Amargadhi Post

तामाका भाँडाकुडा बनाउने पेशा संकटमा

लक्ष्मी ऐर 
डडेल्धुरा, असार २३ गते । विभिन्न आधुनिक प्रविधिका सामग्री भित्रिएसँगै तामाका भाडाकुडा बनाउने पेशा संकटमा परेको छ ।
गाउँघरमा हातले कुँदेर बनाईएका तामाका भाँडा नयाँ प्रविधिको प्रयोगमा आएपछि दिन प्रति यो पेशा संकटमा मात्रै होईन तामाका भाडाकुडाहरु हराउन थालेका छन ।
यी सामानको सट्टामा अहिले बजारमा आधुनिक उपकरणबाट उत्पादित सामान भित्रिन थालेका छन । तामाको भाँडाको सट्टामा स्टिल, प्लास्टिकका भाँडाको प्रयोग बढ्दोक्रममा छ । अमरगढी नगरपालिका –६ छचोडाका लक्ष्मी ताम्राकारको घरमा कुनै समय नयाँ भाँडा बनाउने, पुरानो तामाका भाँडालाई नयाँ स्वरुप र शैलीमा फरक किसिमको बनाउने गरिन्थ्यो तर आजभोलि कारोबार सुनसान बनेको उनको गुनासो थियो ।
आफूलाई धातुका र तामाका आकर्षक भाँडाकुँडा बनाउने सीप भएपनि बजार नपाउँदा आफ्नो कला र सिप समेत हराउन थालेको उनले सुनाए । बजारमा नयाँ तथा आर्कषक भाँडाले कब्जा जमाएसँगै तामा र फलामबाट बनेका भाँडाकुँडाले बजार पाउन नसकेको उनको भनाई थियो । आधुनिक उपकरणद्वारा निर्मित सामग्री बजारमा आउन थालेपछि प्रतिस्पर्धा गर्न नसक्नु, तामाका सामग्रीको उपयोग कम हुँदै जानु लगायत कारणले गर्दा विस्थापित हुन पुगेको उहाको भनाई थियो ।
स्थानीय प्रविधिको उपयोग गरी निर्मित अमखोरा, तमौरा, गाग्री, मानालगायत वस्तु अहिले लोप हुँदै गएका पुराना आरन व्यवसायी तेजबहादुर ताम्राकारले बताउनुभयो । डडेल्धुराको अमरगढी नगरपालिकाको छचोडा, कोटेली, पोखरा आलितालको डोला, गाङखेत, हर्तका लगायत २५ भन्दा बढी ठाउँका आरन व्यवसायीले यही पेसाबाट दैनिकी गुजरा चलाउदै आएका थिए । पछिल्लो समय कारोबार घट्दै गएपछि व्यवसाय हराउने जोखिम बढ्नुका साथै विदेश जाने युवाको सङ्ख्या पनि बढ्दै गएको ताम्राकारले बताउनुभयो ।
जिल्लालाई तामाका भाँडाका लागि प्रख्यात बनाउन सकिने सम्भावना भए पनि कुनै निकायले संरक्षणका लागि पहल नगर्नु चिन्ताको विषय भएको आरन व्यवसायीको दुखेसो छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।