अमरगढी रैबार सम्बाददाता
बैतडी, असार ७ । बैतडीको पञ्चेश्वरमा पहिरोले पहिरो सात घर विस्थापित भएका छन् । बस्तीमाथिबाट पहिरो खसेपछि पञ्चेश्वरका किसनराम औजी, रमेशराम औजी, देवानीराम औजी, गोविन्द राम औजी, धनीराम औजी र मदनराम औजीको परिवार विस्थापित भएका हुन् ।
पहिरो प्रभावित उक्त टोलका सात घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ । उनीहरुलाई स्थानीय देवथला माध्यमिक विद्यालयको भवनमा राखिएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । सात घरपरिवारका ५२ जना विस्थापित भएका छन् ।
पीडितहरुलाई गाउँपालिकाले खाद्यान्न राहत दिएको गाउँपालिकाका प्रवक्ता दशरथ मंगोलाले बताए । बस्तीमाथिबाट खनिएको कुलाउ–डिम्बरघाट सडकखण्डका कारण शनिबार बिहान पहिरो खसेको हो ।
