वसन्तप्रताप सिंह
असार ४, २०७८ बझाङ । गत साता बझाङको बित्थडचिर गाउँपालिका–८ जालिमका ७२ वर्षीय पुरुष उच्च ज्वरो र खोकीले थलिएको भन्दै उनका छोरा देउलेक प्राथमिक स्वास्थ्य केन्द्रमा आए । उनी डाक्टर बोलाउन त्यहाँ आएका थिए ।
वृद्धलाई कोरोनाको संक्रमण हुन सक्ने आशंकामा औषधिसहित एन्टिजेन किट बोकेर स्वास्थ्य केन्द्रका कर्मचारी जयराज अवस्थी उनको घर पुगे । बिरामीमा सबै लक्षण कोरोनासँग मिल्दाजुल्दा थिए । अवस्थीले कोरोना परीक्षण गर्न खोजे तर उनका छोराले परीक्षण गर्न दिएनन् । ‘खेतीपातीको समय छ । पोजिटिभ आयो भने अस्पताल भर्ना गर्नुपर्छ । कुर्ने मान्छे छैन भन्न थाले,’ अवस्थी भन्छन्, ‘बिरामीलाई शतप्रतिशत कोरोनाको लक्षण थियो । कामको सिजनमा कोरोना लागेको थाहा पाएपछि परिवारका अरू सदस्यसँग पनि समुदायका मान्छेहरू तर्किएलान् भन्ने डरले जति सम्झाउँदा पनि परीक्षण गर्न मानेनन् । केही सीप नचलेपछि औषधि दिएर फर्किएँ । ’अहिले ती वृद्धको श्रीमती पनि कोरोनाको लक्षणसहितको बिरामी भएको तर परीक्षण गर्न परिवारले नमानेको उनले बताए ।
गत हप्ता थलारा गाउँपालिकाले लक्षण भएका सम्भावित संक्रमितको परीक्षण गर्ने र अन्य बिरामीको पनि उपचारसमेत गर्ने भनेर दंगाजीमा शिविर नै सञ्चालन गर्यो । शिविरमा एक सय जना जति उपस्थित भए । उपस्थित सबैको एन्टिजेन परीक्षण गर्न खोज्दा भागाभाग भयो । निकै जोडबल गरेपछि १८ जना परीक्षण गराउन तयार भए । उनिहरूको परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भयो । ‘एन्टिजेन परीक्षण गरौं भन्दा सबै भागाभाग गरे,’ थलारा गाउँपालिकाका ल्याब असिस्टेन्ट विशाल ओझाले भने, ‘हामीलाई कोरोना छैन किन परीक्षण गर्ने भनेर भाग्न थाले । जबर्जस्ती गर्न सकिएन ।’ घरघरमा गएर एन्टिजेन परीक्षण गर्न हिँडेको जयपृथ्वी नगरपालिका–४ को लुयाटा स्वास्थ्य चौकीको टोलीले पनि यस्तै समस्या भोग्नुपर्यो । ‘कुनै लक्षण चिह्न नभएकाहरूचाहिँ परीक्षण गराउन तयार भए,’ टोलीमा रहेका स्वास्थ्य चौकीका इन्चार्ज नरेन्द्र थापाले भने, ‘सम्भावित लक्षण भएकाहरू जति कोसिस गर्दा पनि परीक्षण गराउन मानेनन् । सम्भावित संक्रमित हुन् भनेर थाहा हुँदाहुँदै पनि हामी परीक्षण नगरी फर्कियौं ।’
थलारा, बित्थड चिर गाउँपालिका र जयपृथ्वी नगरपालिका मात्रै होइन । जिल्लाभरिका स्थानीयले कोरोनाको परीक्षण गर्न नमान्दा संक्रमण फैलिने खतरा बढी रहेको छ भने, धेरैजसो शंकास्पद संक्रमितहरू उपचार नै नगरी मर्न थालेको स्वास्थ्यकर्मीहरू बताउँछन् । कोरोना संक्रमणको परीक्षण र उपचार नगरी मानिसहरू धमाधम मर्न थालेपछि जिल्ला स्वास्थ्य कार्यालयले ५ हजार एन्टिजेन किट ल्याएर घरघरमा परीक्षण गर्ने व्यवस्था गरे पनि स्थानीयको असहयोगले यो अभियान सफल हुन सकेको छैन ।
‘कोरोनाको दोस्रो लहर फैलिए यता हामी कहाँ आएका ७ हजार एन्टीजेन किटमध्ये २ हजार ३५० वटा मात्र खर्च भएको छ । बाँकी त्यसै थन्किएर बसेका छन’ स्वास्थ्य कार्यालयका सूचना अधिकारी नारायण जोशी भन्छन्, ‘घरमै गएर परीक्षण गर्ने व्यवस्था मिलाउँदा पनि मानिसहरू चेक गर्न मान्दैनन् । हामीले जबर्जस्ती गर्न पनि मिल्दैन ।’ उनले स्थानीयले परीक्षण गर्न नमान्दा संक्रमण भित्रभित्रै फैलिरहेको बताए ।
स्वास्थ्य संस्थामा उपचार गर्न गए कोरोनाको परीक्षण हुने र अस्पतालमा बस्नुपर्ने डरले ३० भन्दा बढी शंकास्पद संक्रमितहरूले ज्यान गुमाइसकेको स्वास्थ्यकर्मीहरू नै बताउँछन् । ‘परीक्षण नगरेर ठोकुवा त गर्न मिल्दैन । तर ३० जनाभन्दा बढीले कोरोनाका कारण ज्यान गुमाएको हुन सक्ने हाम्रो अनुमान छ,’ स्वास्थ्य कार्यालय बझाङका प्रमुख भानुभक्त जोशीले भने, ‘कोरोना लागेपछि समाजमा हेला भइन्छ भन्ने डरले हो कि के हो रु घरमै गएर परीक्षण गर्न लाग्दा पनि मानिसहरू भाग्ने गरेका छन् ।’ उनले मध्य वैशाखयता जयपृथ्वी नगरपालिका, बुंगल नगरपालिका, छबिस पाथीभेरा, दुर्गाथली, खप्तड छान्ना गाउँपालिकामा मात्रै परीक्षण र उपचार नगरेका ३० भन्दा बढी शंकास्पद बिरामीको मृत्यु भएको जानकारी आएको बताए । ‘यी सबै लक्षण भएकाहरू हुन् । यसरी मर्नेको संख्या हाम्रो जानकारीमा आएको भन्दा पनि अझ बढी हुन सक्छ,’ जोशीले भने, ‘लापरबाही गर्दा एकातिर मानिसहरू दिनदिनै मरिरहेका छन् भने अर्कोतिर संक्रमण व्यापक रूपमा फैलिइरहेको छ
