Amargadhi Post

प्रधानमन्त्री कार्की र भारतीय प्रधानमन्त्री मोदीबिच फोनवार्ता

अमरगढी पोष्ट समाचार
काठमाडौँ, असोज २ गते । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच आज फोनवार्ता भएको छ । वार्ताका क्रममा प्रधानमन्त्री कार्कीले भारतीय प्रधानमन्त्री मोदीलाई उहाँको ७५औँ जन्मदिनको शुभकामना दिनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यसैगरी प्रधानमन्त्री कार्कीले नेपाल–भारतबिचको सदियौँ पुरानो र मैत्रीपूर्ण सम्बन्धको स्मरण गर्नुभएको थियो । साथै उहाँले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलगायतका विषयमा पनि जानकारी गराउनुभएको थियो ।

यसैगरी भारतीय प्रधानमन्त्री मोदीले नेपालका नवनियुक्त प्रधानमन्त्री कार्कीलाई बधाई ज्ञापन गर्नुभएको थियो । वार्ताका क्रममा प्रधानमन्त्री मोदीले असल छिमेकीका नाताले आगामी दिनमा पनि भारतले नेपाललाई निरन्तर सहयोग गर्ने बताउनुभएको थियो । छिमेकी दुई देशका सरकार प्रमुखहरूबिच भएको वार्तामा नेपाल–भारत सम्बन्ध, द्विपक्षीय हित र साझा चासोलगायत विविध विषयमा कुराकानी भएको समेत परराष्ट्र मन्त्रालयले जनाएको छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।