लक्ष्मी ऐर
डडेल्धुरा,चैत्र २ गते । डडेल्धुरामा निशुल्क परिवार नियोजन शिबिर संचालन भईरहेको छ । स्वास्थ्य कार्यालय डडेल्धुराको आयोजना तथा सुनौलो नेपालको सहयोगमा सन्तानको रहर पुरा भएका पुरुष तथा महिलाहरूलाई लक्षित गरि निःशुल्क परिवार नियोजन शिविर सञ्चालनमा ल्याईएको हो ।
अनुभवी डाक्टरद्वारा महिलाहरूका लागि स्थायी बन्ध्याकरण (मिनिल्याप) र पुरुषहरूका लागि स्थायी बन्ध्याकरण (भ्यासेक्टोमी) निःशुल्क शिविर सञ्चालन भईरहेको स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराका परिवार नियोजन अधिकृत भवानसिंह कुँवरका अनुसार शिविर चैत १ र २ गते डडेल्धुरा अस्पताल, चैत ४ गते आलिताल स्वास्थ्य चौकी गोदाम र चैत ५ गते जोगबुडा अस्पतालमा सञ्चालन हुनेछ । उनले सन्तानको रहर पुगिसकेका महिला तथा पुरुषहरूले उक्त शिविरमा आएर सेवा लिन अनुरोध समेत गर्नुभएको छ ।
शिविरमा महिलाहरूका लागि पाखुरामा राख्ने इम्प्लान्ट सेवा र पाठेघरमा राख्ने आईयूसीडी सेवा उपलब्ध गराइने जनाइएको छ । मिनील्याप गर्न आउने महिलाहरूले खाना, नास्ता केही नखाई भोको पेट र एकजना आफन्त साथमा लिएर आउन समेत कुबरले जानकारी गराउनु भएको छ ।

