अमरगढी पोष्ट समाचार
डडेल्धुरा,भदौं ११ गते । अजयमेरु गाउँपालिका–२ चमडामा ‘अजयमेरु वृहत् खेलकुद तथा सांस्कृतिक महोत्सव’ आयोजना हुने भएको छ । २ नम्बर वडा कार्यालयको आयोजनामा यहीँ भदौ १८ गतेदेखि २१ गतेसम्म वृहत् खेलकुद तथा सांस्कृतिक महोत्सव आयोजना हुने भएको हो ।
ऐतिहासिक पर्यटकीय स्थल अजयमेरु कोटलगायत अन्य धार्मिक तथा पर्यटकीय स्थलको प्रचारप्रसार गरी आन्तरिक र बाह्य पर्यटक भित्र्याउने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको वडाध्यक्ष तथा गाउँपालिका प्रवक्ता शिवराज भट्टले जानकारी दिए ।
अजयमेरुकोटको पुनर्निर्माणको कार्य भइरहेकाले सोको जानकारीसहित व्यापक प्रचारप्रसार गर्न, अनारखेतीसँगै अजयमेरु कोट घुम्ने गन्तव्य निर्माण गर्न, अजयमेरु गाउँपालिका भित्रका सबै धार्मिक र ऐतिहासिक पर्यटकीय स्थलको जानकारी गराउने उद्देश्यले पनि महोत्सव गर्न लागिएको हो । यसका साथै यस क्षेत्रमा सम्भावनामा रहेको कृषि क्षेत्रको उत्पादन लाई बजारीकरण, भटमास उत्पादनको पकेट क्षेत्र भएकाले उक्त बालीमा स्थानीय जनताको सहभागीतामा उत्पादन वृद्धि गराउन तथा स्थानीय कला संस्कृति गौरा नाच, चैत, फाग, हुणकेली जस्ता मौलिक संस्कृतिको प्रदर्शन गरी स्थानीय युवाहरूमा हराइरहेको कला संस्कृतिप्रतिको भावनामा सकारात्मक परिवर्तन ल्याउन पनि महोत्सव आयोजना गर्न लागिएको वडाध्यक्ष भट्टले बताए ।
‘स्थानीय स्तरमा लुकेर रहेका प्रतिभाहरूको पहिचान गरेर उहाँहरूको कलाको प्रचारप्रसार गरी राष्ट्रियस्तरमा यहाँका प्रतिभा पहिचान गर्नका लागि पनि हामी महोत्सव लगाउँदैछौँ,’ पत्रकार सम्मेलनमा उनले भने । चार दिनसम्म सञ्चालन हुने महोत्सवमा एक लाख दर्शकले अवलोकन गर्ने आयोजकले अनुमान गरेको छ ।
‘एक लाख दर्शकले कार्यक्रम नियाल्ने कुरामा कुनै दुविधा छैन। हामीले महोत्सव अवलोकनका लागि कुनै पनि शुल्क तोकेका छैनौँ,’ वडाध्यक्ष भट्टले भने, ‘सबैले निःशुल्क रूपमा आएर महोत्सव अवलोकन गर्न पाउनेछन । महोत्सवमा स्थानीय र राष्ट्रिय कलाकारको सांस्कृति प्रस्तुति रहने आयोजकले जनाएको छ ।




