‘जेनजी’ आन्दोलनमा ज्यान गुमाएकालाई शहीद घोषणा
अमरगढी पोष्ट समाचार
काठमाडौं,भदौ,३० गते । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले ‘जेनजी’ आन्दोलनका क्रममा मृत्यु भएकाहरूलाई शहीद घोषणा गर्ने निर्णय गरेकी छन् ।
विध्वंश मच्चाउनेलाई कारबाही गर्ने प्रधानमन्त्रीको घोषणा
आइतबार पद बहालीपछि पहिलो निर्णय नै आन्दोलनका क्रममा मारिएकालाई शहीद घोषणा र मृतकका परिवारलाई १० लाख राहत दिने निर्णयमा हस्ताक्षर गरेको प्रधानमन्त्री कार्कीले बताइन् । आन्दोलनका क्रममा घाइते भएकाहरूको निःशुल्क उपचार गर्ने सरकारले निर्णय गरेको छ । पदभार ग्रहणपछि सचिवहरूलाई सामूहिक निर्देशन दिँदै उनले युवापुस्ताको रगत बगेर आएको परिवर्तनलाई खेर जान नदिने प्रतिबद्धता पनि जनाइन् । ‘जेनजी’ पुस्ताको आह्वानमा भएको आन्दोलनले २७ घण्टामा ल्याएको परिवर्तनको सन्देशअनुसार तीव्र गतिमा परिवर्तनलाई संस्थागत गर्दै जनचाहनाअनुरूप भ्रष्टाचारको अन्त्य, सुशासन र आर्थिक समानताका विषयमा जोड दिने बताएकी छन् ।
पदबहाली गर्दै कार्कीले भनिन्, ‘यति छोटो अवधिमा संसारमा कहीँ यस किसिमको परिवर्तन भएकै छैन, यो युवाको ऊर्जा, सक्रियता र आवश्यकताले भएको हो, यसको स्पिरिट खेर जान दिइन्नँ ।’
आन्दोलनका क्रममा भएको भौतिक क्षतिहरूको मूल्यांकन गर्दै सरकारले तत्काल पुनर्निर्माणका कार्ययोजना बनाएर अघि बढ्ने बताइन् । प्रधानमन्त्री कार्कीले शहीद परिवार, घाइते तथा आन्दोलनको नेतृत्व गरिरहेका सबैलाई धन्यबाद ज्ञापन गर्दै पछुताउनुपर्ने अवस्था आउन नदिने प्रतिबद्धता व्यक्त गरिन् । नवनियुक्त प्रधानमन्त्री कार्कीले आफू रहरले प्रधानमन्त्री नभएको भन्दै परिस्थितिले बाध्य बनाएको स्पष्ट पारेकी छन् । आइतबार सिंहदरबारमा पदभार ग्रहणपछि कर्मचारी, सुरक्षाकर्मीलगायतलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यस्तो बताएकी हुन् ।
षड्यन्त्रको छानबिन गरिन्छ
प्रधानमन्त्री कार्कीले ‘जेनजी’को पवित्र भावनालाई दुरुपयोग गर्दै आगजनी तथा हत्याको अवस्था सिर्जना भएकामा घुसपैठ र बाह्य षड्यन्त्र भएको आशंका गरेकी छन् ।
घुसपैठ हुने, आन्दोलन हिंसात्मक बनाउन प्रोत्साहित गर्ने र आक्रमण तोडफोड तथा आगजनी गर्न प्रोत्साहित गर्नेलाई कारबाही गरिने बताइन् । उनले परिवर्तन नेपाली युवाकै आवश्यकतामा भएको तर्फ जोड दिइन् । तर, नेपाली नागरिक तथा प्रहरीको मृत्यु हुने तथा सार्वजनिक संरचना तोडफोड र आगजनी नेपालीले नै गरे भनेर कसरी विश्वास गर्नु भन्दै बाह्य षड्यन्त्रको आशंकासमेत व्यक्त गरिन् । प्रधानमन्त्री कार्कीले आन्दोलनमा भएको घुसपैठ, हिंसात्मक गतिविधि तथा सार्वजनिक अपराधको अनुसन्धान, छानबिन र कारबाही हुनेमा दृढता व्यक्त गरिन् ।
शासन गरिरहने रहर छैन
प्रधानमन्त्री कार्कीले आफूलाई प्रधानमन्त्रीको कुर्सीमा बसेर शासन गर्ने रहर भएकाले जिम्मेवारीमा आएको नभएर विशेष परिस्थितिमा ‘जेनजी’ पुस्ताको भावनालाई सम्मान गरिएको बताइन् । कार्कीले भनिन्, ‘म विशेष परिस्थितिमा आएको सबैलाई थाहै छ, मलाई प्रधानमन्त्रीका रूपमा शासन गरिरहन भन्दा शान्तिपूर्ण रूपमा समयमै निर्वाचन सम्पन्न गरेर सरकार हस्तान्तरणको हतार छ ।’ ६ महिनाभित्रै आधारभूत पुनर्निर्माण तथा व्यवस्थापकीय पक्ष सम्हाल्दै निर्वाचनमार्फत सरकारको जिम्मा लगाउनुपर्ने दायित्व आफूहरूको काँधमा भएको कार्कीले बताइन् ।
मुख्यसचिव अर्यालले आन्दोलनका कारण क्षति भएका कार्यालयहरूको पुनर्निर्माण र पुनःस्थापनाको विषय चुनौतीपूर्ण रहेको भन्दै धेरै भवन पूर्ण क्षति भएको र पुनर्निर्माण नै गर्नुपर्ने अवस्थामा रहेको रिपोर्ट आएको बताए । सातै प्रदेश र सबैजसो जिल्लाका कार्यालय, सिंहदरबारदेखि प्रदेशका मन्त्रालयहरू, प्रहरी तथा प्रशासन कार्यालयहरू क्षति भएकाले बजेट र प्राथमिकताका आधारमा पुनर्निर्माणलाई प्राथमिकतामा राखिनुपर्ने अवस्थाको समीक्षा भएको अर्यालले बताए ।



