Amargadhi Post

सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा मेला (देहिजाँत) आज

लक्ष्मी ऐर
डडेल्धुरा, कात्तिक १९ गते । डडेल्धुराको अमरगढी –८ मा अवस्थित उग्रतारामा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा मेला (देहिजाँत) हुनेभएको छ । उग्रतारा क्षेत्र विकास समितिका अनुसार यसवर्ष मंगलबार कार्तिक शुक्ल पूर्णिमाको रात (रतेडी) र आज बुधबार (दिउसेडी) मेला लाग्ने भएको हो ।

उग्रतारा मेला सुदूरपश्चिमकै शक्रिपिठका रुपमा सबैभन्दा ठूलो मेलाका रुपमा हेर्न सकिन्छ । मेलाले यस क्षेत्रको सांस्कृतिक र सामाजिक एकतालाई प्रगाढ बनाउने र हिन्दुधर्मको जगेर्नामा टेवा दिने काम गर्दै आएको छ । किम्बदन्ती अनुसार २५ सय वर्ष पहिला हालको अमरगढी नगरपालिका लटाउली बस्ने साँकी जातिका स्थानीयले हलो जोत्दा हलोको फाली लागेर रगत बगेपछि देवी उत्पन्न भइ दर्शन दिएपछि त्यस दिनदेखि महागौरी दुर्गा र कालीको स्वरुपमा उग्रतारा भगवतीको पूजा गरिँदै आएको छ । हरेक वर्षमा एकपटक भव्य रूपमा लाग्ने उग्रतारा माताको दर्शन गरेमा दैवी प्रकोप नहुने, सुख प्राप्ति, मनोकामना पूरा हुने जनविश्वास रहेको उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजवहादुर साँकीले बताउनु भएको छ ।

साथै मेला व्यवस्थापन र विभिन्न ठाउँबाट आउने श्रद्धालु तथा दर्शनार्थीहरूको व्यवस्थापनका लागि पूर्णरुपमा व्यवस्थित गरी तयारी पूरा भएको छ । मेलाको मुख्य आकर्षक छचोडा, खनमडा, दुमडा र जिलोडा गाउँमा रहेका भराडघर (देवताका खरखजना सहित देउरो रहने भण्डारघर) बाट उग्रतारा भगवती मन्दिरमा देउरा आउने गर्दछन । यी चारवटै गाउँबाट रतेडी मेलामा बिहान ‘देउरो’ आएपछि ‘दिउसेडी’ मेला सुरु हुने गर्दछ ।

जिल्ला सदरमुकाम बागबजारबाट ४ किलोमिटर टाढा अमरगढी नगरपालिका ८ को सुन्दर डाँडामा अवस्थित महाशक्तिपीठ उग्रतारा भगवतीको मन्दिरमा हजारौं दर्शनार्थी मेला भर्ने गर्दछन । सुदुरपश्चिमका विभिन्न जिल्ला र भारतका विभिन्न स्थानबाट समेत श्रद्धालुहरू मेला भर्न डडेल्धुरा सदरमुकाम आउने क्रम जारी रहेको स्थानीय व्यापारी बताउँछन । देहिजाँतमा स्थानीय उत्पादन र ग्रामिण क्षेत्रमा पाइने दाल तथा अन्य उत्पादन र फलफूलको समेृत विक्री वितरण हुने गर्छ । स्थानीय लटाउली समुदायका मानिस यस माताका विशेष कारिन्दाका रुपमा मानिन्छन । क्षेत्र विकास समिति अध्यक्ष साँकीका अनुसार, कार्तिक १८ गते राति रतेडीका लागि र भोलिपल्ट हुने दिउसेडि मेलाको व्यवस्थापन तथा मन्दिर सजाइ मेलालाई आकर्षक बनाउनेलगायत पार्किङ, स्टल निर्माणको व्यवस्थापन पूरा भइसकेको छ । समितिका अनुसार मेला व्यवस्थापनका लागि स्वयंसेवक खटाईएको छ । श्रद्धालुलाई सुरक्षाका मापदण्ड पालना गर्न आग्रह समेत गरिएको छ । मेला धार्मिक आस्था मात्र नभइ स्थानीय पर्यटन र सांस्कृतिक पहिचानको रूपमा समेत महत्वपूर्ण मानिन्छ । मेलालाई ब्यबस्थित पार्न नेपाल प्रहरी शशस्त्र प्रहरीले ब्यापक रुपमा सुरक्षा परिचालन गरेको छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।