अमरगढी पोष्ट समाचार
काठमाडौं । ‘हिंसा’ शब्द संसदको रेकर्डबाट नहटेसम्म नेकपा माओवादी केन्द्रले आगामी प्रतिनिधिसभाको बैठक पनि कायम नै राख्ने निर्णय गरेको छ ।
आज सिंहदरबारमा बसेको संसदीय दलको बैठकले नेकपा एमालेका सांसद योगेश भट्टराईले संसदमा बोल्ने क्रममा ‘हिंसा’ भन्ने शब्द माओवादीलाई अपमानित गरेर बोलेको ठहर गर्दै आगामी बैठकमा पनि अवरोध गर्ने निर्णय गरेको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘हिंसा’ शब्दलाई लक्षित नभई समग्र माओवादी आन्दोलनप्रति लक्षित रहेकाले संसद अवरोध सही भएको धारणा राखेका छन् । सभामुख देवराज घिमिरेले हिंसा शब्द असंसदीय नभएको भन्दै रेकर्डबाट हटाउन नपर्ने निर्णय सुनाएपश्चात माओवादीले त्यसको विरोध गरेको थियो ।
संसद्को बैठकमा एमाले सांसद योगेश भट्टराईले माओवादी जनयुद्धलाई हिंसाको टिप्पणी गरेपछि सभामुख घिमिरेले शब्दमा अध्ययन गरेर आवश्यक निर्णय गर्ने अधिकार सचिवालयलाई दिएका थिए । माओवादीले उठेर संसद अवरोध गरेपछि एमाले र माओवादी केन्द्रका सांसदहरूबीच भनाभन भएको छ । बैठकमा माओवादीले कार्यसूचीमा प्रवेश गर्न नदिएपछि बैठक स्थगित भएको थियो ।
माओवादीले आगामी दिनमा पनि उक्त निर्णय नसच्चिएसम्म संसद चलाउन नदिने र सशक्त ढंगले अगाडि बढ्ने निर्णय गरेको पाण्डेले बताए । गत भदौ १२ गते बसेको प्रतिनिधि सभा बैठकमा बोल्ने क्रममा नेकपा एमालेका सांसद योगेश भट्टराईले जनयुद्धलाई ‘हिंसा’ भनेर व्याख्या गरेका थिए ।
सो विषयमा माओवादी केन्द्रले आपत्ति जनाएपछि छानबिन गर्न सचिवालयलाई सभामुख देवराज घिमिरेले निर्देशन दिएका थिए । छानबिनपछि यसअघि गत भदौ २६ गते बसेको प्रतिनिधि सभा बैठकमा सभामुख घिमिरेले संसद्को रेकर्डबाट हटाउनु नपर्ने निर्णय सुनाएका थिए । प्रतिनिधिसभाको आगामी बैठक यही भदौ ३० गते आइतबार दिनको १ बजे बस्ने छ ।
