Amargadhi Post

मंगलसेन बजारमा सडकमै धान रोपियो

मेनुका ढुंगाना
अछाम,असार १७ गते । जिल्ला सदरमुकामसमेत रहेको मंगलसेनको बीच बजार हिलाम्य भएपछि स्थानीयले सडकमा रोपाइँ गरेर विरोध जनाएका छन् ।बजारको मुख्य सडक हिलाम्य भएको भन्दै सडकमा गोरु जोतेरै विरोध गरिएको हो । बजारको मुख्य आकर्षण सडक भए तापनि अहिलेसम्म बनिनसक्दा स्थानीयले दुःख पाएको स्थानीय राजेशप्रसाद भाटले बताए ।

‘मंगलसेन बजारदेखि जिल्लाका सम्पूर्ण विद्यालय र क्याम्पसहरुमा जाने बाटो यही हो । ३र४ हजार बच्चाहरुले हरेक दिन यही बाटो हिँड्नु पर्छ । केही बच्चाहरु दिनकै लडेर चोटपटक लागिहेको छ,’ उनले भने, ‘सबैका अभिभावक बच्चालाई स्कुलमा पुर्‍याउन र लिन आउन भ्याउँदैनन् । कामको सिजन छ ।’

हरेक पटक मंगलसेन बजारको सडक बन्नु पर्छ भनेर आवाज उठाउँदा पनि कसैले वास्ता नगरेको उनको गुनासो छ । ‘बजारको सडकमा जहिल्यै समस्या भइरहेपछि यताकै स्थानीयका गोरु ल्यायौं । गाउँमा भएका खेतबाट बिउँ ल्याएर विरोध गरेका हौं,’ उनले भने,‘विरोध गर्नका लागि स्थानीय व्यापारीले पनि साथ दिए । ’

२०६७ सालमा मंगलसेनको जीरो प्वाइन्टदेखि जिल्ला अस्पतालसम्म ६ मिटरको सडक बनाउन पहल भए पनि अहिलेसम्म सडकको अवस्था उस्तै रहेपछि स्थाीय युवाहरु एकजुट भएर विरोध स्वरुप रोपाइँ गरिएको स्थानीय बसन्त भाटले बताए । ‘२०६७ सालमा यही सडक विस्तार गर्ने भन्दै मेरो लगायत मंगलसेनका धेरैको घर भत्काइए । ६ मिटर बाटो बन्नुपर्छ भनेर हामीले पनि सहयोग गर्‍यौं । अहिले ८ मिटर सडक बनाउने अवधारण ल्याइएको छ । तर ६ मिटर सडक पनि विस्तार हुन सकेको छैन,’ उनले भने,‘स्थानीय सरकारले अरुकै मुख ताक्नु पर्ने, प्रदेश संघ सरकारले कहिल्यै पनि मंगलसेनलाई वास्ता नगर्ने परिपाटी चलेको छ । अब त अत्ति भयो भनेर हामीले विरोध गरेका हौं ।’
मंगलसेन बजारदेखि क्याम्पससम्मको सडक निर्माण भइरहेको र निर्माणको समयमा सडकमा हिलो हुनु स्वाभाविक भएको मंगलसेन नगरपालिकाका नगर प्रमुख पदम बोहराले बताए । ‘गाउँमा मान्छे नपाएर, गोरु नपाएर ठूला ठूला खेत बाँझै छन् । यही सडकमा विरोध गर्न आएका कतिका आफ्नै खेत गाउँमा बाझै छन् । निर्माण भइरहेको सडकमा विरोधको नाममा विरोध गरिरहेका छन् । यसले नगरपालिकालाई केही फरक पर्दैन,’ उनले भने,‘यो पहिले नै बन्नु पर्ने सडक हो । यहाँका केही स्थानीयले सडकका लागि एक इञ्च जग्गा नदिने अडान राखेपछि हामीले सडक विस्तार गर्न सकेनौं । विकासका लागि सहजीकरण नगर्दिनेहरुले अहिले विरोध गरिरहेका छन् । विकासको चिन्ता भए किन सहज वातावरण नबनाइ दिएको रु’

दुई पटक नगर प्रमुख भएका बोहराले पटकपटक स्थानीयको असहयोगका कारण अप्ठ्यारो अवस्था सिर्जना भएको बताए । ‘२०६६ सालमा मंगलसेन बजारभित्रको बाटो ६ मिटर बनाउनु पर्छ भनेर मैले आवाज उठाउँदा त्यतिबेला कांग्रेस, एमाले, स्थानीय सबै मेरा विरुद्धमा लागे । मंगलसेनमा हाटबजार बनाउन लगानी गर्‍यौं त्यता पनि असहयोग गरे । मंगलसेनलाई बन्न नदिने यहाँकै स्थानीयको हात छ ।’

सडकको स्तारोन्नतिका लागि ६६ लाखमा ठेक्का परेको र रकम अपुग भएको भन्दै निर्माण व्यवसायीले काम गर्न नसकिने बताएपछि काममा केही ढिला भने भएको नगरप्रमुख बोहराले स्विकारे । ‘निर्माण व्यवसायीले काम गर्न छोडेको होइन । बजेट अपुग भएपछि निर्माण व्यवसायीले नयाँ रेट खोजे । हामीले दिन सकेका छैनौं । हाम्रो तालमेल मिलेको छैन । समाधान छिट्टै निकाल्छौं,’ उनले भने ।

मंगलसेन बजारभित्रको बाटोलाई विस्तार गर्न विभिन्न राजनीतिक दलहरुले चुनावी एजेण्डा बनाउने तर काम नगर्ने गरेका कारण स्थानीय आक्रोशित भएका छन् । २०७४ सालमा प्रतिनिधिसभामा अछाम क्षेत्र नम्बर २ बाट एमालेबाट निर्वाचित यज्ञ बोगटी र प्रदेशसभामा निर्वाचित बलबहादुर सोडारी पनि मंगलसेन नगरपालिकाका स्थानीय हुन् । त्यस्तै २०७९ सालमा प्रतिधिसभामा कांग्रेसबाट निर्वाचित पुष्पबहादुर शाह र प्रदेशसभामा निर्वाचित मानबहादुर रावल पनि मंगलसेन नगरपालिकाकै स्थानीय हुन् । लगातार दुई पटकसम्म प्रदेश र प्रतिनिधिभिामा मंगलसेनकै नेताहरु पुग्दा पनि सदरमुकामको बाटो बन्न नसकेको स्थानीयको आरोप छ ।

कांग्रेस जिल्ला सभापति पुष्पबहादुर शाह र एमालेका जिल्ला अध्यक्ष शिवप्रसाद उपाध्याय सदरमुकाम नै रहेको मंगलसेन नगरपालिका(५ का स्थानीय हुन् ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।