Amargadhi Post

आर्थिक सुविधासहित अध्ययन बिदामा गएर नफर्केका प्राध्यापकसँग रकम असुली सुरु

त्रिविले गरेको आन्तरिक छानबिनमा १ सय ९१ जना उपप्राध्यापक, सहप्राध्यापक र प्राध्यापक मासिक तलब सुविधासहित अध्ययन बिदा लिएर विदेश बसेको भेटिएको थियो।

अमरगढी पोष्ट समाचार
डडेल्धुरा,साउन,२१ गते । अध्ययन बिदा दुरुपयोग गर्दै त्रिभुवन विश्वविद्यालयलाई आर्थिक बोझ बोकाएर विदेशमा बसेका प्राध्यापकले रकम फिर्ता गर्न थालेका छन् । त्रिविले गरेको आन्तरिक छानबिनमा १ सय ९१ जना उपप्राध्यापक, सहप्राध्यापक र प्राध्यापक मासिक तलब सुविधासहित अध्ययन बिदा लिएर विदेश बसेको भेटिएको थियो ।

तीमध्ये ४५ जना रकम फिर्ता गर्न सम्पर्कमा आएको रजिस्ट्रार केदारप्रसाद रिजालले जनाए । ‘५–७ जनाले ३ करोडभन्दा बढी रकम फिर्ता गरिसकेका छन् । थप ४५ जना रकम फिर्ता गर्न विश्वविद्यालयको सम्पर्कमा आएका छन्,’ उनले भने, ‘त्यसका लागि हेल्प डेस्क स्थापना गर्दै छौं ।’ अधिकांश विदेशमा रहेकाले रकम फिर्ता गर्न सहजीकरणका लागि डेस्क राख्न लागिएको उनले बताए । मासिक तलब सुविधासहित अध्ययन बिदा लिए पनि पढाइ पूरा नगर्ने र पूरा गरे पनि विदेशमै लुकेर बस्ने कारणले विश्वविद्यालयलाई डेढ अर्बभन्दा बढी नोक्सान भएको अनुमान छ । २ सय १३ जनाभन्दा बढीले मासिक पारिश्रमिक र सुविधा लिए पनि अध्ययन पूरा नगरेको त्रिविको तथ्यांक छ ।

त्रिविले असार अन्तिम साता सूचना प्रकाशित गरेर अध्ययन पूरा गरी विश्वविद्यालयमा हाजिर हुन नआउने प्राध्यापक, कर्मचारीलाई सम्पर्कमा आउन आग्रह गरेको थियो । सूचना सार्वजनिक भएको ३५ दिनभित्र अध्ययन बिदामा बस्दा लिएको पारिश्रमिक ब्याजसहित विश्वविद्यालयको बैंक खातामा जम्मा गर्न ताकेता गरेको थियो । रजिस्ट्रार रिजालले व्यक्तिगत गोपनीयताका लागि नाम गोप्य राखेर रकम फिर्ता गर्न आग्रह गरिएको जनाए । तोकिएको समयमा रकम फिर्ता नगरे नाम सार्वजनिक गर्ने त्रिवि पदाधिकारीले आन्तरिक तयारीसमेत गरेका छन् ।

५–७ जनाले ३ करोडभन्दा बढी रकम फिर्ता गरिसकेका छन्, थप ४५ जना रकम फिर्ता गर्न विश्वविद्यालयको सम्पर्कमा आएका छन्, त्यसका लागि हेल्प डेस्क स्थापना गर्दै छौं । केदारप्रसाद रिजाल, रजिस्ट्रार, त्रिवि त्रिवि शिक्षक तथा कर्मचारी सेवासम्बन्धी नियममा ३ देखि ५ वर्षसम्म अध्ययन बिदा पाउने व्यवस्था छ । उक्त सुविधा उपयोग गरी अध्ययन पूरा नगर्ने, अध्ययन बिदा उपयोग गरेर रकम लिए पनि भर्ना नै नहुने, अन्यत्र काम गर्ने, विदेश जानेहरू उतै लुकेर बस्ने प्रवृत्ति बढेपछि छानबिन गरेको थियो । त्रिवि कार्यकारी परिषद्ले अध्ययन बिदा लिने शिक्षक तथा कर्मचारी खोजबिन गर्न गत माघमा समिति गठन गरेको थियो ।
सहप्राध्यापक जीवन काफ्लेको संयोजकत्वमा गठित ३ सदस्यीय समितिले ४ सयभन्दा बढी प्राध्यापक, कर्मचारीले अध्ययन बिदा दुरुपयोग गरेको निष्कर्ष निकाल्दै प्रतिवेदन बुझाएको थियो । प्रतिवेदन प्राप्त गरेपछि त्रिविले विदेश फरार हुनेसँग रकम फिर्ता लिने र अध्ययन पूरा नगर्नेसँग त्यसको अवस्थाको जानकारी माग गर्ने निर्णय गरेको छ । भर्ना नै नभएका, पढाइ पूरा गर्ने सम्भावना नभएका र अध्ययन बिदा लिएर अन्यत्र काम गर्नेसँग पनि ब्याजसहितको रकम फिर्ता लिने तयारी त्रिविले गरेको छ । काफ्लेले संकायगत रूपमा अध्ययन बिदा दुरुपयोग गर्नेको विवरण त्रिविलाई बुझाएको बताए । विवरणअनुसार अध्ययन बिदा लिएर विश्वविद्यालय नफर्कनेमा सबैभन्दा बढी इन्जिनियरिङ अध्ययन संस्थानका ६२ जना छन् । त्यस्तै विज्ञान संकायका ५६, मानविकी संकायका ३० जना, वन विज्ञानका १७, कृषि तथा पशु विज्ञानका ११ जना छन् । अध्ययन बिदा लिए पनि पूरा गरेको प्रमाणपत्र पेस नगर्ने सबैभन्दा धेरै मानविकी संकायका ८४ जना छन् । विज्ञान संकायका ५०, इन्जिनियरिङका ३७, व्यवस्थापनका १७, कृषि तथा पशुविज्ञानका ११ जनाले पनि प्रमाणपत्र बुझाएका छैनन् । अध्ययन बिदामा बस्दा उनीहरूले प्रतिव्यक्ति ३० देखि ४० लाखसम्म तलब सुविधा लिएको त्रिविले जनाएको छ । रकम फिर्ताको ताकेतासँगै विश्वविद्यालयले उक्त रकम निवृत्तिभरण कोष वृद्धिमा जम्मा गर्ने निर्णय गरेको छ । त्रिविको आर्थिक वर्ष २०८२र८३ को बजेट तथा कार्यक्रममा उक्त रकम निवृत्तिभरण कोष वृद्धिमा राख्ने उल्लेख छ । ‘त्रिवि मातहतका विभिन्न निकायबाट उच्च शिक्षा अध्ययन बिदा उपयोग गरी विश्वविद्यालयमा नफर्केका, बिदा उपयोग गरी तोकिएको उपाधि हासिल नगरेका शिक्षक तथा कर्मचारीबाट असुलउपर हुने रकम निवृत्तिभरण कोष वृद्धिको स्रोतका रूपमा राखिनेछ,’ बजेटमा भनिएको छ । तलब सुविधासहित अध्ययन बिदा पूरा गरेर फर्केपछि त्यति नै समय विश्वविद्यालयमा अध्यापन गराउने व्यवस्था छ ।
त्रिवि सामान्य प्रशासन महाशाखाअनुसार आर्थिक वर्ष २०७१र७२ यता करिब १ हजार शिक्षक, कर्मचारीले अध्ययन बिदा लिएका छन् । तीमध्ये ४ सयभन्दा बढीले अध्ययन नै पूरा नगरेको र पूरा गरे पनि विश्वविद्यालय नफर्की तलब सुविधा उपभोग गरेको भेटिएको हो । यस्ता प्राध्यापक, कर्मचारीबाट १० प्रतिशत ब्याजरजरिवानासहित तलब सुविधा असुलउपर गर्नसमेत खोजबिन समितिले सुझाव दिएको छ । त्रिविका ६४ आंगिक क्याम्पस, विभाग र केन्द्रीय कार्यालयमा कार्यरत शिक्षक, कर्मचारीले अध्ययन बिदाको दुरुपयोग गरेको समितिले औंल्याएको छ । कतिपय क्याम्पस, विभागले त्यस्तो विवरण लुकाएको हुन सक्नेसमेत समितिको निष्कर्ष छ ।

५ वर्ष अध्ययन बिदापछि ७–८ वर्षसम्म बेतलबी बिदामा बसेका प्राध्यापक पनि भेटिएको समितिले औंल्याएको थियो । बेतलबी बिदासमेत जोडेर पेन्सन सुविधा लिने गरेको भेटिएपछि कार्यकारी परिषद्ले त्यसमा रोक लगाउने निर्णय गरिसकेको छ । अध्ययन बिदामा बस्ने, अध्ययन नगर्ने, अध्ययन गरे पनि नफर्कने प्रवृत्तिका कारण विश्वविद्यालयमा आंशिक, करार प्राध्यापकको समस्या मौलाएको प्रतिवेदनमा उल्लेख छ । अध्ययनका लागि सबैभन्दा बढी अमेरिका, त्यसपछि युरोप, अस्ट्रेलिया, जापान, क्यानडालगायत स्थानमा पुगेका प्राध्यापकहरू नफर्कने गरेको पाइएको छ । समितिले अध्ययन बिदा दुरुपयोग गर्नेलाई तलब सुविधा फिर्ता गर्न समय दिन र उक्त समयमा फिर्ता नगरे नामावली सार्वजनिकसहित कार्यरत निकायमा लेखी पठाउन त्रिविलाई सुझाव दिएको थियो ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।