Amargadhi Post

भूमि अधिकार तथा श्रमिक सङ्गठनको महाधिवेशन टीकापुरमा

एकिन्द्र तिमिल्सेना
टीकापुर, वैशाख २२ गते । भूमि अधिकार तथा श्रमिक सङ्गठन नेपालको दोस्रो राष्ट्रिय महाधिवेशन टीकापुरमा हुने भएको छ । नेकपा एमाले निकट सङ्गठनको दोस्रो महाधिवेशन वैशाख २३–२४ गते टीकापुरमा हुने र त्यसको तयारी पूरा भएको सङ्गठनले सोमबार पत्रकार सम्मलेनमार्फत जानकारी दिएको छ ।

नेकपा ९एमाले०का पोलिट ब्युरो सदस्य तथा सङ्गठनका केन्द्रीय अध्यक्ष शान्ता चौधरीले भूमिहिन, सुकुम्वासी, अव्यवस्थित बसोवास अत्याधिक भएको क्षेत्र टीकापुरलाई महाधिवेशनस्थल छानिएको बताउनुभयो । ‘जहाँ धेरै समस्या छ त्यही क्षेत्रमा सङ्गठनले महाधिवेशन गर्न लागेका छौं,’ अध्यक्ष चौधरीले भन्नुभयो, ‘भूमिहिन सुकुम्वासीलाई एक पटक जमिनको मालिक बनाउने सरकारको नीति अनुसार छिटो काम हुनुपर्छ भन्ने हाम्रो माग छ ।’ नेकपा ९एमाले० का केन्द्रीय सदस्य झपटबहादुर रावलले नेपालमा सबै भूमिहिनलाई जग्गा दिएर मालिक बनाउन अहिलेको सरकार लागिरहेको बताउनुभयो ।

टीकापुरमा मात्रै करिब नौ हजार ९०० जना भूमिहिन, सुकुम्वासी, अव्यवस्थित बसोवासीले जग्गा पाउन भूमि आयोगमा आवेदन दिएका छन् । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदशका विभिन्न जिल्लाबाट टीकापुर आएका अधिकांश मानिसहरू क्याम्पस तथा सङ्घ संस्थाका जग्गामा बसेकाले यहाँ जग्गा नापजाँचको काम सुरु हुन सकेको छैन ।

टीकापुरसँगै सीमा जोडिएका कैलाली र बर्दियाका पालिकाहरूमा पनि भूमिहिन सुकुम्वासीको सङ्ख्या ठुलो रहेको छ । महाधिवेशनमा देशका ६४ जिल्लाबाट ६०० जना प्रतिनिधि सहभागी हुने छन् । सहभागीहरूलाई नेकपा ९एमाले०को टीकापुरस्थित पार्टी कार्यालयमा खानपानको व्यवस्था मिलाइएको छ।

सहभागीको खानाका लागि पार्टीका शुभेच्छुकहरूबाट दाल, चामल, तरकारी सङ्कलन भैरहेको र नपुग भए किनेर व्यवस्थापन गरिने एमाले सुदूरपश्चिम प्रचार तथा प्रकाशन विभागका उपसंयोजक मातृका तिमिल्सेनाले बताउनुभयो ।

नेकपा ९एमाले०को उच्च नेतृत्व नै उद्घाटन सत्रमा आउने भएपछि पार्टी पङिक्त तयारीमा जुटेको छ । वैशाख १९ गते नै पार्टीका केन्द्रीय सचिव लेखराज भट्ट, पोलिट ब्यूरो सदस्य नारदमूनि राना, केन्द्रीय सदस्य झपट रावल, प्रदेश अध्यक्ष कृष्णप्रसाद जैसी, जिल्ला अध्यक्ष यज्ञराज ढुङ्गाना लगायतका नेताहरूको उपस्थितमा तयारी बैठक भएको छ। कार्यक्रम उद्घाटन गर्न प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओली आउने निश्चित नभए पनि पार्टीका महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल, पार्टी सचिव लेखराज भट्ट, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी, स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, सङ्गठनका संस्थापक अध्यक्ष रामप्रित पासवान, भूमि समस्या समाधान आयोगका अध्यक्ष हरि रिजाल पनि सहभागी हुने जानकारी दिइएको छ ।

 

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।