मोहन शाही
डोटी — कोरोना भाइरस ९कोभिड( १९०को संक्रमण रोकथामका लागि सरकारले लकडाउन अवधि बढाएपछि भारतबाट स्वदेश आउने क्रममा रहेका र त्यहाँबाट आउन लागेका सयौं नेपाली अलपत्र परेका छन् ।भारतको राजस्थान राज्यका विभिन्न क्षेत्रमा काम गर्ने नेपाली स्वदेश फर्कने क्रमा बीच बाटोमै अलपत्र परेका छन्। तीमध्ये डोटीका मात्रै ८५ जना रहेका छन्। आफूहरूलाई स्वदेश फर्किने वातावरण बनाइदिन उनीहरूले नेपाल सरकारसँग आग्रह गरेका छन्। कोरोना रोगले भन्दा पनि भोकले मर्न लागेकाले चाँडो उद्दार गरिदिन उनीहरूले आग्रह गरेका छन्।

‘मार्च २२ तारेखसम्म भारतमा पहिलो लकडाउन घोषणा भएको थियो, हामी २३ तारेखमा नेपाल फर्कने तयारीसाथ कोठाबाट जोधपुरमा जम्मा भएका थियौं,’ राजस्थानको जोधपुरबाट डोटीको केआईसिंह गाउँपालिका ७ का दीपक बेलालले भने, ‘चार बस रिजर्भ गरेर नेपाल फर्कने योजना थियो तर भारत सरकारले २१ दिन लकडाउन थप गरेपछि साथीहरू न घर जान पाए न डेरामै फर्कन सके।’ होटलमा काम गर्ने बेलालको जोधपुर घण्टाघर नजिकै रहेको कोठामा १० नेपालीले आश्रय लिइरहेको उनले जानकारी दिए। खानेकुरा सकिन थालेको र साँघुरो कोठामा सुत्ने ठाउँसमेत नपुग्दा कष्टकर बन्दै गएको उनले बताए। अहिलेसम्म होटल मालिकले खानेकुराको व्यवस्था गरेको भए पनि लकडाउनको समय लम्बिँदै जादा झन् समस्या हुन् उनले बताए।
बेलालले भने, ुएउटै कोठामा १५÷२० जना बस्न बाध्य छौं । बाहिर निस्कनै सकिँदैन प्रहरीले लखेट्छ। हामी रोगले भन्दा पनि भोकले मर्ने भयौं।’ राजस्थान प्रदेश सरकारले आइतबारबाट बाटोमा अलपत्र परेकालाई घर फर्काउन प्रदेशभित्र सिटीबस संचालन गरेको छ। ‘राजस्थान प्रदेश सरकारसँग हामीले नेपालसम्म पुर्याइदिन आग्रह गर्यौं, सरकारले प्रदेश भित्र मात्र लग्न सकिने कुरा गरेको छ’, केआईसिंह ७ नितेश बिष्टले भने, ‘नेपाल सरकारले कूटनैतिक पहल गर्ने हो भने हामी सुरक्षित नेपाल आउन पाउने थियौं। नेपाल आएर मापदण्डअनुसार क्वारेन्टाइनमा बस्न तयार रहेको उनीहरूले बताएका छन्।
