Amargadhi Post

जेनजी आन्दोलनमा तोडफोड गर्नेलाई कारबाही गर्न डडेल्धुराका राजनीतिक दलको संयुक्त माग

अमरगढी पोष्ट समाचार
डडेल्धुरा,असोज २६ गते । डडेल्धुराका राजनीतिक दलहरूले जेनजी आन्दोलनमा जिल्लामा भएको तोडफोड र आगजनी गर्नेहरुको पहिचान गरेर कारबाही गर्न सयुक्त माग गरेका छन्। उनीहरूले सरकारी कार्यालय, राजनीतिक पार्टीका कार्यालय, संघसंस्थाका कार्यालय र व्यक्तिगत घरमा तोडफोड, आगजनी, लुटपाट गर्नेलाई पहिचान गरी कानुन बमोजिम कारबाही गर्न माग गरेका छन।

भदौ २३ र २४ गते जेनजीले गरेको प्रदर्शनका क्रममा डडेल्धुरामा भएको आन्दोलनका सम्बन्धमा छलफल गर्न आइतवार बसेको डडेल्धुरास्थित राजनीतिक दलको संयुक्त बैठकको निर्णानुसार दोषीलाई कारबाही माग गर्न प्रमुख जिल्ला अधिकारीसँग माग गरिएको हो। राजनीतिक दलहरूले प्रजिअ जनार्दन गौतमसामुु तोडफोड गर्नेलाई कारबाहीको मागसहितको संयुक्त अनुरोध पत्र बुझाएका छन्। नेपाली कांग्रेस डडेल्धुराका सभापति भीमबहादुर साउँद, नेकपा (एमाले)का जिल्ला अध्यक्ष गजेन्द्र शाही, नेकपा (माओवादी केन्द्र)का प्रदेश सचिवालय सदस्य चक्रसिंह ठकुराठी, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति सुरेन्द्र अवस्थी र नेकपा (एकिकृत समाजवादी) डडेल्धुराका सचिव भुवन पाठकद्वारा हस्ताक्षरित अनुरोध पत्र बुझाइएको हो।

विद्यमान राजनीतिक घटनाक्रमसँगै आउँदै गरेका चाडपर्वसमेतलाई मध्यनजर गर्दै जिल्लामा शान्तिसुरक्षा, अमनचयन कायम गर्न अनुरोध पनि राजनीतिक दलहरूले गरेका छन्। भदौ २४ गते प्रदर्शनका क्रममा भएको तोडफोड र आगजनीका कारण जिल्लामा झण्डै तीन करोडको क्षति भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

जेनजी समूह समर्थक युवाहरूले २४ गते जिल्ला निर्वाचन कार्यालय डडेल्धुरा, आन्तरिक राजस्व, मालपोत, नापी, यातायात कार्यालय, अमरगढी नगरपालिकाको कार्यालय, अमरगढी नगरपालिका वडा नंं.५ को कार्यालय र नवदुर्गा गाउँपालिकाको कार्यालय र नबदुर्गा गाउपालिका वडा नं.५ को वडा कार्यालयमा तोडफोड र आगजनी गरि क्षती पुयाएको थियो । यसका साथै नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, कांग्रेस बिपीको पार्टी कार्यालयमा पनि तोडफोड भएको थियो । गैरसरकारी संस्था ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक) र बहुउद्देश्यीय विकास समाज (एमपिडिएस) को कार्यालयमा पनि तोडफोड भएको प्रहरीले जनाएको छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।