कार्यक्रम पहिल्यै धवलशम्शेर, रवीन्द्र मिश्र र राप्रपाका कार्यकर्ताले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए स् प्रसाईं
अमरगढी पोष्ट समाचार
डडेल्धुरा,जेष्ठ,१२ गते । राजावादीहरूले गत चैत १५ मा काठमाडौंको तीनकुनेमा गरेको प्रदर्शनमा प्रहरीमाथि ढुंगा प्रहार गर्नेमा राप्रपाका नेताहरू र सन्तोष राजावादीको टीम रहेको दुर्गा प्रसाईंले बयान दिएका छन् ।
प्रहरीसमक्ष प्रसाईंले दिएको बयानमा राजसंस्था पुनर्स्थापना गर्न भनी गरिएको प्रदर्शनमा प्रहरीमाथि ढुंगा प्रहार गरेका कारण बल प्रयोग गरिएको उल्लेख छ । सरकारी वकिलको कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा दायर गरेको मुद्दाको बयानमा प्रसाईंले कार्यक्रमस्थलभन्दा ३०० मिटर टाढा प्रहरीमाथि ढुंगा प्रहार भएको उल्लेख गरेका छन् ।
चैत १५ मा संसद् कब्जा गर्नुपर्छ भनी दिएको अभिव्यक्तिको पछाडि प्रदर्शनकारीमाथि प्रहरीको बल प्रयोगले निम्त्याएको आवेग रहेको उनको भनाइ छ । म आफू कार्यक्रम उद्घाटन गर्न आएको र कार्यक्रम सुरु गर्न नपाई जनआन्दोलन परिचालन संयोजकसमेत रहेका धवलशम्शेर राणा, सोही संगठनका सदस्यसचिव रवीन्द्र मिश्र र राप्रपाका कार्यकर्ता र सन्तोष राजावादीको टीमले समेतले कार्यक्रम स्थलभन्दा ३०० मिटर जति टाढा रहेको प्रहरीसँग अन्दाजी ४५ मिनेट अगाडि नै म घरबाट निस्कनासाथ निजहरूले प्रहरीमाथि ढुंगा प्रहार गरेको कारण प्रहरीले घरका छत तथा भुईंबाट अश्रुग्यास तथा गोली प्रहार गरी कार्यक्रम गर्न तयार पारिएको मञ्च लगायत घोषणासभामा भेला भएका सर्वसाधारण मानिसहरू बसेको ठाउँ महाभारतको कुरुक्षेत्र जस्तो रणभूमी बनाइ दिएको कारण म भावआवेगमा आई सो कुरा बोलेको हुँ,प्रसाईंको बयान छ ।
त्यतिबेला आफ्नो वरपर राप्रपाका कार्यकर्ता उभिएको पनि प्रसाईंको बयान छ । नवराज सुवेदी नेतृत्वको राजसंस्था पुनःस्थापनाको लागि संयुक्त जनआन्दोलन समितिको सदस्य तथा आन्दोलनको जनकमाण्डर भई कार्य विभाजनको काम मात्र आफूले गरेको उनले बयानमा भनेका छन् । तीनकुनेमा प्रदर्शनको मुख्य काम सुवेदी लगायतको भएको उनको बयानमा छ । यसको मुख्य कामचाहिँ सबै संगठनलाई मिलाउने, विभिन्न संगठनहरूलाई एक ठाउँमा व्यवस्थित बनाउने काम नवराज सुवेदी, जगमान गुरुङ, अस्मिता भण्डारी, रमा सिंह, कमल थापा, पशुपति शम्शेर राणा लगायतका व्यक्तिहरूले गर्ने हुन् र आन्दोलदन परिचालन समितिका संयोजक धवल शम्शेर राणा हुन्,प्रसाईंले भनेका छन्, निजको काम आन्दोलनको समयमा आन्दोलनकारीहरू घाइते भएमा घाइतेहरूको उपचार गर्ने र सबै कुराको व्यवस्थापन गर्ने काम गर्ने हो । त्यसमा मेरो कहीँ केही अन्य कुरा छैन । त्यस्तै, नेताका घरमा आगो लगाउनुपर्छ भनेर अभिव्यक्ति दिने व्यक्ति पनि राप्रपामा संलग्न रहेको प्रसाईंको बयान छ । संयुक्त जनआन्दोलन समिति समेतले आयोजना गरेको २०८१ चैत १५ गते तीनकुनेस्थित कार्यक्रममा कार्यक्रम संचालन हुनुपूर्व नेताको घर दैलो, घरदैलो आगो लगाउने हो अब । हामी यहाँ देउसो भैलो खेल्न आएको आएको होइन । अब त आगो लगाउने हो । अब जय नेपाल, जय राष्ट्रवादु भनी स्टेजमा दिएको मन्तव्य सहितको मिसिल संलग्न भिडियो क्लिप मलाई देखाउँदा देखी पाए । उक्त भिडियो क्लिपमा देखिएका मन्तव्य दिने व्यक्ति राप्रपाका व्यक्ति हुन्,उनले बताएका छन् ।
त्यस्तै, प्रसाईंले गत चैत १५ मा काठमाडौंको तीनकुनेमा राजावादीहरूले आगजनी, लुटपाट र तोडफोड गरेको अघिल्लो दिन पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेटेको बयान दिएका छन् । प्रहरीसमक्ष दिएको बयानमा चैत १४ मा शाहलाई निर्मल निवासमा भेटेको प्रसाईंको बयान छ । शाहसँग सम्बन्धित बयानमा प्रसाईंले भनेका छन्, यो नेताहरूबाट देश चल्दैन, तपाईं आफैं आएर देश चलाउनु पर्छ, हामी नेपालीहरूको अभिभावक हुनु पर्दछ, किनकि यो देश तपाईको जिजु बडा महाराजधिराज श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहले आर्जेको देश भएकोले तपाईं पुनः आउनुपर्यो भनेर म पटक पटक भेट्न गएको हुँ । मैले निजलाई २०८१ चैत १४ गते निजको निजी सचिव राजेश सिंहमार्फत निजकै निवास महाराजगञ्जमा रहेको निर्मल निवासमा भेट गरेको हुँ ।
ज्ञानेन्द्र शाहसँग आफ्नो राम्रो चिनजान रहेको पनि प्रसाईंले बयानमा उल्लेख गरेका छन् । नेपालका राजा ज्ञानेन्द्र शाहलाई राम्रोसँग चिन्दछु । निजसँग मेरो सम्बन्ध राजा र जनता बीचको सम्बन्ध हो । निजसँग मेरो विगत ५ वर्ष अगाडि देखि पटक(पटक भेट भइरहेको छ । निजसँग भेट गर्दा निजी सचिवमार्फत भेटघाट हुने गरेको थियो, प्रसाईंले भनेका छन् ।
ज्ञानेन्द्र शाहलाई भेटेपछि नवराज सुवेदीलगायतले प्रसाईंलाई जनकमाण्डर घोषणा गरेका थिए । त्यसको भोलिपल्ट भएको आगजनीमा दुई जनाको मृत्यु भएको थियो । साथै, निजी र सरकारी सम्पत्तिमा तोडफोड, लुटपाट र आजगनी गरिएको थियो । प्रसाईं हाल प्रहरी हिरासतमा छन् भने धवलशम्शेर जबरा र मिश्र सर्वोच्च अदालतको आदेशले रिहा भएका छन् ।











