किरन धामी
दार्चुला चैत १२ गते स् कोराना भाइरसको संक्रमण नियन्त्रण गर्न सरकारले लकडाउन गरेकोमा अवज्ञा गरेपछि दार्चुलामा प्रहरीले २० जना युवालाई विभिन्न स्थानबाट नियन्त्रणमा लिएको छ । मंगलबार विहान देखि लागु भएको लकडाउन उल्लङ्घन नगर्न आग्रह गर्दै प्रहरी र प्रशासनले माइकिङ गर्दा पनि अटेर गर्नेलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरिक्षक एवं सुचना अधिकारी सुरेन्द्र प्रसाद जोशीले जानकारी दिनुभयो ।
प्रहरीले महाकाली नगरपालिकाको वडा नम्बर ५ गल्फै, वडा नम्बर ७ धाप र वडा नम्बर ४ बंगाबगडबाट २० जना युवाहरुलाई नियन्त्रणमा लिएको उहाले बताउनुभयो । प्रहरीले भिडभाड नगर्नुस भन्दा भन्दै पनि आभारा भएर घुम्न लागेका तथा समुह बनाएर जम्मा भएका युवाहरुलाई नियन्त्रण लिएको उहाको भनाई छ । प्रहरीले सम्झाई बुझाई गर्दा समेत नमानेको भन्दै उनिहरुलाई नियन्त्रण लिएर जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।
कोराना संक्रमण भएमा त्यसले भयावह अवस्था सिर्जना गर्ने भन्दै पुर्व सावधानी अपनाउन सरकारले पटक‐पटक आग्रह गर्दै आएको छ । लकडाउनको अवज्ञा गरी मनोमानी ढंगले हिडिरहेका र भिडभाड हुने गरी एक ठाँउमा जम्मा भएका युवाहरुलाई नियन्त्रणमा लिएको उहाले बताउनुभयो ।
