लक्ष्मी ऐर
डडेल्धुरा,चैत्र २ गते । चैत महिना सुरु भएसंगैं डडेल्धुरा,बैतडी बझाङ सहितका ९ वटै जिल्ला सुदूरपश्चिममा छोरी चेलीबेटीलाई भिटौला पर्व सुरु भएको छ ।
आमा बुबा छोरा छोरीसंगको प्रेम पर्वका रूपमा रहेको भिटौला खास गरेर डडेल्धुरा,बैतडी, दार्चुला, बझाङ, कैलाली, कञ्चनपुर र सीमावर्ती भारतीय गाउँतिर बिहे भइसकेकी चेलीबेटीलाई माइती पक्षका तर्फबाट दाजुभाइले भेट्ने चलनको रूपमा प्रचलित छ । चैत्र १ गते देखि चेलीबेटीलाई भेट्न सुरु भईसकेको छ । चैत महिना खडेरीको महिना पनि हो । यो महिनामा भण्डारण गरेर राखेको खाद्यान्न पनि सकिने हुनाले चेलीबेटीलाई माइतीले खानेकुरा लगेर भेट्ने चलन रहिआएको छ ।
नबदुर्गा गाँउपालिका १ की बेलुदेबी ऐरका अनुसार अहिले भिटौला पर्वको महत्व झन बढ्दै गएको बताउनु भएको छ । पुरानो पुस्तादेखि युवापुस्तासम्म यो संस्कृतिको निरन्तरता भइरहेको छ । होली पर्वको महत्वजस्तै सुदूरपश्चिममा यो पर्वको चलन निरन्तरता भइरहेको छ । भिटौलोमा माइतीले मीठो खानेकुरा र लुगाकपडा छोरी–बहिनीको घरमा पु¥याउने चलन छ । माइतीबाट आएको कोसेलीलाई प्रेमपूर्वक गाउँ छिमेकमा बाँड्ने चलन रहेको ऐरले जानकारी दिनुभयो । यसैगरी आलिताल गाउँपालिका–८ का जोगराज भट्टले भिटौला कार्यक्रम यो महिना भरी धुमधामका साथ मनाईने प्रचलन छ ।
पहिले मानिस खेतीपाती र घरधन्दामा व्यस्त हुने, सञ्चारको साधन नहुँदा वर्षभरि सञ्चो बिसञ्चोसमेत थाहा हुँदैन थियो। वसन्त ऋतुमा पराई घरमा छोरीचेलीलाई माइतीको सम्झना बढी आउने हुँदा यो चलन बसेको संस्कृतका जानकार लक्ष्मीदत्त पनेरुले बताउँछन । भिटौलोमा स्थानीय परम्पराअनुसार सेलरोटी, खीर, मालपुवा, हलुवा, गुड, मिश्री, फलफूल र क्षमताअनुसार लुगा र गहना समेत दिने चलन छ ।
यसले दाजुभाइ र दिदीबहिनीको प्रेम सम्बन्धलाई झन नजिक र आत्मीय बनाउने विश्वास रहिआएको छ ।




