मानबहादुर साउद
डडेल्धुरा,जेष्ठ ३० गते । डडेल्धुराको भागेश्वर गाँउपालिकाका जनप्रतिनिधी र कर्मचारीहरुले कानुन बिपरित रुपमा घर भाडा लिदै आएको खुलासा भएको छ ।
गाँउपालिका अध्यक्ष र कर्मचारीहरुले घर भाडा भन्दै एक आर्थिक बर्षमा मात्रै आठ लाख रुपैया बुझेपछि अनियमित भएको ठहर भएको छ । महालेखा परिक्षणको कार्यालयले २०८०÷०८१ को बार्षिक प्रतिबेदन सार्बजनिक गर्दे भागेश्वर गाँउपालिकाका अध्यक्ष हेमराज चटौतले घरभाडा बाफत १ लाख २८ हजार ४९६ रकम र कर्मचारी तथा पदाधिकारीका लागी घरभाडा बाफत एक बर्षको ६ लाख ७० हजार गरि ७ लाख ९८ हजार ४९६ रुपैया गैर कानुनी रुपमा खर्च भएको बताईएको छ ।
अध्यक्ष चटौतले पालिकामा नबसेर जिल्ला सदरमुकाम अमरगढी नगरपालिका ५ मा घर भाडामा लिएर बस्दै आएका छन । महालेखा परीक्षकको प्रतिवेदन अनुसार अध्यक्षको नाममा प्रति महिना रु १४२७३ का दरले ९ महिनाको रकम बुझेको प्रतिबेदनले उल्लेख गरेको छ । २०८० श्राबणमा भएको सम्झौता बमोजिम घरभाडामा लिई ९ महिनाको १ लाख २८ हजार ४९६ रुपैया घरधनीलाई भुक्तानी भएको देखिएको छ ।
यसैगरी कर्मचारी तथा पदाधिकारीका नाममा ६ लाख ७० हजार घरभाडा रकम बुझेको छ तर कर्मचारी तथा पदाधिकारीको नाम भने उल्लेख गरेको छैन । स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूको सुविधा सम्बन्धी ऐन, २०७५ को दफा २७(१) अनुसार गाउँपालिका अध्यक्ष र अन्य पदाधिकारीलाई सुविधा दिदै आएपनि घरभाडा सुबिधा भने दिएको छैन ।
कर्मचारीहरु तथा पदाधिकारीहरुको आवास सुबिधाको रुपमा कोठा भाडा उपलब्ध गराउने कानुनी ब्यबस्था नभएकोले यस्तो भुक्तानी कानुन बिपरित भएको प्रतिबेदनले औल्याएको छ । कानुनमा हुदै नभएको सेवा सुबिधा लिने जनप्रतिनिधी र कर्मचारीहरु जिम्मेवार बन्ने की नबन्ने बिषय गम्भिर हो ।




