लक्ष्मी ऐर
डडेल्धुरा,कार्तिक २७ गते । डडेल्धुरा जिल्लामा मतदाता नामावलीमा नाम तिब्रगतिमा अघि बढेको छ । जिल्ला निर्वाचन कार्यालय डडेल्धुराका अनुसार नयाँ मतदाता नामावलीमा ३७७ जनाले नाम दर्ता गराएका छन ।
निर्वाचन आयोगले असोज १० गते देखि सुरु गरेको यो अभियान कार्तिक मसान्तसम्म देशभर मतदाता नामावलीमा नाम दर्ता तथा अद्यावधिक अभियान सञ्चालन गरेको छ ।
निर्वाचन कार्यालय डडेल्धुराले नेपाली नागरिकताको प्रमाणपत्र भएका व्यक्तिले अनलाईन प्रणालीमार्फत आफ्नो विवरण भर्न सक्ने व्यवस्था समेत गरेको जनाएको छ । आवश्यक कागजातहरू आफ्नो मोबाइलबाट अपलोड गरी नाम दर्ता वा विवरण परिवर्तन गर्न सकिने आयोगले जनाएको छ। यसरी नाम दर्ता तथा विवरण अद्यावधिक प्रक्रिया घरमै बसेर मोबाइल वा कम्प्युटरबाट गर्न सकिन्छ, तर बायोमेट्रिक विवरणको लागि भने निर्वाचन कार्यालयमा व्यक्ति स्वयं उपस्थित हुनुपर्ने जनाएको छ ।
तर, अनलाइन प्रणालीको प्रयोगबारे भने नागरिकहरु अनबिज्ञ छन । कार्यालयका सूचना अधिकारी हरिशदत्त भट्टका अनुसार दैनिक रूपमा कार्यालयमा पुग्ने नागरिकको संख्या कम छ । गाउँका धेरै बासिन्दाले अनलाइन प्रणाली प्रयोग गर्न नजान्दा वा इन्टरनेट पहुँच नभएका कारण नाम दर्तामा ढिलाइ भइरहेको छ । नयाँ नागरिकता प्राप्त गरेका युवाहरू बढी नाम दर्ता गराउन आइरहेका छन् भने अन्य उमेर समूहको सहभागिता न्यून रहेको छ ।
निर्वाचन आयोगले आगामी फागुनमा हुने निर्वाचनको तयारीका लागि देशभर मतदाता नामावली अद्यावधिक अभियान सञ्चालन गर्दै आएको छ । यसअन्तर्गत नयाँ नाम थप्ने, त्रुटि सच्याउने र मृतक वा दोहोरो नाम हटाउने काम कार्तिक मसान्तसम्म पूरा गर्न समय सिमा तोकिएको छ । डडेल्धुरा जिल्लामा कुलमतदाता संख्या ९१ हजार ९ सय १९ रहेको कार्यालयले जनाएको छ । जसमध्ये पुरुषको सख्या ४५ हजार ९ यस ३६ जना र महिलाको सख्या ४५ हजार ९ सय ८३ रहेको छ । यही कार्तिक २६ गते सम्म नयाँ मतदाता नामावलीमा नाम दर्ता गराउनेको संख्या ३७७ रहेको निर्बाचन कार्यालय डडेल्धुराका प्रमुख करुणाकर अबस्थीले जानकारी दिनुभएको छ । जसममध्ये पुरुष २५७ र महिला १२० गरि ३७७ जनाले १ महिनाको अबधीमा नँया मतदाता नामावलीप्मा नाम दर्ता गराएको बताईएको छ ।



