ज्ञानकुमार श्रेष्ठ
नेपालको कम्युनिष्ट आन्दोलनको इतिहास गठन, विघटन, पुनर्गठन, एकता र विभाजनको चक्रमा निरन्तर घुमिरहेको छ। पुष्पलालले पार्टी गठन गर्नुभयो, रायमाझीले विघटन गर्नुभयो, मदन भण्डारीले ‘जनताको बहुदलीय जनवाद’ प्रतिपादन गर्नुभयो र अहिलेको सन्दर्भसम्म आइपुग्दा विचार, वर्ग र सिद्धान्तभन्दा पनि व्यक्ति, अवसर र सत्ताको समीकरण हाबी भइरहेको छ।
२०५६ सालको आम निर्वाचनतिर फर्किँदा एमालेको बहुमत आउन सक्ने अनुमानले दक्षिणपन्थी शक्तिहरूमा हलचल ल्यायो। त्यही समयमा बामदेव गौतम प्रयोगमा परेर पार्टी विभाजन भयो। उहाँको नेतृत्वमा नेकपा माले बने पनि त्यो प्रभावशाली बन्न सकेन। जनताको समर्थन फेरि एमालेतर्फै मोडियो। पछि गौतम एमालेमै फर्किनुभयो, तर आफ्ना धेरै अनुयायीहरू माओवादीमा पठाउनुभयो।
बामदेव गौतमको अवसरवादी राजनीति र नेतृत्व विहीनता
बामदेव गौतमको भूमिका त्यति बेला समेत विवादित रह्यो जब माधव नेपाल प्रधानमन्त्री रहनुभएको बेला उहाँले माओवादी अध्यक्ष प्रचण्डलाई सत्तासीन गराउन समर्थन हस्ताक्षर गर्नुभयो र राजधानी घेर्ने अभियानमा माओवादीलाई साथ दिनुभयो। नेकपा एमालेको तत्कालीन माधव कुमार नेपाल प्रधानमन्त्री रहेको सरकार विघटन गरी नेकपा माओवादीका अध्यक्ष प्रचण्डलाई सरकार हस्तान्तरण गर्न ६० जनाको हस्ताक्षर गरी समर्थन गर्दै नेकपा माओवादीलाई राजधानी घेर्न आह्वान गर्ने बामदेव गौतम नै हुनुहुन्छ ।
पछिल्लो कालमा एमाले र माओवादी एकीकृत भई बनेको नेकपामा अध्यक्षद्वयको रूपमा केपी शर्मा ओली र प्रचण्डबीच सहमतिको नेतृत्व कायम थियो। ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटीसहित दुईतिहाइको सरकार सञ्चालनमा रहेको बेला फेरि बामदेव गौतमले माधव नेपाल र प्रचण्डसँग मिलेर ओलीलाई साधारण सदस्यसमेत नरहने गरी कारबाहीको प्रस्ताव गर्नुभयो। यस निर्णयले नेकपाभित्र गहिरो ध्रुवीकरण गरायो।
सर्वोच्च अदालतले एकता असंवैधानिक भन्दै नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई छुट्टाछुट्टै रूपमा मान्यता दिएपछि माधव नेपाल र झलनाथ खनाल अदालतको आदेशअनुसार आफूहरू एमालेमै फर्किएको घोषणा गर्न बाध्य हुनुभयो। तर बामदेव गौतम भने न एमाले, न माओवादी, न समाजवादी पार्टीमा मिसिनुभयो, अवसरको खोजीमा भौतारिनुभयो।
माधव नेपालको आत्मविरोधाभासी निर्णय र भ्रम
एमाले फर्किएको कुरा सार्वजनिक गर्नुभएका माधव नेपाल केही समयपछि आफैँले १४ जनाको सानो टोलीलाई लिएर नयाँ पार्टी नेकपा एकीकृत समाजवादी गठन गर्ने निर्णय गर्नुभयो। उहाँसँग १४ मध्ये ४ जना मात्रै अनुभवी नेता थिए । बाँकी असमर्थ र अस्थायी राजनीतिमा रमाइरहेका पात्रहरू। यो बिचमा त्यस्तो पार्टीमा बामदेव गौतम जस्तो चरम अवसरवादी नेतालाई आफूसँग मिसाएर समाजवादी आन्दोलन अगाडि बढाउने सपना देख्नु माधव दिवास्वप्न मात्रै सावित हुने प्रस्ट छ।
माधव नेपालले चरम अवसरवादी बामदेव गौतमलाई आफ्नो झुण्डमा सामेल गर्ने निर्णय सारा नेपालीको बीचमा माधव आदर्शवान व्यक्ति, शालिन व्यक्ति, पार्टीभित्रको आन्तरिक जीवनमा अन्तरसघर्षको क्रममा टकरावले पार्टीमा रहन सक्नुभएन भन्ने एक खालको सहानुभूतिलाई पनि माटोमा मिलाउनु भएको छ । चरम दक्षिणपन्थी अवसरवादी बामदेव गौतमलाई स्वागत गरिरहँदा र नेकपा एमालेमा अवसर पाउँदा नेकपा एमाले गज्जब क्रान्तिकारी छ भन्ने अवसर नपाउँदा नेकपा एमाले पार्टी अर्थहीन छ भनेर मौसमी बाजा बजाउनेहरूलाई एकता गरेर साथ लिई समाजवादी आन्दोलन अगाडि बढाउन सकिन्छ भन्ने सपना माधव नेपालको लागि पनि दिवा सपना मात्र हुनेछ ।
स्वार्थको गठबन्धनबाट समाजवादी क्रान्ति सम्भव छैन
अहिले राजनीतिक परिदृश्य यति विघटित छ कि हरेक पार्टी चरम अवसरवादको चपेटामा छ। सिद्धान्त, नीति, संगठनभन्दा पनि व्यक्तिको स्वार्थ, भागबण्डा र पदलोभले दलहरू सञ्चालन भइरहेका छन्। संसदमा ठेकेदार, व्यवसायी, दलाल पूँजीपतिहरूको मात्रै उपस्थिति छैन, सरकारका मन्त्रीसम्म पनि ठेकेदारहरूको प्रभावमा पुगेका छन्।
यस्तो विषम परिस्थितिमा देश जोगाउन, राष्ट्रियता जोगाउन र नेपाली जनताको सुरक्षाका लागि अब राष्ट्रवादी शक्तिहरूबीच स्पष्ट दृष्टिकोणसहितको एकता अत्यावश्यक छ। मार्क्सवाद–लेनिनवादको संगठन सिद्धान्त र नेपालमा मदन भण्डारीले प्रतिपादन गर्नुभएको जनताको बहुदलीय जनवाद आज पनि मार्गदर्शक दर्शन बन्न सक्छ।
जनताको बहुदलीय जनवाद( नेतृत्व र दर्शन दुवै
२०६२र६३ को जनआन्दोलनले राज्य व्यवस्था परिवर्तन गर्यो। राजतन्त्रको अन्त्य भयो। हिंसात्मक आन्दोलनमा रहेका माओवादी शान्तिपूर्ण राजनीतिमा आए।
नेपाली कांग्रेस जस्तो परम्परागत पार्टी पनि संघीय गणतन्त्रको पक्षमा उभिन बाध्य बन्यो। यसको मूल नेतृत्व नेकपा एमालेले गर्यो। त्यो सम्भव भयो, मदन भण्डारीको विचार, सिद्धान्त र राजनीतिक संगठनको मार्गदर्शनले।
त्यही कारण आज पनि प्रश्न उठ्छ(दर्शन ठिक कि व्यक्ति रु पुष्पलालले भनेझैं ‘व्यक्ति प्रधान होइन, नीति प्रधान हुन्छ’। आजको मूल प्रश्न हो( नीति के हो रु विचार के हो रु संगठन कस्तो हुनुपर्छ रु
अबको बाटो(सिद्धान्तमा आधारित एकता र नेतृत्व
समाजमा विद्यमान अन्याय, शोषण, दमनविरुद्ध उभिनु छ भने स्वार्थको गठबन्धनबाट होइन, सिद्धान्तमा आधारित नेतृत्वबाट मात्र क्रान्ति सम्भव हुन्छ। नेकपा एमालेमै रहेका, समाजजवादी विचार बोकेका तर अन्यत्र रहेका सबैले अब भ्रमको राजनीति, व्यक्तिपूजक प्रवृत्ति र अवसरवादको अन्त्य गर्दै नेकपा एमालेभित्र एकताबद्ध हुन आवश्यक छ ।
यो पार्टीमा अझै पनि जनताको विश्वास छ, नीति छ, दर्शन छ। सुशासन कायम गरेर स्थिर सरकार बनाउने, आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने, नेपाली युवालाई रोजगार दिने, राष्ट्रियता जोगाउने सबै सपना यथार्थमा रूपान्तरण गर्ने सामर्थ्य एमालेसँग छ( यदि सही ढंगले नेतृत्व गरियो भने।
अन्त्यमा
सहयोगी सोच भएका माओवादी, समाजवादी र अन्य कम्युनिष्ट घटकमा रहेका पनि सक्रिय भूमिका खेल्दै सिद्धान्तको नेतृत्वमा, परिवर्तनको यात्रामा, नेकपा एमालेमा एकजुट हुन आवश्क छ। राजनीति परिवर्तनको माध्यम हो, आत्मरतिका लागि होइन। देश बनाउने अभिभारा हाम्रो काँधमा छ, अब ढिलो नगरौँ।
