अमरगढी समाचार
काठमाण्डौं,असोज, १४ गते । अधिकांश जेष्ठ नागरिक घरपरिवार र आफन्तबाटै दुव्र्यवहार भोग्ने गरेको पाइएको छ। विगत ८ वर्षको अवधिमा ३० हजारभन्दा बढी जेष्ठ नागरिकले दुव्र्यवहारको महशुस गरेको पाइएको छ। तीमध्ये अधिकांशले घरपरिवार र आफन्तबाटै दुव्र्यवहार भोगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
सरकारको नीति तथा कार्यक्रममा ज्येष्ठ नागरिकलगायत अन्य आम नागरिकका लागि स्थानीय तहका वडाहरूमा नागरिक आरोग्य केन्द्र स्थापना गर्ने र स्वास्थ्योपचारको सुविधासहित ज्येष्ठ नागरिक गृहहरू स्थापना गर्ने भनी उल्लेख भए बमोजिम जेरियाट्रिक केयर सेन्टर निर्देशिका र मापदण्ड तयार भइसकेको छ ।
जेष्ठ नागरिकको योगदानको कदर गरिएको र यसको निरन्तरताको लागि व्यवहारिक रूपमा व्यवस्थापन गरिँदा उनीहरुको आत्मसम्मान र योगदानको कदर हुने बताइएको छ ।
विद्युतीय प्रविधिको उपयोगबाट जेष्ठ नागरिकले स्वास्थ्यलगायत विभिन्न क्षेत्रमा सजिलै सेवा पाउन र उपभोग गर्न सहज पहुँचको आवश्यकता महशुस गरिएपनि त्यसो हुन सकेको छैन ।
स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘डिजिटल प्रविधिको विकासले दिगो विकासको लक्ष्य हासिल गर्न सघाउने छ भन्ने विश्वास लिइएको छ र यसका लागि डिजिटल प्रविधिको सबै वर्ग र समूहले उपभोग गर्न नपाएमा यसको विकासको कुनै अर्थ रहन्न र दिगो विकासको लक्ष्य पनि हासिल हुन सक्दैन । तसर्थ यस प्रविधिको विकासको पहुँच सबै जेष्ठ नागरिक वर्गलगायत सम्पूर्णको सहज पहुँचको लागि अनिवार्य आवश्यकता हो भन्ने अवधारणालाई नीति निर्माण तहदेखि व्यक्ति वा परिवारभित्रसम्म सूचीकृत गर्ने आजको यस दिवसको मूल नारा हो ।’
सन् १९९० डिसेम्बर १४ मा संयुक्त राष्ट्र संघको महासभाबाट अक्टोबर १ लाई अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको रूपमा मनाउने सहमति भए पश्चात हरेक बर्ष एक निश्चित नाराका साथ यो दिवस मनाइँदै आइएको छ ।
