Amargadhi Post

यस बर्षको गौरापर्ब भाद्र १२ गतेबाट सुरु हुने

लक्ष्मी ऐर 
डडेल्धुरा,भदौं १० गते । सुदूरपश्चिमेलीहरुको महान पर्व गौरा यो बर्ष भदौ १२ गतेदबाट शुरु हुने भएको छ ।
भदौ १२ गते बिरुडापञ्चमीका दिन बिरुडा भिजाएर गौराको शुरुवात गरिने स्थानीय संस्कृतिका जानकार आचार्य लक्ष्मीप्रशाद भण्डारीले बताउनुभयो । बिरुडाले गौरादेवीको पूजाआजा गरेर गौरा पर्बको सुरुवात हुने जनाएको छ । गहुँ, गहत, मास, गुराउँस र केराउ गरेर पाँच प्रकार अन्नलाई बिरुडा मान्ने प्रचलन रही आएको छ ।
बिरुडापञ्चमीका दिन पाँचै प्रकारका अन्नलाई मिसाएर तामाको भाँडामा भिजाउने प्रचलन रही आएको छ । भाद्र कृष्ण अथवा शुक्ल पक्षमा मनाइने गौरा पर्व यो बर्ष भाद्र शुक्ल पक्षमा परेको ज्योतिष पण्डित भण्डारीले बताउनुभयो । शुक्ल पक्षमा परेको गौरालाई उजेली गौरा भन्ने चलन रही आएको छ । कृष्ण पक्षमा परेको गौरालाई अँधेरी गौरा भन्ने चलन रही आएको उनको भनाई थियो । गौरामा ब्रतालु महिलाहरुले बिशेष प्रकारको धागो अर्थात दुबधागो लगाउने प्रचलन रहेको छ । विवाहित महिलाहरुले दुबधागो धारण गर्ने गरेका छन् । नयाँ दुबधागो लगाउनेहरुका लागि पनि शुक्ल पक्षमा परेको गौरालाई शुभ मान्ने गरिएको स्थानीय संस्कृतिका जानकार देबराज भट्टले बताउनुभयो ।
गौरा पर्वमा गौरा र महेश्वरको पूजाआजा गर्ने चलन रही आएको छ । यो पर्वमा बिरुडाले नै गौरा र महेश्वरको पूजाआजा गर्ने गरिन्छ । बिरुडापञ्चमीका दिन भिजाएका बिरुडालाई षष्ठीका दिन नजिकका कुवा अथवा धारा लगेर धुने प्रचलन रही आएको छ ।अमुक्ताभरण सप्तमीका दिन गौरालाई गौरा घरमा भित्र्याउने चलन रही आएको छ । धानखेतबाट साँवा, अपमार्ग लगायतका वनस्पतीहरु ल्याएर गौराको प्रतिमूर्ती बनाउने प्रचलन छ । गौराको मुख्य दिन दुर्वाष्टमी अर्थात अठ्यावाली हो । यो बर्ष भदौ १५ गते अठ्यावाली परेको छ । अठ्यावालीका दिन ब्रतालु महिलाहरुले गौरा खलामा गौरादेवीको पूजाआजा गर्ने गर्दछन् ।
गौरामा गाईने फाग र सगुन गाँउँदै बिरुडाले गौरा देवीको पूजाआजा गर्ने चलन रही आएको परशुराम नगरपालिका पण्डित अम्बादत्त पन्तले बताउनुभयो । अठ्यावालीका दिन दिनभरी गौरा देवीको पूजाआजा गरेर ब्रतालु महिलाहरुले दुबधागो धारण गर्ने गर्दछन् । गौरा माताको प्रसादको रुपमा रहेको बिरुडाले आफ्ना श्रीमान,छोराछोरी, आफन्तजनहरुको टाउको पुज्ने चलन रही आएको छ । लामो आयु, आरोग्य, धनधान्य प्राप्तिको कामनासहित टाउको पुज्ने चलन रही आएको छ ।
गौराको मुख्य दिन अठ्यावालीपछि ठाउँ परिवेश अनुसार देवीदेवताका गाँथामा आधारित ठाडो खेल, ढुस्को, धमारी खेल्ने चलन रही आएको छ । गाउँघरमा यो बर्षको गौरा पर्वको रौनक शुरु भइसकेको छ । विभिन्न कामको सिलसिलामा घर बाहिर रहेकाहरु पनि घर फर्कने क्रम बढेको छ । परदेशीहरु पनि गौराका लागि घर फर्कन थालेको स्थानीयबासी कर्णबहादुर धामीले जानकारी दिनुभयो । नेपाल र भारत सिमाका नाकाहरुबाट दिनहु सयौंको संख्यामा घर फर्किरहेको जनाएको छ ।

 

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।