लक्ष्मी ऐर
डडेल्धुरा,कार्तिक १५ गते । डडेल्धुराको गन्यापधुरा गाउँपालिका –२ सुदुरपश्चिमकै प्रशिद्ध बडाल जाँत चौलो हजारौं भक्तजनहरुले मनाएका छन । हरेक वर्षको कात्र्तिक शुक्ल दशमीको शुक्रबार राती रतेडी र शनिबार दिउसो दिउसेडी गरि हजारौं भक्तजनहरुको प्रत्यक्ष सहभागितामा प्रशिद्ध बडाल चौलो जाँत सम्पन्न भएको छ ।
धार्मिक र सांस्कृतिक रूपमा महत्वपूर्ण यो मेला ‘चौलो’ खेलका कारण सुदूरपश्चिमभर प्रख्यात मानिन्छ । स्थानीय बासिन्दाले यस मेलालाई ‘बडाल जाँत’ भनेर चिन्छन । बडाल जाँतमा दाईन, दमाहा, रुइसिङ, भोक्कर लगायत परम्परागत बाजागाजाका साथ देउता नचाइँदै ढाल, तरबार, भाला र गुर्जा बोकी चौलो खेल्ने चलन छ ।
मेला व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर मालीका अनुसार यस मेलामा युवापुस्ताको आकर्षण बढ्दै गईरहेको छ । पहिलो दिन राति रतेडी र भोलिपल्ट दिउँसो भागेश्वर देवतालाई गाँजले ढोग गरेपछि दिउँसेडी मेला आरम्भ हुने चलन रहेको उहाको भनाई छ ।
मेलामा मालीगाउँ, कुजाकोट, रुमायल, थप्साल लगायतका स्थानिय ठाउँबाट देवताको देउरो ल्याउने परम्परा रहेको छ । यद्यपि मुख्य देउरो भने मालीगाउँबाट ल्याइने गर्छ । स्थानीयका अनुसार मेलाको अन्त्यमा चौलो खेल्दै देउताको गाँज नचाएपछि बडाल जात सम्पन्न गर्ने गरिन्छ ।
गन्यापधुरा गाउँपालिका–२ का वडाध्यक्ष मनोजबहादुर देउवाले यो मेला स्थानीय व्यापार र सामाजिक भेटघाटको अवसर पनि रहेको बताउनुभयो । उनले मेलामा स्थानीय हस्तकला र कृषि उपजको बिक्रि बितरण हुने गरेको जानकारी दिनुभयो । देउवाका अनुसार मेलामा जाँड–रक्सी, जुवा–तासजस्ता असामाजिक गतिविधि पूर्ण रूपमा निषेध गरिएको छ । बडाल जाँत सामाजिक र सांस्कृतिक पर्व भएकाले यस्तो कार्यमा संलग्न हुनेमाथि कडा कारबाही गरिने उनले चेतावनी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डीएसपी बरुणबहादुर सिंहले मेलाको सुरक्षा ब्यबस्था गरेको र हजारौं भक्तजनहरुले आफ्नो मनोइच्छा पुरा गर्न भिड लागेको थियो । मेलामा सुरक्षाको बाक्लो उपस्थीति रहेको अन्य बर्षभन्दा यो बर्ष दर्शकहरुको निकै बाक्लो भिड लागेको स्थानीयबासी नबराज भण्डारीले बताउनुभयो ।




