Amargadhi Post

भोलिदेखि देशभर एकैसाथ एचपीभी खोप अभियान सञ्चालन गरिने

पाठेघरको मुखको क्यान्सरबाट नेपालमा दैनिक ४ जनाको मृत्यु हुने गरेको तथ्याङ्क

सरिता खनाल
काठमाडौँ,माघ,२१ गते । सरकारले भोलिदेखि देशैभर एकैसाथ पाठेघरको मुखको क्यान्सर विरुद्धको निशूल्क खोप अभियान सञ्चालन गर्दैछ ।
माघ २२ अर्थात् विश्व क्यान्सर दिवसको अवसर पारेर सरकारले विद्यालय लक्षित पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप अभियान सञ्चालन गर्न लागेको हो ।
अभियान अन्तर्गत सरकारले ६ देखि १० कक्षासम्म अध्ययनरत छात्राहरू र कुनै कारणबस विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई खोप लगाउने गरी तयारी पुरा गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
माघ २२ गतेदेखि फागुन ६ गतेसम्म सञ्चालन हुने खोप अभियानमा देशैभरका १६ लाख ८८ हजार ७ सय ६८ जना किशोरीहरूलाई खोप लगाउने तयारी सरकारको छ ।
त्यसका लागि करिब १७ लाख ५० हजार खोप खरिद गरेको र खोप सम्बन्धित विद्यालय तथा स्वास्थ्य संस्थामा पु¥याउने, स्वास्थ्यकर्मी र स्वयं सेवक खटाउने लगायतका काम पुरा भइसकेको मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।
हाल नेपालमा हरेक दिन ६ जना महिलामा पाठेघरको मुखको क्यान्सर लाग्ने गरेको र त्यसमध्ये ४ जनाको मृत्यु हुने गरेको तथ्याङ्क छ । पाठेघरको मुखको क्यान्सर निर्मूल पार्न र यसबाट बच्नका लागि सरकारले एचपीभी खोप अभियान सञ्चालनमा ल्याएको हो ।
एचपीभी खोपको कुनै पनि साइड इफेक्ट नहुने भएकाले लक्षित सबैलाई खोप अभियानमा सहभागी भई खोप लगाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा। बुढाथोकीका अनुसार विश्वमा गरिएका प्रयोगको विभिन्न अध्ययन, अनुसन्धानका आधारमा पनि यसको कुनै पनि प्रकारको साइड ईफेक्ट नभएको पाइएको छ ।
खोप लगाएको ठाउँमा रातो हुने, हल्का सुनिने र दुख्ने बाहेक खास ठूलो समस्या नआउने र यदि कुनै प्रकारको समस्या देखिएका त्यसको लागि स्वास्थ्यकर्मीको टोलीलाई पूर्वतयारीका साथ राखिएको पनि डा। बुढाथोकीले जानकारी दिनुभयो । त्यसैले निर्धक्क भएर खोप लगाउन सकिने उहाँ बताउनुहुन्छ ।
एचपीभी खोपको विकास सन् २००६ मा भएको र हालसम्मको अनुसन्धानका आधारमा यो खोप एक मात्रा लगाएपछि जीवनभरलाई पुग्ने देखिएको छ । हालसम्म यसको अध्ययन, अनुसन्धान त्यति लामो नभएको तर पहिलो मात्रा खोप लगाएको १२÷१५ वर्षसम्म पनि सुरुकै अवस्थामा जत्तिकै एन्टिबोडी देखिएकाले एकमात्रा नै जीवनभरका लागि हुने पनि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले बताउनुभयो ।
उहाँका अनुसार २५र३० वर्षपछि यसमा थप अध्ययन, अनुसन्धान भयो र समय क्रम अनुसार त्यसबेला एन्टिबोडी घटेको पाइयो भने फेरी अभियान सञ्चालन गर्न सकिने तर हाललाई भने यो एक मात्रा नै जीवनभरका लागि भन्ने विश्वासका साथ यो अभियान चलाइएको हो ।
पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउने मुख्य कारण ह्युमन पापिलोमा भाइरस सङ्क्रमण रहेकाले त्यसको विरुद्ध खोप लगाउन लागिएको हो ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।