अमरगढी पोष्ट समाचार
डडेल्धुरा,कार्तिक ८ गते । नेपाली कांग्रेसका नेता नैनसिंह महरले आपतकालीन समयमा भएको सम्झौता सरकारसँगै सबै पक्षबाट इमानदारितापूर्वक कार्यान्वयन हुनुपर्ने बताए।
महरले फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन कार्यान्वयनमा सरकार सक्रिय र इमानदार हुनुपर्ने बताए।
उनले सरकार चुनाव सम्पन्न गर्न नसके यसको औचित्य सकिने र चुनावमा केन्द्रित हुनुपर्ने सुझाव दिए। नेपाली कांग्रेसका नेता नैनसिंह महरले नेपाली राजनीतिक क्षेत्रमा आपतकालीन समयमा भएको सम्झौता सरकारसँगै सबै पक्षबाट इमानदारितापूर्वक कार्यान्वयन हुनुपर्ने बताएका छन् ।

गृहजिल्ला डडेल्धुराको परशुराम नगरपालिकामा आयोजित कार्यकता भेटघाट कार्यक्रममा उनले आपतकालीन अवस्थामा फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचनको विषय भएकाले कार्यान्वयनमा सरकार सक्रिय र इमानदार हुनुपर्ने बताए । ‘तत्कालीन समयमा राष्ट्रपतिको समन्वयमा आन्दोलनकारीहरू, राजनीतिक दलका नेताहरू, नेपाललाई माया गर्ने देशी(विदेशी कूटनीतिक क्षेत्रका मित्रहरूको चाहना नै फागुन २१ गते निर्वाचन सम्पन्न गरेर देशलाई निकास दिने भन्ने हो,’ महरले भने, ‘जनादेश प्राप्त सरकार नभएकाले यसको काम निर्वाचन सम्पन्न गर्नु हो । आन्दोलनको आदेश पनि त्यही हो । यसबाट सरकार विचलित नहोस् ।’ सरकार निर्माण गर्ने बेलाका शक्तिहरूको आदेश पनि चुनाव सम्पन्न गर्नु भन्ने नै रहेकाले कत्ति पनि विचलित नभएर थप सक्रियता बढाउन महरले सरकारलाई सुझाव दिए । ‘चुनाव समयमा गर्न नसके यो सरकारले के सक्छ ?,’ केन्द्रीय सदस्य महरले भने, ‘यो प्रश्न आम जनताको हो । त्यसैले जसरी पनि सरकार चुनावमा केन्द्रित हुनुपर्छ ।’
महरले सरकार चुनाव सम्पन्न गर्ने भन्दा पनि खलबल्याउने पक्षमा देखिएको आरोप पनि लगाए । ‘दलहरूमाथि पूर्वाग्रहीरूपमा प्रस्तुत हुने, आफूलाई दिएको टीओआर चुनावको भए पनि त्योभन्दा बाहिर गएर काम गर्ने गरिरहेको छ,’ उनले भने, ‘त्यसैले सरकारले आफ्नो काम सम्पन्न गर्नुपर्छ । काम गर्न नसके सरकारको औचित्य पनि सकिन्छ ।’




