अमरगढी पोष्ट समाचार
डडेल्धुरा,भदौं १३ गते । डडेल्धुराका तिनवटा स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत आउने भएका छन । लामो समय देखि निमिक्तको भरमा संचालनमा रहेका अमरगढी नगरपालिका,परशुराम नगरपालिका र आलिताल गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत फेरिन लागेका हुन ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार १२२ जना उपसचिव र ९७ शाखा अधिकृतको एकैपटक सरुवा गरेपछि डडेल्धुराका सात पालिका मध्ये तिनवटा पालिकाका प्रमुखहरु फेरिएका हुन ।
अमरगढी नगरपालिकामा नयाँ हाकिमको रूपमा उपसचिव नवराज ओझा आउने भएका छन । ओझा सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वा अन्तर्गत कार्यरत छन ।
यसअघि अमरगढीमा लक्ष्मीप्रसाद उपाध्यायले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा काम गरिरहेका थिए । परशुराम नगरपालिकामा उपसचिव मोहन अर्याल आउने भएका छन । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनी वा अन्तर्गत कार्यरत अर्याल परशुराम आउने भएका हुन । यसअघि परशुराममा कल्पना भट्टले हाकिमका रूपमा कामकाज गरिरहेकी थिइन ।

आलिताल गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रूपमा दीपेन्द्रराज अधिकारी आउने भएका छन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय वा अन्तर्गत कार्यालयमा कार्यरत अधिकारी आलितालको हाकिमको रूपमा आउने भएका हुन । हालै आलितालका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रसिंह ठगुन्नाको सरुवा भएको थियो । उनको ठाउँमा मन्त्रालयले अधिकारीलाई आलिताल पठाएको हो । सरकारले स्थानिय तहमा निमिक्तका भरमा संचालनमा रहेका पालिकाहरुमा दरबन्दी अनुसारका प्रशासकीय प्रमुख पठाएपछि सेवाग्राहीहरुले सहज रुपमा सेवा पाउनेमा बिश्वस्त रहेका छन ।


