मानबहादुर साउद । टेकराज अबस्थी
डडेल्धुरा,जेठ,२८ गते । लामो समय देखिको फोहर ब्यबस्थापनको समस्या झेलीरहेको अमरगढी फेरी बिबादमा आएको छ । अमरगढी नगरपालिकाले गत बर्ष फोहर ब्यबस्थापनका लागी अमरगढी नगरपालिका ६ स्थित भजनपुर क्षेत्रमा जग्गा खरिद गरि फोहर ब्यबस्थापन प्रयोजनमा ल्याएपछि स्थानीहरुको तिब्र बिरोध पछि रोकिएको थियो । फोहर ब्यबस्थापनका लागी अमरगढी नगरपालिका अगाढी बढेपछि स्थानियबासीहरु आन्दोलिन मात्रै भएका छैनन अमरगढी नगरपालिकाका वडा नं.६ को वडा कार्यालयमा तालाबन्दी गरि बिरोधमा उत्रिएका छन ।
स्थानियहरुको सहमती बिपरित अमरगढी नगरपालिकाले फोहर ब्यबस्थापन गर्न खोजेको भन्दै स्थानियहरु आन्दोलित भएपछि कामकारबाही प्रभाबित बनेको छ । ०५३ मा स्थापना भएको अमरगढी नगरपालिकाको मुख्य बजार क्षेत्र तथा जिल्ला सदरमुकाममा दैनिक निस्किने फोहरलाई व्यवस्थित गर्न २०७९ मा जग्गा खरिद गरिए पनि अमरगढी नगरपालिका वडा नं. ६ का स्थानीय जनता र सरोकारवाला निकायसँग सहमति नलिई काम शुरु गर्न थाले पछि प्रभावित क्षेत्रका जनता आन्दोलित र आक्रोसित भएका हुन ।
फोहर व्यवस्थापनको चुनौती झेल्दै आएको अमरगढी नगरपालिकाले डम्पीङसाईडको विषयमा स्थानीय सामुदायिक वन, उपभोक्ता लगायत अन्य सरोकारवालासँग सहमति नगर्दा विवादित मात्र भएको छैन अमरगढी नगरपालिकाको वडा नं. ६ स्थित भजनपुर क्षेत्रमा पालिकाले उपलब्ध गराएको जग्गामा संघिय शहरी तथा भवन निर्माण कार्यालय धनगढी कार्यालयबाट खोलिएको ठेक्का पनि प्रभावित भएको छ ।

विभिन्न समयमा विभिन्न स्थानमा अस्थायी फोहर व्यवस्थापन गर्दै आएको अमरगढी नगरपालिकाले कागती खेतीका लागि जग्गा खरिद गरिएको भन्दै स्थानीयसँग समन्वय नै नगरि जनताको भावना विपरित गएर जालझेल गरेको ढिलो गरि थाहा भयो, अहिले आएर डम्पीङसाईडको काम शुरु गर्दा आफूहरुलाई आपत्ति हुनु स्वभाविक रहेको एक स्थानीयले बताए । स्थानीय नागरिकको धार्मिक साँस्कृतिक र १६ संस्कारका विभिन्न क्रियाकलाप गर्ने मुख्य क्षेत्र रहेको बुढाखेतीमा डम्पिङसाईड निर्माण नगर्न आग्रह गर्दा पनि नमानेको र विहिवार विहान ल्याण्डफिल्डसाईडमा अमरगढी नगरपालिकाका कर्मचारी, नेपाल प्रहरी, ससस्त्र प्रहरी, नगर प्रहरीको उपस्थितिमा डोजर चलाउन खोजेपछि स्थानीयको सशक्त अबरोध र बिरोध भए पछि डोजर सहित प्रहरी फिर्ता भएको स्थानीय धर्म ताम्राकारले बताउनुभयो ।
संघर्ष समितिले फोहरमैला व्यवस्थापनमा वडा कार्यालयको नियोजित भूमिका र जनप्रतिनिधि आफ्नै प्रतिबद्धता विपरित देखिएको भन्दै अमरगढी नपा वडा नंं ६ को कार्यालयमा अनिश्चितकालिन तालाबन्दी समेत गरेका छन ।
फागुन २१ को प्रतिनिधि सभा सदश्य निर्वाचन समेत बहिष्कार गरेका स्थानीयले डम्पीङसाईडको संघर्ष जारी राख्ने गरि चुनावमा सहभागि हुने र फागुन १७ गते वडाअध्यक्षको अध्यक्षतामा बसेको बैठकमा अमरगढी नगरपालिकाले स्थानीय अगुवा, जनप्रतिनिधि, पूर्व जनप्रतिनिधि लगायत संघर्षरत जनतासँग छलफल नगरि निर्माण कार्य अगाडी बढाईए बहालवाला जनप्रतिनिधिले सामूहिक राजिनामा गर्ने चेतावनी सहितको निर्णय र जनतासँगको सहमति भए पनि वडाअध्यक्षको भूमिका फेरिएको आरोप लगाएका छन । एकातिर स्थानीय जनता बिस्थापित हुने खतरा बढेको छ भने अर्कोतिर जनताको जनजीवन, कृषिकर्म र स्वास्थ्यमा प्रत्यक्ष प्रतिकुल असर पर्नुका साथै नजिकै रहेको सुदूरपश्चिमको प्रसिद्ध उग्रतारा भगवती मन्दिर क्षेत्र पनि रहेकोले वातावरणिय प्रदुषण फैलिएर आम भक्तजन तथा पर्यटकमा नकारात्मक प्रभाव र सन्देश जाने विषयमा सरोकारवाला निकायको गम्भीर ध्यान नजानु बिडम्बनापूर्ण छ, उक्त निर्णय प्रकृयामा अमरगढी नगरपालिकाका प्रमुख, वडाध्यक्षहरु, कार्यपालिका सदश्यहरु, प्रमुख प्रशासकिय अधिकृत सहित प्राबिधिक तथा कर्मचारी, तत्कालिन प्रमुख जिल्ला अधिकारी पनि दोषि रहेको स्थानीय बताउँछन । डम्पीङसाईड तथा ल्याण्डफिल्डसाईडले स्थानीयको जनजीवनमा दुरगामी नकारात्मक प्रभाव पर्ने तर्फ सचेत भई स्थानीयबासीन्दाले पटक पटक अमरगढी नगरपालिका र जिल्ला प्रशासन कार्यालयलाई पनि ध्यानाकर्षण गराएका छौं, तर सुनुवाई नभएको संघर्ष समितिका संयोजक गंगा ताम्राकारले बताउनुभयो ।
व्यवस्थित र स्थायी डम्पीङसाईडका लागि कुल १५ करोडको लागतमा निर्माण हुने भनिएको डम्पीङसाईड करिब साढे ४ करोडको टेण्डर समेत भईसकेको उक्त योजनामा डम्पीङसाईड पहुँच मार्ग, साढे १४ रोपनी ५ आना जग्गामा कम्पाउण्ड वाल, साईट पर्खाल, गार्ड हाउस लगायत आवश्यक पूर्बाधार संरचना सहित निर्माणगर्ने भनिए पनि स्थानीय विश्वस्त हुन नसकेको र प्रकृया शुरु नहुँदै स्थानीयले आफूहरु प्रभावित हुने भन्दै सम्बन्धित सरोकारवाला निकायको ध्यानाकर्षण समेत गराएको स्थानीय सुरेश खडकाले बताए ।

करिब अढाई हजार जनसंख्या प्रत्यक्ष र दशौं हजार जनसंख्या अप्रत्यक्ष रुपमा प्रभावित हुने उक्त डम्पीङसाईडको मुनि पट्टि खानेपानीका मूल, करिब ७५ किलोमिटर सम्म तटिय क्षेत्रमा रहेका खेत तथा सिंचाई कुलो, सोहि खोलाका आसपासमा रहेका धार्मिक पर्यटकिय क्षेत्र, मठमन्दिरहरु, चरिचरन र स्थानीयको आवतजावत गर्ने मूलबाटो भएकाले दुरगामी वातावरणिय असर पर्नुका साथै फोहर केन्द्रमा हिंसक जंगली जनाबरको आक्रमणको त्रास स्थानीयमा रहेको प्रभावित क्षेत्रका महिलाको भनाई छ । संघर्ष समिति मात्र नभई अनपा वडा नंं ५ को कार्यालयले मिति २०८३ बेशाख ८ गते यस क्षेत्रमा निर्माण हुने भनिएको डम्पीङसाईडको बिकल्प खोज्न र समस्या समाधानका लागि पहल गर्न स्थानीय अमरगढी नगरपालिकालाई आग्रह सहितको लिखित पत्र पठाएको छ तर नगरपालिकाले उक्त पत्रको सन्देश र जनताको भावनालाई वेवास्ता गर्दै पछिल्लो समयमा स्थानीयको भेलाले निर्माण कार्यमा रोक लगाउन र जनताको संबैधानिक अधिकार संरक्षणका लागि सम्मानित उच्च अदालतमा अमरगढी नगरपालिकालाई विपक्षि बनाउँदै कानूनी उपचारमा जाने निर्णय समेत गरेको छ । जग्गा प्राप्ती नियम अनुसार विभिन्न निकायको मूल्यांकन सिफारिस बमोजिम जग्गा खरिद गरिए पनि स्थानीय जनतालाई न त सार्बजनिक सुनुवाई गरिएको छ न यसको बिस्तृत परियोजनाको प्रतिवेदन सार्बजनिक नै, स्थानीय जनताले पाउनु पर्ने सूचनाको अधिकार समेत कुण्ठित गरि निर्माण गर्न लागिएको योजना प्रति आफूहरु सहमत नहुने निवर्तमान वडा अध्यक्ष गोबिन्दराज भट्टले बताए ।
जग्गा खरिद गर्दा स्थानीयलाई अमिलो जात कागतीको खेती गर्ने भनिए पनि योजना कार्यान्वयनको चरणमा जाँदा डम्पीङसाईड निर्माणको कुरा सुनिए पछि स्थानीय झस्किनुका साथै प्रभावित समुदायसँग कुनै छलफल नगरिएको असन्तुष्टि व्यक्त गर्दै जनताको सहमति र दिगो व्यवस्थापनको सुनिश्चितताको भरपर्दो आधार विना बलपूर्वक सडक तथा संरचना निर्माण कार्य शुरु गरिएमा प्रतिकार समेत गरिने स्थानीयले चेतावनी दिएका छन ।
नयाँ ल्याण्डफिल्डसाईडका विषयमा प्रारम्भ देखि नै नियत ठिक देखिदैन, भिरालो जग्गा, खोला र खानेपानीका मूल तथा खुल्ला चरिचरन क्षेत्र समेत रहेको यो संबेदनशिल स्थान र सार्बजनिक महत्वको विषयमा नगरपालिकाले चाहेमा अन्य विकल्पहरु खाजेर समस्या समाधान गर्न सक्छ तर नगरपालिकाको नेतृत्व यस तर्फ उदासिन भएको प्रति स्थानीयले गुनासो र आक्रोस पोखेका छन । यसमा भएको राजनीति र व्यक्ति स्वार्थले कसैको हित गर्दैन, उनिहरुले जनताको पक्षमा काम गर्न र दिर्घकालिन समस्या समाधानका उपायहरु अबलम्बन गर्न जनप्रतिनिधिलाई सुझाव पनि दिएका छन ।




