Amargadhi Post

अमरगढी किल्ला र खप्तडलाई चिनाउन डडेल्धुराबाट साईकल यात्रा सुरु

0 9

अमरगढी किल्ला र खप्तडलाई चिनाउन डडेल्धुराबाट साईकल यात्रा सुरु
लक्ष्मी ऐर
डडेल्धुरा,बैसाख,२१ गते । सुदूरपश्चिमको ऐतिहासिक पर्यटकीय स्थल डडेल्धुराको अमरगढी किल्लादेखि खप्तडको त्रिवेणी धामसम्म अन्तर्राष्ट्रिय स्तरको साईकल यात्रा डडेल्धुराबाट सुरु भएको छ ।
शुक्रबार बिहान अमरगढी नगरपालिका–५ मा रहेको ऐतिहासिक अमरगढी किल्लामा एक औपचारिक कार्यक्रमका बिच साईकल यात्राको उद्घाटन गरिएको हो ।
सुदूरपश्चिमको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गत रहेको प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाई कार्यालय धनगढी, कैलालीको प्रायोजन तथा सिके रिसर्च एण्ड ग्रिनरी प्रोमोसन प्रालिको आयोजनामा साईकल यात्रा सुरु गरिएको हो ।
अमरगढी नगरपालिकाका नगरप्रमुख डिल्लीराज जोशी, डडेल्धुराका प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपाने, प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाई धनगढीका निमित्त प्रमुख डबलबहादुर बोहरा लगायतले साईकल चडेर साईकल यात्राको सुभारम्भ गरेका हुन ।
अमरगढी किल्ला र खप्तडलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले साईकल यात्राको आयोजना गरिएको निमित्त प्रमुख बोहराले बताउनुभयो । अमरगढी किल्ला र खप्तड क्षेत्रको पर्यटन प्रवर्द्धन तथा प्रचार प्रसारका लागि साईकल यात्राको अभियान थालेको उहाँको भनाई थियो ।
‘अमरगढी र खप्तडको प्रचारप्रसारका साथै वातावरण प्रदूषण हुने सवारीसाधनलाई कम प्रयोग गर्नुपर्छ भन्ने उद्देश्यले पनि हामीले अन्तर्राष्ट्रिय स्तरको साईकल यात्राको आयोजना गरेका हौँ,’ निमित्त प्रमुख बोहराले भने, ‘साइकल यात्राले पर्यटन प्रवर्द्धनमा थप मद्धत पुग्ने अपेक्षका साथ सुरु गरेका हौं । साईकल यात्राको शुभारम्भ कार्यक्रममा अमरगढीका नगर प्रमुख जोशीले साइकल यात्राले अमरगढी किल्ला र खप्तडको प्रचारप्रसार हुने विश्वास व्यक्त गर्नुभयो । उनले ऐतिहासिक पर्यटकीय स्थल अमरगढीको प्रचारप्रसार गरी सहयोग गरिदिन सबै साईकलयात्रीहरूलाई आग्रह गरेका थिए ।


प्रमुख जिल्ला अधिकारी न्यौपानेले साईकल यात्रा स्वास्थ्यलाई फाईदाजनक भएको बताउनु भएको छ । वातावरण संरक्षण र पर्यटनलाई जोडेर थालिएको अमरगढी–खप्तड साईकल यात्रा कार्यक्रम सराहनीय कार्य भएको उनको भनाइ थियो । पर्यटकीय स्थलहरूको प्रचारप्रसार गर्नका लागि मिडियासँग समन्वय गरेर अघि बढ्नुपर्ने समेत उहाले बताउनुभयो । साईकल यात्रामा तीन भारतीय नागरिक सहित ३२ जना साईकल यात्रीको सहभागिता रहेको छ । जसमा तीनजना महिला साइकलयात्री पनि छन । शुक्रबारदेखि थालिएको अमरगढी–खप्तड साइकल यात्रा वैशाख २५ गते समापन हुनेछ ।
प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाई कार्यालयका योजना अधिकृत दानबहादुर थापाका अनुसार साईकल यात्राका लागि चालु आर्थिक वर्ष २०८०÷८१ मा १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको जनाएको छ ।

 

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।