Amargadhi Post

कोरोनासँगको दोस्रो महायुद्ध

कोरोना भाइरसको दोस्रो लहरले छोटो समयमै पहिलोले भन्दा बढी तीव्रता लिएको छ । संक्रमितको मात्र होइन, अस्पताल भर्ना हुने संख्याको ग्राफ पनि अप्रत्याशित रूपमा उकालो लागेको छ ।

शेरबहादुर पुन

झन्डै तीन महिनाअघि मैले नेपालमा कोरोना भाइरस दोस्रोपटक झन् ठूलो चुनौती बनेर आउने प्रक्षेपण गरेको थिएँ । विश्वमा कोरोनाको उतारचढाव देख्दा यो भाइरस सजिलै हार खानेवाला रहेनछ भन्ने मेरो निष्कर्ष थियो ।

अनुमानअनुसार नै कोरोना भाइरसले अहिले नेपालमा एकतर्फी दोस्रो महायुद्धको घोषणा गरिसकेको छ । यसपटक कोरोना आफूलाई पूर्ण तयार र थप शक्तिशाली बनाई भारतमा विध्वंस मच्चाउँदै नेपाल आक्रमण गर्न प्रवेश गरिसकेको छ ।

यो लेख तयार पार्दै गर्दा कोरोनाको पहिलो निसानामा नेपालगन्ज परिसकेको छ । त्यहाँको अवस्था हेर्दा कोरोनासँग लड्ने सिपाही ९स्वास्थ्यकर्मी० मात्र होइन हामीसित हतियारको ९अक्सिजन, औषधि० समेत अभाव भएको देखिन्छ । अहिले कोरोना भाइरसले आफ्नो शक्ति काठमाडौँलगायत देशका विभिन्न ठाउँमा केन्द्रित गर्दै लगिरहेको देखिन्छ । यो दोस्रो महायुद्धमा नेपाली पक्षले कोरोना भाइरसलाई कमजोर आँकेजस्तो देखिन्छ । तसर्थ तयारी पनि कमजोर भएको हुनुपर्छ ।

यो पंक्तिकार फिभर क्लिनिकमा बसिरहेको बेला एक दम्पती एकवर्षीय आफ्नो बालकलाई लिएर आइपुगेका थिए । बालक बिरामी थियो र कोरोनाको शंका लागेर एक्सरे गर्न आइपुगेका रहेछन् । ती दम्पती दुवै कोरोना पोजिटिभ रहेछन् । बालक तीन दिनको ज्वरो र त्यसको कारणले लट्ठ देखिन्थ्यो । एक्सरेमा प्रस्ट निमोनिया देखियो । ती दम्पतीलाई बालरोग अस्पताल जान सल्लाह दिइयो । यो सन्दर्भ यहाँ जोड्नुको कारण पहिलो लहरमा कोरोना भाइरसले विशेषतस् बालबालिकालाई खासै समस्या दिने गरेको थिएन । अहिले अस्पतालमा विशेषतस् ३०–५० वर्षका युवा जमातको भर्ना बढी देखिन्छ । स्वाभाविक रूपमा मृत्यु पनि बढी यही उमेर समूहको भइरहेको छ ।

युवाको ठूलो जमात पहिलो लहरमा पनि तुलनात्मक रूपमा बढी नै संक्रमित हुने गरेको तथ्यांक छ । तर अस्पताल भर्ना र मृत्यु हुने बढी ६० वर्ष माथिकाहरू ९ दीर्घ रोगीहरू० नै थिए । कोरोना दोस्रोपटक आउँदा पहिलो लहरमा देखिएको त्यो अनुभव र जानकारीलाई चुनौती दिँदै सबै उमेर समुहकाहरूलाई आफ्नो चपेटामा पारेको देखिन्छ ।

दोस्रो लहरको सुरुवातमा अथवा नेपालले निषेधाज्ञा सुरु गर्नुअघि नै कोरोनाले परिवारभित्र पनि आफ्नो स्थान बनाइसकेको देखिन्छ । पहिलो लहरमा कोरोनाले बिस्तारै उचाइ लिएको थियो । त्यसबेला लकडाउन सकिएपछि मात्र परिवारभित्र बिस्तारै यसले प्रवेश पाएको थियो । चाखलाग्दो कुरा के छ भने त्यसबेला ९पहिलो लहरमा० परिवारको धेरैजसो सदस्यहरू संक्रमित भएको देखिँदैनथ्यो भने दोस्रो लहरमा परिवारका अधिकांश सदस्य संक्रमित भएको देखिन्छ । यसलाई अहिलेको कोरोना भाइरस बढी संक्रामक भएर आएको प्रमाणका रूपमा लिन सकिन्छ । अहिले दर्जनौं परिवारले यो पंक्तिकारसँगको कुराकानीमा उनीहरूका लगभग सबै सदस्यहरू संक्रमित भएको अनुभव सुनाउने गरेका छन् । हुन त अलिकति हास्यास्पद र व्यावहारिकजस्तो नदेखिए पनि परिवारका सदस्यहरूबीच पनि धेरै समय सँगै नबिताउँदा तथा एकअर्कासँग कुरा गर्दा मास्कको प्रयोग गर्दा बढी सुरक्षित हुने देखिन्छ । यसभन्दा अघि विशेषतस् कुनै कामले बाहिर जाँदा मात्र मास्क लगाउन सल्लाह दिने गरिन्थ्यो । आवश्यकता र परिस्थितिअनुसार यस्तो परिवर्तन गर्न सकिन्छ र गर्नु पनि पर्छ ।

हाल समुदायमा कोरोनाको संक्रमण फैलिसकेको छ । परीक्षण र कन्ट्याक्ट ट्रेसिङ नहुँदा कोरोनाले आफ्नो प्रभाव कति र कहाँसम्म पारिसक्यो भनेर यकिन गर्न सक्ने अवस्था भने छैन । कोरोनाको प्रवेश घरघरमा भइसकेकाले सायद अबको दिन भने संक्रमित र मृत्युको तथ्यांकलाई अद्यावधिक गर्ने काम मात्र हुने देखिन्छ र अहिले भइरहेको पनि त्यही छ ।

दोस्रो लहरमा विदेशी भेरिएन्टको कोरोना भाइरस नेपाल भित्रिसकेको छ । युके भेरियन्ट नेपाल भित्रिएको तीन महिना भैसकेको छ भने भारतीय ‘डबल म्युटेसन’ को भेरिएन्ट केही दिनअघि पत्ता लागेको थियो । कोरोनाको जिन विश्लेषणले नियमितता नपाउँदा थप नयाँ भेरिएन्टहरू छन्रछैनन्, थाहा छैन । भारतमा ब्राजिलियन र दक्षिण अफ्रिकी भेरिएन्ट देखापरिसकेको हुनाले ढिलोचाँडो ती भेरिएन्टहरू नेपालसम्म नआउलान् भन्न सकिँदैन । हालै भारतमा ‘ट्रिपल म्युटेसन’को भेरिएन्ट पनि देखिएको जानकारी आइरहेको छ । दोस्रो लहरमा कोरोना भाइरसका विभिन्न स्वरूपहरू नेपाल भित्रँदै गर्दा आगामी दिनहरूमा नौलो तर जटिल चुनौती सामना गर्नुपर्नेछ । यी भेरिएन्टहरू छुट्टाछुट्टै विशेषताले गर्दा विश्वचर्चित छन् । तीव्र गतिमा फैलनु, रोग प्रतिरोधात्मक प्रणालीलाई छल्न सक्नु, घातक हुनु र हाल उपलब्ध भ्याक्सिनको प्रभावकारितालाई समेत चुनौती दिन सक्नु, यी विदेशी भेरिएन्टहरूका मुख्य विशेषता हुन् ।

यसर्थ दोस्रो लहर नेपालको लागि महायुद्ध लडे सरह हुनेछ । तर तयारी र तीव्र प्रतिक्रिया देखाउन नेपालले ढिलाइ गर्दा बहुरूपी कोरोनाले पहिलो लहरमा भन्दा बढी समस्याहरू ल्याउन सक्ने सम्भावना बलियो देखिन्छ । फरक कोणबाट विश्लेषण गर्दा नेपालमा लामो समयदेखि कोरोनाको चक्रले निरन्तरता पाइरहेकाले जिनमा म्युटेसन भई ‘नेपाली भेरिएन्ट’को कोरोना भाइरस पनि विकास भएको हुनसक्छ । फलस्वरूप भाइरसले तीव्रता पाएको हुन सक्ने अनुमानलाई नकार्न सकिँदैन । यद्यपि, यो प्रमाणित गर्न जेनोमिक सिक्वेन्सिङ गरेर हेर्नुपर्नेछ ।

कोरोना भाइरसको दोस्रो लहरले छोटो समयमा पहिलोले भन्दा बढी तीव्रता लिएको छ । संक्रमितको संख्या मात्र होइन, अस्पताल भर्ना हुने संख्याको ग्राफ पनि अप्रत्याशित रूपमा उकालो लागेको छ । यसले गर्दा नेपालमा उपचारका लागि चाहिने आवश्यक अक्सिजन तथा औषधिहरूको समेत अभाव सुरु भएको देखिन्छ । दोस्रो लहरको सुरुवाती समयमा नै नेपालको स्वास्थ संरचना ढलमलाउन लागेको देखिन्छ । कोरोनाको यो तीव्र वेगलाई ब्रेक लगाउने उपायरकदम नचाले उत्कर्षमा पुग्दासम्म थप मानवीय क्षति नहोला भन्न सकिँदैन ।

अन्तमा, भाइरसले आफ्नो गतिलाई तीव्रता दिन सक्ने क्षमता विकास गरे पनि आफूलाई थप घातक बनाएर फर्के पनि यसले यदि एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्नेरफैलने मौका पाएन भने त्यो क्षमताको कुनै औचित्य हुनेछैनररहँदैन । अर्थात् भाइरस थप शक्तिशाली भएर पनि त्यो शक्तिहीन सरह हुनेछ । हाल कोरोना भाइरसविरुद्धको भ्याक्सिन आयातमा अन्योल छाइरहेको अवस्थामा यो नै निर्विकल्प उपाय हुनेछ तर यसको लागि सबैको प्रतिबद्धताको आवश्यकता पर्नेछ । भेटघाट बन्द गरौं, मास्क सही तरिकाले लगाऔं, कोरोनाको चक्रलाई तोडौं र थप मानवीय क्षतिलाई रोकी समाजलाई सुरक्षित बनाऔं ।

९डा। पुन शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, टेकुका क्लिनिकल रिसर्च युनिटका संयोजक हुन्०

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।