Amargadhi Post

सुदुरपश्चिम प्रदेशकै उत्कृष्ट उद्यमी छनौट भईन डडेल्धुराकी साकीं

५० हजार पुरुष्कार

मानबहादुर सांउद
डडेल्धुरा भदौं २२ गते । सुदुरपश्चिम प्रदेशबाट यस वर्षको ‘डा.हरिहरदेव पन्त लघु उद्यमशील पुरस्कार’ डडेल्धुराकी लघु उद्यमी कबिता साकींले प्राप्त गरेकी छन ।
‘नेपालका लघुवित्तका पिता’ भनेर चिनिने निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडका संस्थापक डा. हरिहरदेव पन्तको ११औँ स्मृति दिवशका अवसरमा संकीलाई प्रदेशकै सर्वोत्कृष्ट लघु उद्यमीका रूपमा नगद ५० हजार रुपैयाँ सहित प्रमाणपत्र प्रदान गरिएको हो ।
निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड, अमरगढी डडेल्धुरा शाखाको आयोजनामा भएको कार्यक्रममा अमरगढी नगरपालिका ७ का वडा अध्यक्ष खडकबहादुर बोहराले साकींलाई पुरस्कार तथा प्रमाणपत्र हस्तान्तरण गर्नुभएको हो । सुदुरपश्चिम प्रदेशमा रहेका डेढ लाखभन्दा बढी महिला लघु उद्यमीमध्ये विभिन्न मापदण्डका आधारमा साकीं सर्वोत्कृष्ट छनोट हुनुभएको शाखा प्रमुख महिम अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार उद्यमको अवस्था, कर्जाको सदुपयोग, व्यवसाय विस्तार,रोजगारी सिर्जना, नियमितता तथा उद्यमशीलताप्रतिको सक्रियता लगायतका आधारमा मूल्यांकन गरी साकीं सुदुरपश्चिम प्रदेशमै उत्कृष्ट उद्यमी छनोट गरिएको हो ।
उहाँका अनुसार २०४७ सालमा स्थापना भएको निर्धन उत्थान लघुवित्त वित्तीय संस्थामा हाल देशभर चार लाखभन्दा बढी महिला उद्यमी आबद्ध छन । संस्थाले सातवटै प्रदेशमा लघु उद्यमशीलताको क्षेत्रमा काम गर्दै आएको छ ।

पुरुष्कार बितरण कार्यक्रमको सभापतित्व स्थानीय लघुबित्त सरस्वती भण्डारीले गर्नुभएको थियो भने प्रमुख अतिथी अमरगढी नगरपालिका ७ का वडा अध्यक्ष खडक बोहरा रहनु भएको थियो । कार्यक्रममा निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड क्षेत्रीय कार्यालयका प्रतिनिधी र्धुबराज जोशीले लघु उद्यमशीलताको क्षेत्रमा काम गर्ने उद्यमीको मनोबल बढाउँदै उनीहरूलाई थप प्रोत्साहन गर्ने उद्देश्यले संस्थाले २०७३ सालदेखि प्रदेशस्तरमा ‘डा. हरिहरदेव पन्त लघु उद्यमशील पुरस्कार’ प्रदान गर्दै आएको जानकारी दिनुभयो । ‘महिला दिदीबहिनीलाई समूहमा आबद्ध गराएर बिना धितो सात लाख रुपैयाँसम्म कर्जा उपलब्ध गराउँदै आएका छौँ,’ जोशीले भन्नुभयो, ‘कर्जालाई उत्पादनशील क्षेत्रमा लगानी गरी उद्यम विस्तार गर्न सके यसले परिवारको आयस्तर बढाउनुका साथै महिलालाई आत्मनिर्भर बनाउन सहयोग गर्छ ।


‘सानो पुँजीबाट पनि मेहनत र सही योजनाका साथ उद्यमी बन्न सकिँदो रहेछ । यो पुरस्कारले मलाई अझै राम्रो काम गर्न थप हौसला र ऊर्जा दिएको छ,’ साकींले भन्नुभयो, ‘ कुखुरा ब्यबसायलाई अझ ब्यबस्थित र प्रभाबकारी ढंगले अगाढी बढाउने योजना रहेको बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष बोहराले लघुवित्त संस्थामार्फत महिलालाई उद्यमशील बनाउने कामलाई सकारात्मक रूपमा लिनुपर्ने बताउनुभयो। लघुवित्तका बारेमा नकारात्मक धारणा मात्र बनाउनु उचित नभएको उहाँको भनाइ थियो । ‘लघुवित्तले महिला दिदीबहिनीलाई टाट बनायो भन्ने गलत सन्देशलाई चिर्न जरुरी छ,’ उहाँले भन्नुभयो, ‘ऋण लिएर सिपमूलक तथा आयआर्जनमूलक काममा लगानी गर्न सके त्यसले महिलालाई स्वरोजगार र आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेल्छ बोहराले स्पष्ट पार्नुभयो ।


कार्यक्रमकी सभापति सरस्वती भण्डारीले ऋण लिएका महिलाले मेहनतका साथ कर्जाको सही ठाउँमा सदुपयोग गर्नुपर्ने बताउनुभयो । निर्धन उत्थान लघुवित्तले विपन्न तथा न्यून आय भएका परिवारका महिलालाई आर्थिक गतिविधिमा जोड्न महत्वपूर्ण सहयोग गरिरहेको उहाँले उल्लेख गर्नुभयो ।
कार्यक्रमको सञ्चालन रामबहादुर खड्काले गर्नुभएको थियो । डा. हरिहरदेव पन्तको २०७२ साल भदौ २१ गते निधन भएको थियो । उहाँको स्मृतिमा संस्थाले हरेक वर्ष उत्कृष्ट लघु उद्यमीलाई सम्मान गर्दै आएको बताईएको छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।