Amargadhi Post

डडेल्धुराको शैलेश्वरधाममा अतिरुद्र विश्वकल्याण विराट महायज्ञ हुने

लक्ष्मी ऐर 
डडेल्धुरा,फागुन, २७ गते । डडेल्धुराको अमरगढी नगरपालिका–७÷८ र नवदुर्गा गाउँपालिका–१ स्थित दोभानमा (शल्यनदी) अवस्थित शैलेश्वरधाममा अतिरुद्र विश्वकल्याण विराट महायज्ञ आयोजना हुने भएको छ ।
मूल आयोजक समितिले पत्रकार सम्मेलन गर्दै चैत्र २० गतेदेखि महायज्ञ सुरु हुने जानकारी दिएको हो । विश्वशान्ति र देशशान्तिको कामना गर्दै शैलेश्वर महादेवमा आयोजना गरिन लागेको महायज्ञको व्यवस्थापनका लागि १२८ सदस्यीय मूल आयोजक समिति गठन गरिएको मूल आयोजक समितिका अध्यक्ष तथा अमरगढी–७ का वडाध्यक्ष खडकबहादुर बोहराले जानकारी दिनुभयो ।
महायज्ञ चैत्र २० गतेदेखि ३० गतेसम्म लाग्नेछ । आयोजकका अनुसार २० गते शैलेश्वर अतिरुद्र विश्वकल्याण महायज्ञको शोभायात्रा शैलेश्वरबाट खनमडा भराण हुँदै उग्रतारा मन्दिर र पोखरा बजार ऐरीगाउँ पुसनो भडार र सल्लागाउँ भराणबाट बाजागाजासहित मन्दिर परिसरमा भराण देउघर हुँदै दिप प्रज्वलन वैदिक मन्त्रबाट समुउद्घघाटन हुनेछ ।
महायज्ञका प्रमुख ब्राह्मण जयप्रसाद जोशीले ५१ जना ब्राह्मणहरूले ११ दिनसम्म निरन्तर पूजा–आराधना गर्ने जानकारी दिनुभयो । उनले महायज्ञमा १ हजार ८ कलश राखिने बताउनुभयो । अर्थ संकलन समितिका संयोजक तथा वडा नम्बर ८ का वडाध्यक्ष नरबहादुर साँकीले महायज्ञमा ६०÷७० लाख खर्च हुने अनुमान रहेको बताउनुभयो । उनले एक करोड हाराहारी आर्थिक संकलनको लक्ष्य रहेको समेत जानकारी दिनुभएको छ । धार्मिक तथा आध्यात्मिक महत्त्व बोकेको यस विराट महायज्ञले समाजमा सकारात्मक ऊर्जा प्रवाह गर्ने विश्वास गरिएको छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।