमा सामान्य सिटामोलको औषधी छैन । परशुराम नगरपालिकाको सबैभन्दा ठुलो वडाका रुपमा रहेको वडा नं.७ मा दर्जनौं गाँउबस्तीहरु छन तर एकसाता देखि रुघाखोकी,ज्वरो,पखला,टाईफाईड लगायतका बिरामीहरुले सामान्य उपचारका लागी पनि भारतको टनकपुर र तराईका कैलाली र कञ्चनपुरका अस्पतालहरु धाउन बिरामीहरु बाध्य भएपछि यो अभियानको थालनी गरिएको साँउदले बताउनुभयो ।

अभियानको सुरुकै दिन झण्डै आठ हजार रुपैया संकलन भएको संकलित रुपैयाले औषधी ल्याएर स्वास्थ्य चौकीलाई हस्तान्तरण गर्ने उदेश्य रहेको बताईएको छ । समाजिक अभियान्ता जनक बमले वडा,स्थानीय पालिका र प्रदेश सरकार सम्म औषधीका लागी पहल गरियो कहिकतैबाट सम्भब नभएपछि यो अभियान थाल्नुपर्ने बाध्यता आईलागेको हो । यो अभियान संगैं स्थानीय समस्याहरुलाई बेवास्ता गर्दे आएको स्थानीय सरकारलाई थप दबाब सिर्जना गर्न र यथासिघ्र समस्याहरु प्रति जिम्मेवार बनाउनका लागी समेत युबाहरुले हस्ताक्षर अभियान थालेको उहाँले बताउनुभयो । यो अभियानलाई सादनीमा मात्रै सिमित राख्दैनौं परशुराम नगरपालिकाका सबै वडाहरु सम्म पुयाउने गरि अघि बढ्छौं बममे भन्नुभयो— यहाँकै जस्तो प्राय सबै वडाहरुको उस्तै खालका समस्या छन । भाईरलका बिरामीहरु दिन प्रति दिन बढ्दै गईरहेको र स्वास्थय केन्द्रमा औषधीको अभाब रहेको साँदनी स्वास्थ्य केन्द्रका प्रमुख संघर्ष धामीले बताउनुभयो । साँदनी स्वास्थ्य केन्द्रमा भाईरलका बिरामीहरु उपचारका लागी आउने गरेको भएपनि सामान्य र्औषधीको अभाबले उपचार गर्न निकै कठिनाई भईरहेको धामीले बताउनुभयो ।

उता परशुराम नगरपालिका स्वास्थ्य शाखा प्रमुख हिक्मत बहादुर धामीले स्वास्थ्य संस्थाहरुमा औषधीको अभाब देखिएको भएपनि परपुर्ति गर्न समस्या आईरहेको बताउनुभयो । बजेट कार्यान्वयनमा आईनसकेको र स्टोरमा औषधी नभएका कारण स्वास्थ्य चौकीहरुमा औषधी पठाउन नसकिएको स्विकार गर्नुहुदै प्रमुख धामीले परशुराम नगरपालिकामा प्रशासकीय अधिकृत फेरिएको अबस्था छ भने अर्काेतिर बजेटको सुनिश्चितता नभएका कारण औषधी खरिद गर्न नसकिएको बताउनुभयो । औषधी अभाब भएसंगैं भाईरलका बिरामीहरु देखा पर्न थालेको जानकारीमा आएपनि औषधी परिपुर्ति गराउन पहल भईरहेको प्रमुख धामीले बताउनुभयो ।




