अमरगढी पोष्ट समाचार
डडेल्धुरा,माघ,२ गते । डिभिजन वन कार्यालय बाजुराका प्रमुख निमित्त डिभिजनल वन अधिकृत सुरेश चन्द्र डिसीको एक युवती सँग बसेको अर्धनग्न तस्बिर र घुस लिँदै गरेको जस्तो देखिने फोटो सामाजिक सञ्जालमा भाइरल बनेको छ । हालै डडेलधुराबाट बाजुरा गएका डिभिजनल वन अधिकृत डिसी अर्धनग्न अवस्थामा युवतीसँग बसेको तस्बिरमा प्रष्ट देखिन्छ । अर्को तस्बिरमा एउटाले घुस दिनका लागि पैसा दिँदै गरेको जस्तो देखिएको छ । फोटो पनि सामाजिक सञ्जालमा भाइरल भएको छ ।
डिसी निकै विवादित एवं भ्रष्ट छविका वन अधिकृत भनेर चिनिन्छन् । राजनैतिक शक्ति केन्द्रको आडमा भ्रष्टाचार गर्न माहिर विवादित छविका डिसीलाई यस अघि डोटीको लानाकेदारेश्वर सब डिभिजन वन कार्यालयका प्रमुख हुँदा काठको छुट पुर्जीको सिफारिस लगायत कागजी प्रक्रिया सहज गरिदिए बापत सेवाग्राहीसँग घुस लिँदै गर्दा अख्तियारले पक्राउ गरेको थियो ।

डिसीले त्यस बेला स्थानीय सेवाग्राहीसँग ५ लाख ६० हजार घुस मागेको आरोप लागेको थियो । अख्तियारले उनको साथबाट नगद ३ लाख २६ हजार रकम बरामद गरेको थियो । डिसीलाई अख्तियारले ३ लाख ६० हजार माग दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेपछि उनी लामो समय उनी निलम्बनमा परेका थिए । विशेष अदालतबाट सफाइ पाएपछि उनी अहिले फेरी शक्ति केन्द्रलाई रिझाएर विभिन्न मालदार कार्यालयको जिम्मेवारी पड्काइ रहेका छन् ।
प्रदेश सरकारका सबै निकायलाई रिझाउन खप्पिस उनलाई मन्त्री र उपल्लो तहका हाकिमहरूले मागेको ठाउँमा सरुवा मिलाइदिने गरेका छन् । अख्तियारबाट छुटकारा पाएपछि शक्ति केन्द्रलाई रिझाएर उनी सुरुमा डडेलधुराको सब डिभिजन कार्यालयमा प्रमुख भएर गएका थिए । डिसी आइएस्सी फोरेस्टी गरेका अधिकृत हुन् । त्यहाँ रहँदा एमएस्सी फरेस्टी गरेका नवौँ तहका वन अधिकृत शम्भु प्रसाद तिवारीलाई हटाएर डडेलधुरामा समेत निमित्त वन अधिकृत बन्न सफल भएका थिए ।डडेलधुरा र जोगबुढामा पनि ठुलै चलखेल गरेर हालै बाजुरा पुगेका डिसीले त्यहाँ पनि केही व्यक्तिसँग मिलेर असुली धन्दा मच्चाइ रहेको सेवाग्राहीको गुनासो छ ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव प्रमोद भट्टराईले हाल आफू प्रदेश भन्दा बाहिर भएका कारण यस विषयमा आफूलाई जानकारी नभएको र मन्त्रालयमा हाजिर भए लगत्तै बुझ्ने बताउनु भयो । सुदूरपश्चिम प्रदेश सरकारका प्रमुख सचिव डा। कमल प्रसाद पोखरेलले पनि यस विषयमा आफूले पनि मन्त्रालयसँग बुझ्ने बताउनुभयो ।


