लक्ष्मी ऐर
डडेल्धुरा,जेष्ठ ३० गते । डडेल्धुराका अधिकाँस स्वास्थ्य संस्थाहरुमा औषधीको अभाब देखिएको छ । डडेल्धुराका सातवटै स्थानिय तहमा रहेका ७२ वटै स्वास्थ्य संस्थाहरु मध्ये अधिकाँसमा औषधी अभाबले बिरामीहरु समस्यामा परेका हुन ।
सरकारले ९८ किसिमको आधारभुत तहको औषधी नि शुल्क रुपमा दिने घोषणा गर्दे आईरहेको भएपनि स्वास्थ्य केन्द्रहरुमा प्रयाप्त औषधीहरु नहुँदा बिरामीहरुले उपचार पाउन सकिरहेका छैनन । गर्मि मौसमका कारण बिभिन्न खालका बिरामीहरु आधारभुत स्वास्थ्य चौकी तथा सामुदायिक स्वास्थ्य सेवा केन्दमा पुग्ने गरेपनि औषधी अभाबका कारण बिरामीहरुले उपचारबाट बञ्चित हुदै आईरहेको स्थानीयहरुको गुनासो छ । गाँउ गाँउमा रहेका स्वास्थ्य केन्द्रमा औषधी अभाब हुदै आएपनि स्थानीय सरकारको खासै ध्यान जान नसक्दा सेवाग्राहीहरु मर्कामा कुरा छोडौं सामान्य औषधी समेत स्वास्थ्य चौकीमा भेटिन छोडेको परशुराम नगरपालिका वडा नं.७ का स्थानीयबासी कमलसिह साँउदले बताउनुभयो ।
सादनी स्वास्थ्य चौकीमा लामो समय देखि औषधीको अभाब देखिदै आएको भएपनि परिपुर्ति नहुदा बिरामीहरुले सास्ती भोग्नु परिरहेको साँउदको गुनासो थियो । साँदनी स्वास्थ्य चौकीका प्रमुख संर्घष धामीले औषधीको अभाबका कारण बिरामीहरुले खोजे अनुसारको औषधी दिन नसकिरहेको स्विकार गर्नुभयो । उहाँले भन्नुभयो— बिरामीको चाप र जनघनत्वको आधारमा औषधी आउदैन दामासायी ढगंबाट जिल्ला र पालिकाबाट औषधी आउने गर्छ त्यसले परिपुर्ति हुन नसक्दा बिरामीहरुले उपचार पाउन नसकेको गुनासो गर्नु स्वभाबिक रुपमा हो । पालिका र जिल्ला स्वास्थ्य कार्यालयलाई पटक पटक औषधीको माग गर्दे आईरहेको भएपनि औषधी प्राप्त हुन नसकेको स्वास्थ्य चौकी सादनीका प्रमुख धामीले बताउनुभयो । समस्या सादनी स्वास्थ्य चौकीको मात्रै होईन जिल्लाभरीका अधिकास स्वास्थ्य सेवा केन्द्रमा औषधीको अभाब हुदै आएको छ । जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख केशरबहादुर साँउदले बजेट अभाबका कारण माग अनुसारको औषधी दिन नसकीएको स्विकार गर्नुभएको छ । स्वास्थ्य चौकीहरुमा औषधीको अभाब भईरहेको गुनासो बेलाबखतमा आउने गरेको जानकारी दिनुहुदै साँउदले स्थानीय सरकारहरुले औषधी आपुर्ति गर्नमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराले बर्षभरीका लागी औषधी खरिदमा जम्मा २६ लाख बजेट आएको बताउनुहुदै प्रमुख साँउदले टेण्डर मार्फत खरिद गर्दा १५ लाखमा टेण्डर स्विकृत भएको बताउनुभयो ।
१५ लाख बराबरको औषधी ७२ वटै स्वास्थ्य संस्थामा बितरण गर्दा कति पुग्यो होला सहजै अनुमान गर्न सकिन्छ भन्दै प्रमुख साँउदले अति आबश्यक औषधीको अभाब हुन दिईरहेका छैनौं बाकी औषधीको सन्र्दभमा अभाब स्वभाबिक रुपमा रहदै आएको बताउनुभयो । औषधीको अभाब खड्कीरहदा पनि स्थानीय तहहरु बेखबर बनीरहेको ब्यापक गुनासो छ । स्थानीय तहहरुले बार्षिक बजेट बिनियोजन गर्दा स्वास्थ्य क्षेत्र प्राथमिकतामा नपर्ने भएका कारण यो समस्या आउन थालेको कर्मचारीहरु बताउँछन । अधिकाँस स्थानीय तहहरुको बजेटको सिलिङ हेर्दा बर्षभरीका लागी औषधी खरिदमा २० देखि ३० लाख सम्म बजेट बिनियोजित गर्दे आएको देखिन्छ ।
पालिकाले एकमुष्ट औषधी खरिद नगरी कोटेशन मार्फत औषधी खरिद गर्न थालेपछि औषधीको गुणस्तर सगैं मिलोमतोको आशंंका समेत बढ्न थालेको छ । स्थानीय सरकार तालिम, गोष्ठी,भ्रमण,सवारी साधन खरिद,डिपिआर लगायतमा करोर्डौ खर्च गरिरहेको भएपनि स्वास्थ्य जस्तो संम्बेदनशिल क्षेत्रमा न्युन बजेटका कारण र्औषधी अभाब हुन थालेको हो । सरकारले हरेक नागरिकको निशुल्क स्वास्थ्य उपचार गर्ने सरकारी घोषणाको पुर्णतया कार्यान्वयन हुन नसक्दा स्वास्थ्य सेबाबाट बिरामीहरु बञ्चित हुदै आईरहेका छन ।




