मानबहादुर साँउद
आज साउन १७ गते सहिद भीमदत्त पन्तलाई स्मरण गर्ने दिन । जन्म र मृत्यु स्वभाबिक हुन्छ तर कुनै कुनै ब्यक्ति समाजमा पुयाएको योगदान र कामले आजिबनभरी युग युग सम्म सम्झीरहनु पर्ने हुन सक्छ त्यो नाम हो भीमदत्त पन्त । भीमदत्त पन्तलाई नियालीएर हेर्दा आज पनि भौतिक शरिर उपस्थित हुन नसकेपनि उनले उठाएका माग र जनताका पक्षमा गरेका संर्घषहरु जिबित छन र स्मरण योग्य छन ।
विसं १९८३ मङ्सिर १० गते डडेल्धुराको कारीगाउँमा जन्मिएका भीमदत्त पन्त, आमा सरस्वती पन्त र बुवा तारानाथ पन्तका सुपुत्र थिए । उहाँले भारतको उत्तरप्रदेशस्थित सिंहाइबाट संस्कृत विषयमा अध्ययन गर्नुभएको थियो । धार्मिक ग्रन्थ गीता र वैज्ञानिक समाजवादका विचारधारा माक्र्सवादको सङ्गमले उहाँभित्रको विद्रोही चेतनालाई झन प्रज्वलित बनाएको थियो । विसं २००७ देखि क्रान्तिकारी नेता पन्तले सामन्ती सोच, छुवाछूत, श्रमशोषण र अन्यायको विरुद्धमा विद्रोहको झण्डा उठाए । उहाँले नेतृत्व गरेको आन्दोलनले उहाँलाई भीमदत्त कांग्रेसको संज्ञा दियो । विसं २००९ वैशाख २ गते डडेल्धुराको घटालथानमा उहाँले सबैलाई एउटै थालीमा जय दासको हातबाट कथित उपल्लो जातका व्यक्तिहरूलाई पानी खुवाएर एक ऐतिहासिक सन्देश दिए, “अब कुनै जाति ठूलो सानो छैन ।”

भाषणमा होइन, उहाँले व्यवहारमै जातीय विभेद तोड्नुभयो, एउटै थालीमा सबै जातजाति बसेर खाने परम्परा उहाँले सुरू गर्नु भयो ।” भीमदत्तले दलित, मगर, थारू र अन्य उत्पीडित समुदायलाई सङ्गठित गर्दै मुक्ति सेना गठन गर्नुभएको थियो । उहाँले बेदखली रोक्नुभयो, तमसुख जलाउनुभएको थियो । “सामन्तीलाई विस्थापित गर्ने यो उहाँको महानता थियो । जोताहा किसानको पक्षमा उहाँले गरेको विद्रोह सम्झन लायक छ ।
भीमदत्तको लोकप्रियताले स्थानीय ठालु र राज्य संयन्त्र डरायो, अन्ततः विसं २०१० साउन १७ गते, बुडरको गडलेकमा उहाँलाई गोली प्रहार गरियो । टाउको काटेर बाँसको टुप्पोमा झुण्ड्याएर आतङ्क सिर्जना गरियो । परिवार बहिष्कृत भयो, काजक्रिया गर्न दिइएन । अन्ततः हरिद्वारमा अन्त्येष्टि गरियो । भीमदत्तको मृत्यु एउटा युगको अन्त्य थियो, तर विचारको सुरू पनि । त्यसपछिका आन्दोलनहरूले पनि उहाँको प्रेरणालाई जीवित राख्दै आएका छन् । सहिद पन्तले तत्कालीन समयमा दिएका नाराहरू उत्तिकै सान्दर्भिक रहेका छन । नेता पन्तले भन्ने गर्नुहुन्थ्यो, “कि त जोत हलो, कि त छोड थलो, हैन भने अब छैन भलो । “बम्बै जाने रेलगाडीमा दिल्लीको माल आयो, गरिबका दिन आयो, ठालुको काल आयो भन्दै बिद्धोहको नेतृत्व गरेका थिए जसका कारण तत्कालिन सरकारको प्रत्यक्ष निर्देशनमा हत्या गरियो ।
बाल्यकालदेखि नै छट्टु स्वभावका भीमदत्त पन्त गीत गाउने, कविता लेख्ने, डेउडा खेल्ने कुरामा रुची राख्नु हुन्थ्यो । उत्तरप्रदेश भारतको सिंहाईबाट संस्कृत विषयमा मध्यमा (हाइस्कुल) सम्मको अध्ययन गरेका पन्तमा गीताको राम्रो ज्ञान थियो । गीताको अध्ययनले नै उहाँमा राजनीतिक स्वभाव बढायो । राजनीतिमा प्रवेश गरेपछि उहाँले माक्र्सवादको अध्ययन गर्नुभयो । त्यसबेला मनमोहन अधिकारीसँग पनि उहाँको सम्पर्क हुन्थ्यो । सुरुवातमा काँग्रेस भनी चिनिएका भीमदत्त पन्त माक्र्सवादका अनुयायी हुनुहुन्थ्यो । गरिब, दलित, जनजाती, किसानहरूको पक्षमा आवाज उठाउनु हुन्थ्यो । भीमदत्तको क्रान्तिका कारण गाउँमा विरोधी बढ्दै गएपछि घरपरिवारबाट त्यस्तो नगर्न दवाव आउँथ्यो तर उहाँले भन्नुहुन्थ्यो, “म अहिले जे गर्दैछु, भोलि यस्तै हुन्छ । त्यसैले आजैदेखि अन्याय, अत्याचारका विरुद्ध लडनुपर्छ ।”

समस्याबाट बिचलित नहुने नेता हुनुहुन्थ्यो भीमदत्त पन्त । क्रान्तिको सिलसिलामा गाउँ बाहिरै हुनुहुन्थ्यो । घरको सबै जिम्मेवारी उहाँको श्रीमती पार्वती पन्तको हुन्थ्यो । दुइ छोरा थिए । बिरामी पर्दा उपचार गर्न नसकेर ५ वर्षको उमेरमा जेठो छोरा र साढे दुई वर्षको उमेरमा कान्छो छोराको मृत्यु भयो । त्यसपश्चात पनि उहाँले घरको कुनै प्रवाह नगरी क्रान्तिमै लाग्ने निश्चिय गरी आन्दोलनको घोषणा गर्नुभयो । सुदूरपश्चिम र मध्यपश्चिमका जिल्लाहरूमा भ्रमण गर्दा गरिबहरूले नून समेत खान नपाएको देखेर नून आन्दोलनको घोषणा गर्नुभयो । कञ्चनपुरको ब्रह्मदेवमा भएको गोदामबाट गरिबहरूलाई नून, कपडा वितरण गर्नुभयो । यस घटनाको दिन गरिबहरूको ठुलो जनमासले भीमदत्त पन्तको स्वागत गरी “भीमदत्त पन्त – जिन्दावाद” भनी नाराबाजी गरे । त्यसक्रममा उहाँ गड्डाचौकी भन्सारमा समातिनु भयो । हातखुट्टा बाँधेर नेपालगञ्ज पु¥याइयो । नेपालगञ्जमा उहाँलाइ मार्ने तयारी थियो, तर भागेर ज्यान बचाई कञ्चनपुर आउनुभयो । कञ्चनपुर आएपछि गरिबहरूलाई शोषण गर्ने धर्मसिंह डिट्ठा, जोगराज सुबेदार र जयदेव सुब्बालाई कारवाही गर्नुभयो ।
त्यहाँबाट डडेल्धुरा फर्केर आफ्नो घरमा भएका तमसुकहरू च्यातिदिनु भयो । विष्टहरूको घरमा भएका तमसुकहरू संकलन गरी बोरामा हालेर जलाइदिनुभयो । मालअड्डामा भएका मोठहरू जलाइदिनु भयो । बडाहाकिम मोहनबहादुर सिंहलाई हटाएर आफू बडाहाकिम भई चार महिना शासन गर्नुभयो । राणा शासन विरुद्ध भएको आन्दोलनपश्चात् काँग्रेसले गरेको सहमति भीमदत्त पन्तलाई मन परेको थिएन । उनले “क्रान्ति सकिएको छैन, किसानले न्याय पाउने अवस्था नआएसम्म सरकारसँग सहमति गर्न नहुने” अडान राख्नुभएको थियो । त्यसमा काँग्रेस सहमत नभएपछि किसान आन्दोलनको योजना बनाई संघर्षमा जुटेका भीमदत्तले प्रजातन्त्रको विकल्पमा किसान राजको अवधारणा ल्याउनु भयो । “जय किसान” भनी अभिवादन गर्न थाल्नुभयो । दलित, मगर र थारुहरूलाई संगठित गरी सेना तयार गर्नुभयो । नेपालगञ्जका गौरीलाल र रूपसिंह सेनाका कमान्डर थिए । दक्षिण भारत पञ्जावका कृष्ण स्वामी अयंकर योजनाकार थिए ।
भीमदत्त पन्त राष्ट्रवादी नेता हुनुहुन्त्यो । देशलाई स्वतन्त्र बनाउने, गरिबहरूलाई ठालुहरूको कब्जाबाट मुक्त गराउने उहाँको अभियान थियो । बेलौरीमा बैंक कब्जा गरी लिएको पैसा सेनालाई तलब दिएर बाँकी रहेकोमध्ये कमैया र हलियाहरूलाई मुक्त हुन सहयोग गर्नु भएको थियो । सामाजिक समानता, किसान अधिकार, स्वतन्त्र नेपालको पक्षमा लड्न सन्देश दिनुहुन्थ्यो । भीमदत्त कृषि र वातावरणका विषयमा पनि छलफल चलाउनु हुन्थ्यो । “जंगल मासिए पहिरो जान्छ । पानीका मूल सुक्छन् । खेतीपाती नगरे भोकमारी हुन्छ । अन्न खेर फाल्नु हुँदैन । बचत गर्नुपर्छ । उत्पादन बढाउनुपर्छ । खेती गर्नेलाई जग्गाको मालिक बनाउनुपर्छ । समाजमा एकले अर्कोलाई सघाउनुपर्छ” भन्ने पनि उहाँको अभियानको विषय हुन्थ्यो, जुन कुरा अहिलेका लागि पनि उत्तिकै महत्त्वपूर्ण छ ।
यसरी भयो पन्तको हत्या ?
भीमदत्तले वि.सं. २००९ सालमा कञ्चनपुर जिल्लाको ब्रह्मदेवमा लुकाएर राखिएको नुनको गोदाम कब्जा गरेका थिए । उक्त गोदामबाट कब्जा गरेको नुन किसानलाई बितरण गरेपछि भीमदत्त नेपाली र भारतीय शासकका दुश्मनका रुपमा चिनिएका थिए ।
वि.सं. २०१० साउन १७ गते डडेल्धुराको साबिकको आलिताल र डोटीको छतिवन गाविसको सीमाना क्षेत्रको गल्लेखमा खाना खाइरहेका बेला नेपाल र भारतका सेनाले घेरा हालेका थिए । दुबै देशको सेना टोलीले संयुक्त रुपमा घेरा हाले पछि भीमदत्तकै मित लालबहादुर थापाले धोका दिएर उनको हत्या गरिएको भनिन्छ । यसको अधिकारिकता पुष्टि कतैबाट हुँदैन ।
उनलाई फाँसी नभई गोली हानेर हत्या गरिएको र पछि टाउको काटेको भनाई छ । आइन्दा कसैले पनि विद्रोह नगरोस् भनेर आमजनतालाई तर्साउन उनको टाउको काटेर डडेलधुराको टुडिखेलमा झुन्ड्याइएको थियो । भीमदत्तलाई राज्यले वि.सं.२०७२ फागुन १९ गते सहिद घोषणा गरेको थियो ।



