Amargadhi Post

डडेलधुरामा जेब्रा क्रसिङ निर्माणकार्य सुरु

लक्ष्मी ऐर 
डडेल्धुरा, असार २७ गते । डडेलधुराको मुख्य बजार क्षेत्र र आवागमन बढी हुने स्थानहरूमा बिहीबारदेखि जेब्रा क्रसिङ निर्माण कार्य कार्य सुरु भएको छ । जिल्ला प्रहरी कार्यालय डडेलधुराको अगुवाइमा सुरु भएको अभियानअन्तर्गत प्रारम्भिक चरणमा बागबजार र बसपार्क क्षेत्रमा जेब्रा क्रसिङ बनाइएको हो । डडेलधुरामा पहिलो पटक जेब्राक्रसिङ बन्न लागेको हो ।

स्थानीय मनोज जोशीले जेब्रा क्रसिङको स्थापना प्रति आभार व्यक्त गर्दै स्थानीय पैदल यात्रुहरूका लागि यो संरचना उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । ‘हामीजस्ता दैनिक सडकपार गर्नुपर्ने सर्वसाधारणका लागि यो निकै सहयोगी छ । जिम्मेवार निकायलाई धन्यवाद छ,’ उनले भन्नुभयो । अमरगढी नगरपालिका–५ का वडाध्यक्ष टंकबहादुर क्षेत्रीले सबै पक्षको सहकार्यमा जेब्रा क्रसिङ राख्न सम्भव भएको बताउँदै सडक सुरक्षा सुनिश्चित गर्न यस्ता संरचनाहरू आवश्यक रहेको धारणा राख्नुभयो । उनले प्रहरी र स्थानीयवासीबीचको समन्वयको परिणामस्वरूप अहिले यो काम सम्भव भएको बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सुगन्ध श्रेष्ठले जेब्रा क्रसिङको माध्यमबाट ट्राफिक व्यवस्थापनमा सहजता आउने अपेक्षा गर्नुभयो । उनले सवारीसाधन र पैदलयात्रुको चाप बढी हुने ठाउँमा यस्ता संरचना आवश्यक हुने भएकाले बजारक्षेत्रमा यो काम सुरु गरेको बताउनुभयो ।


उनका अनुसार जेब्रा क्रसिङ बनाइएका ठाउँमा जनचेतनामूलक साइनबोर्डहरूसमेत राखिएको छ। पैदल यात्रु र चालक दुवैको सुरक्षालाई ध्यानमा राखेर विभिन्न स्थानमा सूचना बोर्डहरू राखिएको समेत जानकारी दिनुभयो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेलधुराका प्रमुख तथा प्रहरी नायब निरीक्षक (सई) हर्कबहादुर साँउदले जेब्रा क्रसिङको प्रयोगले सडक दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने बताउनुभया्े । डडेलधुरामा पनि जेब्रा क्रसिङ प्रयोगको संस्कार बसाल्न थालिएको र यसले दुर्घटनाको जोखिम कम गर्नुका साथै पैदल यात्रुलाई सहज हुने विश्वास लिएको उहाको भनाई थियो ।


उनले भने ‘सडकपार गर्दा जेब्रा क्रसिङ प्रयोग गर्नु सबैको दायित्व हो ।’ जिल्ला प्रहरी कार्यालयका अनुसार तुफानडाँडा, कीर्तिपुर, पोखरा, स्याउले र भातकाँडा क्षेत्रमा समेत जेब्रा क्रसिङ बनाउने तयारी गरिएको छ । जेब्रा क्रसिङको अभावमा दुर्घटनाको जोखिम रहेको भन्दै यस अघि पटक–पटक आवाज उठ्दै आएको थियो ।

 

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।