Amargadhi Post

नागरिक उन्मुक्ति संघ र प्रदेश सरकारबाटै अलग

कुलचन्द्र न्यौपाने
काठमाडौँ — नागरिक उन्मुक्ति पार्टीले संघ र प्रदेश सरकारबाट अलग हुने निर्णय गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । संघमा एक राज्यमन्त्री लिएर सहभागी भएको उन्मुक्ति पार्टी सुदूरपश्चिम, लुम्बिनी र मधेस प्रदेश सरकार सामेल थियो ।
नागरिक उन्मुक्ति पार्टीको यो निर्णयसँग संघीय प्रदेशमा मात्रै नभएर संघीय सरकारले समेत विश्वासको मत लिनुपर्ने झमेला बेहोर्नु परेको छ । संविधानको धारा १०० उपदफा २ मा ‘प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासका मतको लागि प्रतिनिधिसभा समक्ष प्रस्ताव राख्नु पर्नेछ’ भन्ने उल्लेख छ । संविधानको त्यस्तै व्यवस्था संविधानको धारा १८८ को उपधारा २ मा उल्लेख छ ।
संघीय सरकारमा उन्मुक्ति पार्टीबाट संसदीय दलका सचेतक अरुण कुमार चौधरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री छन् । संसदीय दलका नेता गंगाराम चौधरीको अध्यक्षतामा शनिबार बसेको दलको बैठकले संघीय सरकारबाट अलग हुने निर्णय गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएर पार्टी प्रतिपक्षमा बस्ने निर्णय गरेको हो ।

‘नागरिक उन्मुक्ति पार्टी हाल सम्म सरकारको सत्ता पक्षमा बसेर समर्थन गरिरहेकाले सरकारबाट राखेको अपेक्षा बमोजिम काम नभएको हुनाले आजको मिति देखि नेपाल सरकारको संघीय र प्रदेश लगायत सबै ठाउँहरूमा समर्थन फिर्ता लिई प्रतिपक्ष बेन्चमा बस्ने र नेपाल सरकारको पर्यटन, संस्कृत तथा नागरिक उड्डयन मन्त्रालयको राज्य मन्त्री रहेका अरुणकुमार चौधरी लाई सरकारबाट फिर्ता बोलाउने निर्णय सर्वसम्मतिबाट पारित गरियो’ नागरिक उन्मुक्ति पार्टीको शनिवार बसेको संसदीय दलको निर्णयमा भनिएको छ ।
उन्मुक्ति पार्टीको निर्णयले संघ र प्रदेश सरकारको समीकरणमा तत्काल तलमाथि हुने अवस्था नदेखिए पनि संविधान बमोजिम विश्वासको मत लिनुपर्ने हुन्छ ।पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले राज्यमन्त्रीले आइतबार प्रधानमन्त्रीलाई भेटेर राजीनामा बुझाउने जानकारी दिइन् । उनका अनुसार सुदूरपश्चिम, लुम्बिनी र मधेस प्रदेश सरकारबाट समेत पार्टी अलग भइसकेको र समर्थन समेत फिर्ता लिइएको बताइन् ।
सरकारबाट फिर्ता हुनुका पछाडिको कारण भने सुदरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीलाई गत बिहीबार बर्खास्त गर्नु हो । अध्यक्ष श्रेष्ठले आफूहरूसँग छलफल नगरी मन्त्रीबाट हटाइएकोले सरकारमा बस्नुको औचित्व नभएको बताएकी छिन् । ‘जनताको म्यान्डेट बमोजिम प्रतिनिधित्व, समावेशीको आदर्शको नीति अनुसार सरकारमा सहभागी भएका थियौँ, तर पछिल्लो समय सरकारको निर्णय प्रक्रियामा पारदर्शिता, सम्मानजनक व्यवहारको गम्भीर अभाव देखियो’ श्रेष्ठले कान्तिपुरसँग भनिन,‘सुदूरपश्चिम, लुम्बिनी र मधेश प्रदेश सरकारमा हाम्रो प्रतिनिधिको वेवास्ता गर्दै गरिएको व्यवहारलाई गम्भीरताका साथ लिएर यो निर्णय गरेका हौँ’ उनले भनिन्, ‘सरकारबाट अलग्गिने निर्णय पार्टीको सर्वसम्मत निर्णय हो ।’

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।