लक्ष्मी ऐर
डडेल्धुरा,फागुन,२ गते । डडेल्धुरामा अचेत अवस्थामा भेटिएका एक युवकको मृत्यु भएको छ । डोटीको दीपायल सिलगढी नगरपालिका–३ का ३५ वर्षीय बसन्त सिजापतीको उपचारका क्रममा मृत्यु आज भएको हो ।
सोमबार बिहान उनी कुटपिट गरी अचेत पारिएको अवस्थामा आलिताल गाउँपालिका–४ लामजिलेमा फेला परेका थिए । घाइते अवस्थामा फेला परेका उनलाई उपचारका लागि जोगबुढा अस्पताल लगिएको थियो । त्यहाँ उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी राजेन्द्रबहादुर चन्दले मृतक सिजापतीको शरीरभरी चोटपटकका निशाना रहेको बताएको छ । कुटपिट गरी हत्या गरेको आशंकामा हामीले केहीलाई पक्राउ गरी अनुसन्धान गर्दैछौं प्रहरी निरिक्षक चन्दले बताउनुभयो ।
मृतक डोटीबाट किन त्यहाँ गएका थिए र उनीसँग के भएको थियो भन्नेबारे अनुसन्धान चलिरहेको बताईएको छ । अहिले मृतक बसन्त सिजापतीको शव जोगबुढा अस्तालमा राखिएको छ ।
