Amargadhi Post

साँदनी खोलाको टापुमा फसेका महिला र बालिकाको सुरक्षा टोलीद्धारा उद्धार गरियो

लक्ष्मी ऐर 
डडेल्धुरा, असार २६ गते । लगातारको वर्षासँगै खोलानालामा पानीको बहाव उच्च भइरहेका बेला डडेल्धुराको परशुराम नगरपालिकामा एक जना महिला र एक जना बालिका साँदनी खोलाको टापुमा फसेपछि तत्काल सुरक्षा टोलीले उद्धार गरेको छ ।

इलाका प्रहरी कार्यालय जोगबुढाका प्रमुख प्रहरी निरीक्षक सुरज रोकायाको कमाण्डमा खटिएको नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा स्थानीयको सहयोगमा उनीहरूको सकुशल उद्धार गरिएपछि उनीहरुको जिबन रक्षा गरिएको छ । दिउँसो परशुराम–६, तातापानीका दीप सिंहकी श्रीमती करिब २५ वर्षीया भुवनेश्वरी सिंह र सोही ठाउँ बस्ने १२ वर्षीया रितु भारती गोरु चराउन नजिकैको जंगल गएको बेला अचानक साँदनी खोलामा पानीको बहाव तीव्र भइ उनीहरू खोलाको टापुमा फसेका थिए । स्थानीयले देखेपछि तत्कालै प्रहरीलाई खबर गरिएको थियो ।


खबर पाउने बित्तिकै इलाका प्रहरी कार्यालय तातापानी र सशस्त्र प्रहरी बलको संयुक्त टोली उद्धारका लागि घटनास्थलमा पुगेको थियो । प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको समन्वयमा खोलामा फसेका दुवैलाई सुरक्षित रूपमा उद्धार गर्न सकिएको प्रहरी निरीक्षक रोकायाले जानकारी दिनुभएको छ । यसका साथै सोही क्षेत्रमा रहेको पुन्तुरा खोलाको बहावसमेत बढेपछि त्यहाँबाट आवतजावत गरिरहेका सर्वसाधारणको समेत सुरक्षात्मक रूपमा उद्धार गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले महाकाली नदी, रंगुन खोला, पुन्तुरा खोला, सादनी खोला र अन्य खहरे खोलाहरुमा निरन्तर पानीको बहाव बढ्दै गएकाले त्यस आसपासका बासिन्दालाई विशेष सतर्क रहन र खोलातिर नजान आग्रह गरेको छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।