Amargadhi Post

फागुन २१ निर्बाचनमा ः डडेल्धुरा चुनावी मैदानका संभावित प्रत्यासीैं !

टेकराज अबस्थी
डडेल्धुरा,पुस,८ गते । आसन्न प्रतिनिधि सभा सदश्य निर्वाचनमा डडेल्धुराबाट नौ जना संभावित उम्मेदवार देखिएका छन । कुशासन बिरुद्ध भएको ऐतिहासिक बिद्रोह तथा जेन्जी आन्दोलन पश्चात गठन भएको अन्तरिम सरकारले घोषणा गरेको फागुन २१ गते हुन गईरहेको निर्वाचनमा एक मात्र प्रतिनिधि सभा सदश्य निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा, नेपाली काँग्रेस (वीपि) का केन्द्रीय उपसभापति कर्ण बहादुर मल्ल, पूर्व मन्त्री पठान सिंह बोहरा, डा. तारा प्रसाद जोशी, खगराज भट्ट, गोबिन्द खडायत, ई. सुरेन्द्र अवस्थी, ई. सागर ढकाल र विनय प्रकाश मल्ल चर्चामा रहेका छन ।
कुन उम्मेदवारको के निर्वाचन पृष्ठभूमि
शेर बहादुर देउवाः गन्यापधुरा गाउँपालिका वडा नं. १ रुवाखोला जन्मेका देउवा पञ्चायत बिरुद्धको सशक्त बिद्रोह गर्दै २०४६ को प्रजातन्त्र पुर्नबहाली आन्दोलन ताका बेलायतमा रहे पनि पुर्नस्थापना पश्चात नेपाल फर्केर चर्चामा रहेका उनि २०४८ को प्रतिनिधि सभा संसदिय निर्वाचनमा पहिलो पटक अत्यधिक मतान्तरले निर्वाजित भई नेपाली काँग्रेसको नेतृत्वमा एकल बहुमत सरकारमा देशको गृहमन्त्री भएका थिए । त्यसपछि २०५१,२०५६ को प्रतिनिधि सभा, २०६४ र २०७० को संबिधान सभा, २०७४ र २०७९ को प्रतिनिधि सभा निर्वाचनमा निरन्तर जित हासिल गरि अपराजित नेताको रुपमा किर्तिमानी राखेका छन । २०५२ देखि २०७९ सम्म देउवा पाँच पटक मुलुकको प्रधानमन्त्री समेत भईसकेका छन ।
कर्ण मल्लः गन्यापधुरा गाउँपालिका वडा नं. २ चम्साल स्थायी घर भएका कर्ण बहादुर मल्ल शेर बहादुर देउवा सत्तामा रहँदा स्वकिय सचिव लगायत बिभिन्न जिम्मेवारी र पार्टीको दुई कार्यकाल जिल्ला सभापति समेत रहि सक्नु भएका र देउवाको अन्तरपार्टी अन्याय, अत्याचार र मनोमानी बिरुद्ध संघर्ष गर्दागर्दै सुदूरपश्चिम प्रदेश सभा सदश्यको निर्वाचन २०७४ मा निर्वाचित तथा पार्टीको १४ औं महाधिबेशन मा क्रियासिल सदश्यता विवादमा कारवाही भोगे पछि नेपाली काँग्रेस (वीपि) मा आबद्ध भई २०७९को निर्वाचनमा ७५३५ मत ल्याई तेस्रो स्थानमा पुगेका मल्ल सशक्त तथा प्रखर नेता हुन ।
पठान सिंह बोहराः परशुराम नगरपालिका वडा नं. ४ कटाल निवासी वरिष्ठ अधिवक्ता पठान सिंह बोहरा नेकपा एमालेको चौथो र पाँचौं जिल्ला अधिबेशनबाट जिल्ला नेतृत्व अर्थात तत्कालिन अवस्थामा जिल्ला सचिव, महाकाली अञ्चल कमिटि सदश्य, पार्टीको राष्ट्रिय प्रतिनिधि परिषद सदश्य, केन्द्रीय सदश्य तथा जिल्ला ईन्चार्जको रुपमा काम गरिसकेका र २०७४ मा सम्पन्न प्रदेश सभा सदश्य निर्वाचनमा सुदूरपश्चिम साँसद तथा भौतिक पूर्बाधार विकास मन्त्रीको रुपमा पनि करिब तिन वर्ष काम गर्नु भयो भएको अनुभबी नेता हुन ।
खगराज भट्टः अजयमेरु गाउँपालिका वडा नंं ४ डडेल्धुरा स्थायी बासिन्दा खगराज भट्ट दश वर्षे ससस्त्र बिद्रोह पश्चात बृहत शान्ति सम्झौता सँगै पहिलो पटक भएको संबिधान सभा निर्वाचनमा पहिलो पटक निर्वाचनमा होमिएका माओवादी नेता खगराज भट्ट २०६४, २०७० र २०७४ मा पूर्व प्रधानमन्त्री देउवाका निकटम प्रतिद्वन्दीको रुपमा रहँदै २०७९को निर्वाचनमा नेपाली काँग्रेस र नेकपा माओबादीसँगको गठबन्धनमा डडेल्धुराको प्रदेश सभा सदश्य निर्वाचन प्रदेश “क” बाट निर्वाचित हुँदै बहालवाला प्रदेश साँसद हुनुहुन्छ ।
डा. तारा जोशीः गन्यापधुरा गाउँपालिका वडा नं. २ वामनगाउँ निवासी डा. तारा प्रसाद जोशी २०४५ मा अखिल सदश्य देखि शिक्षक हुँदै २०५१ मा नेकपा एमाले काठमाण्डौं डडेल्धुरा सम्पर्क मञ्च सदश्य, प्रत्यक्ष राजनीतिक यात्रामा २०५४मा एमाले सचिव, २०५४मै एमाले पार्टी विभाजन पश्चात माले जिल्ला सचिव, २०६९ मा नेकपा एमाले जिल्ला सचिव(बहुपदिय नहुँदा), २०७०(२०७५ सम्म जिल्ला अध्यक्ष, २०७० को संबिधान सभा सदश्य निर्वाचनमा प्रतिनिधि सभा तर्फ प्रत्यक्ष उम्मेदवार, २०७४ मा प्रतिनिधि सभा तर्फ प्रत्यक्ष उम्मेदवार र २०७९ मा सुदूरपश्चिम प्रदेश सभा सदश्य निर्वाचनमा स्वतन्त्र उम्मेदवार भई विजयी । हाल जोशी उज्यालो नेपाल पार्टीका केन्द्रीय सदश्य रहनु भएको छ ।
गोबिन्द खडायतः अमरगढी नगरपालिका वडा नंं २ निवासी गोबिन्द खडायत विगत दुई दशक देखि योग प्रशिक्षक तथा आध्यात्मका प्रचारक, आयुर्बेद स्वास्थ्यका अभियन्ताको रुपमा परिचित समाजसेवी हुन, खडायत चर्चित मन्त्री लाल बहादुर खडायतका भतिज तथा समाज सुधारक नेताको रुपमा डडेल्धुराबासीले लिएका व्यक्ति हुन, राष्ट्रिय प्रजातन्त्र पार्टीको दुई कायृकाल केन्द्रीय सदश्य, पार्टीको सुदूरपश्चिम संगठन विभाग प्रमुख हुँदै उनी २०७० मा राष्ट्रिय प्रजातन्त्र पार्टीको समानुपातिक उम्मेदवार, २०७९ को प्रतिनिधि सभा सदश्य निर्वाचनमा उम्मेदवारी दिई चौथो स्थान पाएका थिए । नागरिक समाज लगायत विभिन्न सामाजिक संघसंस्थामा क्रियासिल खडायत स्पष्ट र यतार्थवादी वक्ताको रुपमा परिचित रहेका छन ।
ई. सागर ढकालः पुख्र्यौली घर गुल्मी तथा हाल रुपन्देहि बुटवल बसोबास गर्दै आएका सागर ढकाल पेशाले मेकानिकल ईन्जिनियर र २०७९ को संस्दिय निर्वाचनमा शेर बहादुर देउवालाई राजनीतिक जीवनबाट विश्राम दिने भन्दै डडेल्धुरामा उम्मेदवारी दिए र युवाहरुको लोकप्रिय मत १३ हजार ४२ मत ल्याई दोश्रो स्थान हासिल गर्न सफल भएका थिए ।
ई. सुरेन्द्र अवस्थी ः अमरगढी नगरपालिका वडा नंं. ५ निवासी सुरेन्द्र अवस्थी पेशाले सिभिल ईन्जिनियर तथा जलश्रोत तथा जलविद्युत संरचना अध्ययन, पूर्बाधार निर्माण, डिजायन र विपद जोखिम व्यवस्थापन क्षेत्रमा लामो समय देखि देशका विभिन्न स्थानमा काम गर्दै प्रत्यक्ष राजनीतिमा होमिएका अवस्थी राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति मात्र नभई आईडिएल व्यवसायी र सामाजिक व्यक्तित्व पनि हुन ।
विनय मल्ल ः अमरगढी नगरपालिका वडा नंं. ४ खलंङ्गा डडेल्धुरा निवासी विनय प्रकाश मल्ल युवा समाजसेवीको रुपमा परिचित छन, हाल जापानमा रहेका मल्लले जिल्लाका बिभिन्न सामुदायिक प्राथमिक तह विद्यालयमा विद्यार्थीहरुलाई आर्थिक तथा बस्तुगत बिभिन्न सहयोग गर्दै आएका र समाजसेवा मार्फत स्थानीय जनतालाई चेतनशिल र समाजसेवामा सक्रिय रहन प्रेरित गर्ने कार्यका साथै जनताको साथ भए निर्वाचित भई जनताको सेवा गर्ने बताएका छन ।
फागुन २१ मा निर्वाचन हुन्छ कि हुँदैन भन्ने अन्योलता र आशंकाका बिच चर्चामा रहेका यि प्रत्यासी र राजनीतिक दलहरुले जिल्लामा निर्वाचनका लागि चुनावी रणनीतिक योजना तथा वाताबरण बनाउनका लागि सक्रिय मात्र भएका छैनन साझा उम्मेदवारीका लागि समेत छलफल शुरु गरेका छन ।
यस अघि २०७९ को प्रतिनिधि सभा सदश्य निर्वाचनमा डडेल्धुराबाट पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा, नेपाली काँग्रेस (वीपि) का केन्द्रीय उपसभापति कर्ण बहादुर मल्ल, गोबिन्द खडायत, ई. सागर ढकाल, कर्ण सिंह रावल, बिक्रम बहादुर शाही, श्याम सिनाल र लाल बहादुर कठायत उम्मेदवार रहेका थिए ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।