Amargadhi Post

अमरगढीको बसपार्क निर्माण रोकियो

अमरगढी पोष्ट समाचार

डडेल्धुरा,बैसाख,१७ गते ।  अमरगढी–८, डकलेमा निर्माणाधीन बसपार्कको काम फेरि अवरुद्ध भएको छ । निर्माणस्थलमा रहेका विद्युत्‌का पोल तथा लाइन स्थानान्तरण हुन नसक्दा काम रोकिएको हो । संघीय सहरी विकास तथा भवन निर्माण कार्यालय, कैलालीमार्फत बसपार्क निर्माण भइरहेको हो । बसपार्क निर्माणका लागि २०८१ जेठ ३२ गते सम्झौता भएको थियो । उक्त सम्झौताअनुसार १७ महिनाभित्र निर्माण पूरा गर्ने लक्ष्य राखिएको थियो । १० करोड ३० लाख १६ हजार ९९० रुपैयाँ लगानी रहेको छ । मालिका–कालिका जेभीले निर्माण गरिरहेको छ । सुरूदेखि नै विभिन्न अवरोधका कारण परियोजना प्रभावित हुँदै आएको छ । सुरूमा रुख कटानको विषयले निर्माण रोकिएको थियो । क्षतिपूर्ति विवाद टुंगो नलाग्दा काम अघि बढ्न सकेको थिएन । पछि २०८१ चैततिर निर्माण क्षेत्रमा पर्ने रुखको क्षतिपूर्तिस्वरूप एक करोडभन्दा बढी रकम नेपाल सरकारको वन विकास कोषमा जम्मा गरिएपछि मात्र कटान अनुमति प्राप्त भएको थियो । सोही अनुमति पाएपछि गत असार महिनाबाट निर्माण कार्य सुरू गरिएको थियो । तर काम अघि बढ्न थालेकै बेला अहिले फेरि विद्युत संरचना स्थानान्तरणको समस्या देखिएको छ ।

निर्माणस्थलभित्र रहेका पोल नसारिँदा मेसिन प्रयोग गरी जमिन सम्याउनेजस्ता प्रारम्भिक कामसमेत गर्न कठिनाइ भएको छ । यसले काममा जोखिम बढाएको छ भने निर्माण प्रक्रिया नै रोकिएको अवस्था छ । संघीय सहरी विकास तथा भवन निर्माण कार्यालय, कैलालीका प्रमुख तुल्सीराम खर्बुजाले बसपार्क निर्माणस्थलमा रहेका विद्युतका पोलहरू समयमै स्थानान्तरण हुन नसक्दा काम अघि बढाउन समस्या परेको बताएका छन् । उनका अनुसार पोल नसारिँदासम्म निर्माणस्थलमा आवश्यक मेसिन प्रयोग गरेर जमिन सम्याउनेजस्ता प्रारम्भिक कामसमेत गर्न कठिनाइ भइरहेको छ, जसले काममा प्राविधिक जोखिमसमेत बढाएको छ ।

प्रारम्भिक ठेक्का सम्झौता गर्दा एउटा मात्र पोल सार्ने अनुमानका आधारमा चार–पाँच लाख रुपैयाँ मात्रै बजेट छुट्याइएको उनले जानकारी दिए । तर फिल्डमा काम सुरू भएपछि थप पोलहरू समेत स्थानान्तरण गर्नुपर्ने अवस्था देखिएकाले लागत बढ्ने स्थिति बनेको उनले बताए । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र डडेल्धुराका प्रमुख कपिल जोशीका अनुसार निर्माणस्थलभित्र रहेका विद्युत् संरचना स्थानान्तरणका लागि आवश्यक प्राविधिक प्रक्रिया पूरा भइसकेको छ ।

 

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।